अधिकांश होटलबाट डलरको अवैध कारोबार, ३५ सय होटलमध्ये अधिकांशले अनुमति लिएनन्

Advertisement

काठमाडौं । नेपालमा  दर्ता भएका र पर्यटकीय सेवामा रहेका होटल तथा व्यवसायिक संस्थाबाट अवैध विदेशी मुद्राको कारोबार हुने गरेको छ । नेपालमा दर्ता भएका होटल तथा पर्यटकीय सेवाका व्यवसायिक संस्थाले विदेशी मुद्राको कारोबार गर्ने, विदेशीकै सेवाका लागि भनेर व्यवसायिक संस्था खोल्ने तर विदेशी मुद्राको कारोबार अनुमति भने नलिएको पाइएको छ ।

होटल संघ नेपालमा मात्रै हालसम्म करिब ३५ सय होटल व्यवसायी आवद्ध छन् । यसमध्ये तारे र पर्यटक स्तरका होटल काठमाडौंमा दर्ता भएका मात्रै ३५० वटा रहेको होटल संघ नेपाल (हान)को तथ्यांकमा उल्लेख छ । पर्यटन विभागको तथ्यांमा पनि तारे होटल १४० वटा र पर्यटक स्तरका होटल ११५१ वटा पुगिसकेको छ । तर, यीमध्ये नेपाल राष्ट्र बैैंकबाट फागुन २०७७ सम्ममा विदेशी मुद्राको कारोबार गर्न अनुमति लिने होटलको संख्या भने २३० वटा मात्रै रहेको छ ।

Advertisement

राष्ट्र बैंकको तथ्यांक अनुसार २०७७ फागुन मसान्तसम्ममा यस बैंकबाट विदेशी मुद्राको कारोबार गर्न इजाजत प्राप्त संस्थाहरूको कुल संख्या ३४४८ पुगेको छ । यसमध्ये विदेशी मुद्राको कारोबार गर्न स्वीकृति लिएका फर्म/कम्पनीहरूको होटेल २३०, ट्रेकिङ १६२१, ट्राभल एजेन्सी ९६५ वटा रहेका छन् ।

पर्यटन मन्त्रालयको तथ्यांक अनुसार हालसम्म विभागमा दर्ता भएका पर्यटकस्तरेदेखि पाँचतारेसम्मका होटलको संख्या मात्रै १२९० वटा रहेको छ । यी मध्ये जम्मा २३० वटाले मात्रै विदेशी मुद्राको कारोबार गर्न अनुमति लिनु र बाँकीले नलिनु भनेको पर्यटन मन्त्रालमा दर्ता गरेपछि पुग्यो भन्ठान्ने र अवैध डलर करोबार गरिरहेको हुनसक्ने पर्यटन विभागका होटल शाखा अधिकृत खेमराज जोशी बताउँछन् ।

उनका अनुसार पर्यटन ऐन २०३५, पर्यटन सेवा प्रवाह निर्देशिका २०७० र होटल तथा रेस्टुरेन्ट सम्बन्धि नियमावलीले होटल दर्ता गर्ने र विदेशी मुद्रा कारोबारको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । पर्यटन विभागले आवश्यक प्रक्रिया पुगेको र तोकिएको मापदण्ड पालना गरेका होटललाई विदेशी मुद्रा कारोबार गर्न दिने सिफारिश नेपाल राष्ट्र बैंकले दिने गरेको छ । सोही सिफारिशका आधारमा राष्ट्र बैंकले हालसम्म २३० वटा होटललाई डलर कारोबारको अनुमति दिएको बुझाइ विभागका ती अधिकारीको छ । बाँकी होटलले किन डलर कारोबारको अनुमति लिएन भन्ने विषय अध्ययन अनुसन्धानकै विषय भएको र सरकारले आवश्यक अनुगमन गरेर कारवाही गर्नुपर्ने बुझाई पनि विभागका कर्मचारीको बताउँछन् ।

