शाखाहरू सकेसम्म कम खोल्नुहोलाः बीमा समिति, कम खोल्दा  झन भीड बढ्दैन् ? : कम्पनी

Advertisement

काठमाडौं । कोरोना भाइरसको जोखिम कम गर्न बीमा कम्पनीहरूले आलोपालो गरेर शाखा कार्यालयहरू खोल्नुपर्ने बीमा समितिले बताएको छ । तर बीमा कम्पनीहरूले भने शाखा कार्यालय कम खोल्दा झन भीड धेरै भएर कोभिड–१९ संक्रमणको जाखिम बढ्ने तर्क गरेका छन् । 

समितिले एउटै शाखाबाट सम्भव हुने कामका लागि धेरै  शाखा खोलिएको भन्दै कम्पनीहरूले आलोपालो गरेर शाखा सञ्चालन गर्नुपर्ने बताएको छ । समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेललका अनुसार अहिले अनावश्यक भीडभाड गर्ने बेला होइन । बीमाका नाममा कसैले पनि स्वास्थ्य माथि खेलबाड गर्न हुँदैन ।

Advertisement

उनले कर्पोरेट नेपालसँग भने, ‘अहिलेको परिस्थिति भनेको विषम पनि हो । यस्तो अवस्थामा पैसाको समस्या पनि जो केहीलाई पर्नसक्छ । त्यसका लागि बीमा कम्पनीहरू खोल्नै पर्ने हुन्छ । तर महामारीको समयमा कम्पनीका पनि धेरै वटा शाखाहरू खोल्नु त्यति जरुरी छैन् ।’

पौडेलले कोरोना महामारीको समयमा बाँच्नु सबैभन्दा ठूलो कुरा रहेको बताए । सरकारले बैक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवामा राखेको छ । अत्यावश्यक सेवामा राखेर कार्यालय खोल्न अनुमति दियो भन्दैमा धेरै शाखा खोल्न जरुरी नरहेको उनले बताए । 

बैंक वित्तीय संस्थाले पनि कुन शाखा कार्यालय कहिले खुल्ने ? भन्ने मोडलबाट काम चलाईरहेका छन् । सोही मोडलबाट बीमा कम्पनीहरूले पनि काम गर्नुपर्ने समितिको सुझाव छ । कोरोनाको जोखिम बढ्दै जाँदा कम्पनीहरूले आफ्ना नजिकका कार्यालयबाट बीमितलाई सेवा दिन तयार रहनुपर्ने समितिले बताउँदै आएको छ । 

समितिको कुरा व्यवहारिक छैन्ः कम्पनीहरू
बीमा कम्पनीहरू भने समितिको निर्णय त्यति धेरै व्यवहारिक नभएको तर्क गरेका छन् । थोरै शाखा खोल्दा खुलेका शाखामा मानिसको भीड लाग्ने र त्यसले संक्रमणको जोखिम बढ्नसक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू बताउँछन् । 

प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ मनोजकुमार भट्टराईका अनुसार शाखा कार्यालयले नै कोरोना फैलाएको भए कार्यालयमा रोक लगाउनु ठिक हो । तर एउटै कार्यालयमा भीड गर्ने कुरा पनि त्यति व्यवहारिक छैन् ।

उनी भन्छन्, ‘शाखा कार्यालयहरू त नागरिककै सहजताका लागि ल्याइएको हो । अहिले कोरोना महामारीको बेलामा त झन नजिककै पाँच पाईलामा रहेका कार्यालयहरूमा जान पाउँदा ग्राहकलाई राम्रो हुन्छ ।’

अहिलेको परिस्थितिमा टाढा रहेका शाखामा जान बीमितलाई एकातिर कोरोनाको जोखिम हुने र अर्कोतिर टाढाको कार्यालय पुग्नलाई पास चाहिने, पास भएर जाँदा पनि कोरोनाको जोखिम झन हुने भएकाले कम भीडभाडसहित सेवा दिनु नै उपयुक्त हुने भट्टराई बताउँछन् । 

शाखाहरूबाटै कोरोना सर्ने भए जोखिमका सबै केन्द्र बन्द गर्नुपर्ने उनको भनाई छ । भट्टराईले त्यस्तो अवस्थामा एउटा पनि कार्यालय नखोल्दा उचित हुने बताउँछन् । 

प्राईम लाइफको काठमाडौं उपत्यकामा सीमित शाखाहरू रहेकाले आफूहरूलाई खासै समस्या नरहेको भट्टराईले बताए । पछिल्लो तथ्यांकअनुसार मुलुकभर बीमा कम्पनीका शाखाहरू झण्डै तीन हजारको संख्यामा रहेको समितिको भनाई छ । जसमा जीवन बीमा कम्पनीहरूको शाखा एक हजार ९७७ र निर्जीवन बीमा कम्पनीहरूको शाखा ९४५ रहेको छ । 

पछिल्लो समयमा कोरोना सक्रमण बढ्नुका साथै मृत्युको संख्या पनि बढेको छ । मंगलबार मात्रै ५५ जनाको ज्यान गएको सरकारी तथ्यांक छ ।

Advertisement

Advertisement