चालिस करोड खर्चिएको बन्चरे डाँडामा फोहोर व्यवस्थापनको तयारी, ठेकेदारले माग्यो १० दिन
फोटोः आशिष ढुंगाना ।

Advertisement

काठमाडौं । नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडा ल्याण्डफिल साइटमा जेठ पहिलो सातादेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सुरु गरिने भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत बन्चरे डाँडामा उपत्यकाको फोहोर व्यस्थापन गर्ने काम अगाडि बढिरहेको छ ।

सरकारले पटक पटक समय पर सार्दै यो आयोजना अब भने पूरा गरेर फोहोर व्यवस्थापन गर्ने भएको छ । नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा उपत्यकाको फोहोर व्यवस्थाप गर्दै आएको भएपनि सो स्थान भरिदै गएकोले सो स्थानमा थप फोहोर फाल्न नमिल्ने अवस्थामा पुगिसकेको छ ।

Advertisement

महामारीको बेला अरु निर्माण क्षेत्रले गति लिन नसकेको भएपनि यो आयोजनाको पहिलो सेलको काम भने करिब पूरा हुने चरणमा रहेको सहरी विकास मन्त्रालय अन्तर्गतको बन्चरेडाँडा ल्याण्डफिल साइटका आयोजना प्रमुख कुमार घिमिरेले कर्पोरेट नेपालाई जानकारी दिए ।

उनका अनुसार कोभिड संक्रमण रोक्न गरिएको निषेधाज्ञाले केही काम प्रभावित भने भएको छ । आयोजनाले कामदारलाई पासको व्यवस्था गराएर काम गराइरहेको भएपनि आवश्यक जनशक्ति खटाउन र अपेच्छा अनुसार काममा लगाउन भने समस्या नै भइरहेको बुझाइ उनको छ । तैपनि तोकिएको समयमा काम पूरा गर्ने र जेठदेखि सिसडोलमा फोहोर व्यवस्थापन गर्न सकिने गरी तयारी भइरहेको घिमिरे बताउँछन् ।’

घिमिरेका अनुसार जेठको १ गतेबाटै फोहोर फाल्ने गरी योजना बनाएको र सोही अनुसार तयारी पनि भएको हो । २० वैशाखभित्र ठेकेदारले काम सक्ने र आवश्यक तयारी गरेर १ जेठबाट फोहोर व्यवस्थापन सुरु गर्ने योजना भएपनि कोभिड संक्रमण बढ्दै गएकोले ठेकेदारले थप १० दिनको समय मागेको छ । त्यसो हुँदा एक साता ढिलो गरेर जेठको पहिलोसातासम्ममा फोहोर फाल्न सुरु गरिने पनि घिमिरे बताउँछन् ।

घिमिरेका अनुसार फोहोरका लिचर पण्डको ढलान गर्ने काम भइरहेको छ । यो कामलाई सेल वान भनिएको छ । यो काम सकिएपछि थप काम हुँदै गर्दा फोहोर फाल्न भने सुरु हुने जानकारी उनको  छ । यो आयोजना पूरा गर्न भने अब ६ महिना लाग्ने भएको छ ।

बन्चरे डाँडा ल्याण्डफिल साइटको निर्माण गर्ने जिम्मा लुम्बीनी कोसी न्यौपानेले पाएको छ । यसले ४० करोड रुपियाँमा आयोजना निर्माणको काम गरिरहेको छ । बन्चरेडाँडामा फोहार फाल्न सुरु भएपनि एक सय वर्षलाई ढुक्क हुने बझुाइ सरकारी अधिकारीको छ ।

यो स्थानमा फालिने फोहोर स्किनिङ गरेर लगेको अवस्थामा फोहोर फाल्ने स्थानको आयु यो भन्दा पनि लामो बनाउन सकिन्छ । अहिलेजस्तो सबै फोहोर लगेर फाल्ने गरेमा पनि कम्तिमा ५० वर्षलाई भने पुग्ने स्थान तय भएको पनि सहरी विकास मन्त्रालयका अधिकारीले बताए ।  
 

Advertisement

Advertisement