विभागमा दर्ता भएका ट्राभल एजेन्सी ३६८० पुगेका छन् भने ट्रेकिङ एजेन्सी २७६४ वटा पुगेको तथ्यांकमा देखिन्छ । तर, राष्ट्र बैंकबाट डलर कारोबारको अनुमति लिने ट्राभलको संख्या ९६५ वटा ट्रेकिङ १६२१ वटा मात्रै हुनुले बाँकीले पर्यटकलाई सेवा नदिने भन्ने होइन् । विभागका अनुसार केही  एजेन्सिले कारोबार नगरेको हुनसक्ने भएपनि अरुले अवैध डलरको कारोबार गरेको हुनसक्ने दाबी गरे । यो क्षेत्रले पनि विदेशी मुद्रा कारोबारको अनुमति नलिइ कारोबार भएको हुनसक्ने विभागको भनाइ छ ।

हानमा ३५ सय होटल आवद्ध, कारोबार अनुमति लिने २३० मात्रै

होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्य भने सबै होटलले डलरमा कारोबार नगरेको कारण र आवश्यक नभएर अनुमति नलिएको हुनसक्ने तर्क गर्छन् । शाक्य भन्छन्, ‘पर्यटकदेखि पाँचतारे डिलसक्ससम्मका ३५ सय होटल हानमा मात्रै आवद्ध छन् । भने अरु बाहिर रहेका होटलको संख्या त्यो भन्दा ठूलो छ । यसमध्ये ठूला र तारे होटल सबैले डलर कारोबारको अनुमति लिएका छन् ।’ साना तथा पर्यटक स्तरलाई भने आवश्यक नभएरै नलिएको बुझाइ शाक्यको छ ।

शाक्यका अनुसार नेपालमा रहेका होटललाई विभिन्न १६ वटा वर्गमा विभाजन गरिएको छ । पर्यटक होटल, पर्यटक स्तरदेखि पाँचतारे डिलसक्ससम्मका होटल, रिसोर्ट, बुटिक होटल छन् । यसमध्ये पर्यटक आउने र डलरमा कारोबार गर्नुपर्नेले अनुमति लिएका र नेपाली रुपियाँमा नै कारोबार गर्नेले अनुमति नलिएको हुनसक्ने बुझाइ पनि शाक्यको छ ।

शाक्यका अनुसार अहिले होटलमा हुने कारोबार अधिकांश एटीएम कार्डबाट, डिजिटल भुत्तानी तथा नगद नेपाली रुपियाँमा नै हुने भएकोले पनि डलर कारोबारको अनुमति सबैले नलिएको हुनसक्छ । डलरमा हिसाव गरेका होटलले पनि नेपाली रुपियाँमा नै कारोबार गरेको हुनसक्ने दाबी हानको छ ।

लाइसेन्स लिनेजति सबैको अनुमन गर्न सकिदैँन –राष्ट्र बैंक
विदेशी मुद्राको कारोबार गर्न इजाजतप्राप्त संस्थाहरूको संख्या गत फागुनसम्ममा नै तीन हजार ४४८ पुगेको छ । अहिलेसम्म यस्तो संख्या करिब चार हजारले पुगिसकेको छन् भने अनुमति लिने सबैको एकएक गरी अनुमगत गर्न नसकिने नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेलले बताए ।

उनका अनुसार डिमाण्ड साइट भन्दापछि सप्लाई कस्तो छ भनेर हेर्नुपर्छ । डलर कारोबार गर्ने अनुमति लिँदैमा सबैले कारोबार गर्छन भन्ने पनि हुँदैन त्यसले अनुमति नलिएका होटलले मनि चेन्जरमा गएर साटेर ल्याउने र नेपाली रुपियाँमा नै कारोबार गरेको हुनसक्ने बुझाइ पनि पौडेलले बताए ।

पौडेलका अनुसार व्यवासायिक संस्था संचालन गर्न दिने निकायले नवीकरण गर्दा पनि कडाइ गर्नुपर्छ । पर्यटन विभागले गर्ने सिफारिश अनुसार नै राष्ट्र बैंकले डलर कारोबारको अनुमति दिने गर्छ । पर्यटनको लाइसेन्स जति समयको हुन्छ हामीले दिने विदेशी मुद्रा कारोबारको समय पनि त्यति नै हुने बुझाइ पनि राष्ट्र बैंकको छ । कारोबार अनुमति लिएका संस्थाले पनि जति कारोबार हुन्छ त्यति नै विवरण भने दिनुपर्छ । 

Advertisement

Advertisement