अग्रिम बोनस ग्यारेन्टीको ‘प्राइम शुभ लाभ’ बीमा योजना स्वीकृत, शर्त गडबढ गर्न पाइन्नः सिलवाल

काठमाडौं । अग्रिम बोनस ग्यारेन्टीको ‘प्राइम शुभ लाभ’ बीमा योजना स्वीकृत भएको छ । उक्त प्रोडक्ट बोनस दरको आधारमा नभई नौलो प्रकृतिको प्रोडक्ट भएकाले स्वीकृती दिएको बीमा समितिले जनाएको छ ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल बोनसको अग्रिम ग्यारेन्टी गर्दैमा बीमा बजारमा नकारात्मक असर नपर्ने बताउँछन् । तर केही समययता समितिले बीमा कम्पनीहरूले बोनसको बजारीकरणमा भन्दा पनि बीमाको बाजारीकरणमा लाग्नुपर्नेमा जोड दिँदै आएको थियो ।

‘बीमाको बोनस त प्राविधिक विषय हो, यसले नकारात्मक असर पार्ने भए हामीले स्वीकृति नै दिने थिएनौ । अब अहिलेको बजारका आवश्यकता पनि हामीले हेर्नुपर्छ । नयाँ नयाँ प्रोडक्ट आएन भने त बीमा बजारीकरण राम्रोसँग हुँदैन । तर मुख्य कुरा भनेको नयाँ प्रोडक्ट आउँदा बीमितले पाउँने बोनसको ग्यारेन्टी हुनुपर्छ,’ अध्यक्ष सिलवालले कर्पोरेट नेपालसँग भने ।

उनले बीमा कम्पनीले दिन्छौं भनेर घोषणा गरेको बोनस दिनैपर्ने बताए । मुखले मात्रै भन्ने तर भनेको बोनस दिननसक्ने काम चाहीं बीमा कम्पनीले गर्नु हुँदैन भन्दै सिलवालले पोलिसिमा राखेका शर्तहरू कम्पनीले गडबढी गर्न नहुने बताए । पोलिसिमा लेखेको कुरा बीमितले पाउँछन् भन्ने शर्तमा मात्रै बीमा समितिले सो प्रोडक्टलाई स्वीकृति दिएको बताएको छ ।

प्राइम लाइफले नाफामा सरिक नहुने ‘नन टार प्रोडक्ट’ बीमा समितिबाट स्वीकृत गरेको हो । हालसम्म नाफा सरिक हुने प्रोडक्ट मात्र सञ्चालनमा थियो । सोही कारण विगतमा नाफामा बोनसको अंश पोलिसि होल्डरले पाउँदै आएका थिए । अब प्रोडक्टले नाफा भए नभएको आफैले सबै कुरा व्यवस्थापन गर्न मद्दत गर्छ । सोही कारण यसलाई ग्यारेन्टेड बोनस भनिएको कम्पनीको भनाई छ । 
यसमा दुई किसिमको भुक्तानी प्रक्रिया रहेको छ । एउटा (एकल भुक्तानी) सिङ्गल प्रिमियम हो जसमा सिङ्गल प्रिमियममा एकै पटक सबै बीमाशुल्क तिर्न मिल्ने व्यवस्था छ । अर्को भनेको जति वर्षको बीमा गरेको छ, त्यति अवधिको तिर्न मिल्छ । नियमित वा एकल दुवै तरिकाले बीमाशुल्क बुझाउन मिल्छ । सो बीमा व्यक्तिगत बीमामा पर्छ । प्राइम लाइफ इन्स्योरेन्सले दिएको जानकारी अनुसार सो बीमाको बीमाशुल्कका लागि तालिका बनाईएको छ । सोही तालिकामा बीमाशुल्क निर्भर हुन्छ । बीमाशुल्क बीमितको उमेर तथा बीमा गरेको अवधिमा निर्भर हुन्छ । बीमा गर्नका लागि न्यूनतम उमेर १८ वर्ष तोकिएको छ । अधिकतम् भनेको ५५ वर्ष उमेरसम्म तोकिएको छ ।

अवधि
सो बीमा योजना अनुसार एउटा १२ र १५ वर्षको अवधिको लागि यो बीमा गर्न मिल्छ ।

प्रतिफल
नियमितरूपमा बीमाशुल्क बुझाउने र एकै पटक बीमाशुल्क बुझाउने बीमितका लागि दुई किसिमको प्रतिफल दिने व्यवस्था छ । त्यस्तै, १२ वर्षे अवधि र १५ वर्षे अवधिका लागि बीमा गर्ने बीमितले प्रतिफल पाउने प्राईम लाइफ इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ । नियमित बीमाशुल्क बुझाउँदा बीमितले प्रतिहजार ६० रुपियाँ बोनस पाउँछन् । सो बोनस ग्यारेन्टेड बोनस पनि हो । 

सिङ्गल प्रिमियममा भने बीमितले प्रतिहजार ४० रुपियाँ ग्यारेन्टेड बोनस पाउने प्राइम लाइफले जानकारी दिएको छ । यस कम्पनीका सीईओ मनोजकुमार भट्टराईका अनुसार बीमामा ग्यारेन्टी पाउँदा बीमाप्रति बीमितको आकर्षण बढ्दै जान्छ । प्रतिहजार ४० र ६० रुपियाँ बोनस भनेको कम्पनीको ग्यारेन्टेड बोनस हो । प्राइम शुभ–लाभ एकल तथा निश्चित अवधि भुक्तानी, सावधिक जीवन बीमाअन्तर्गत पर्छ ।  ‘हामीले बोनसको ग्यारेन्टी गरेका छौं । अब बीमितले एकातिर भुक्तानीमा ढुक्क हुने अवस्था हुन्छ भने अर्कोतिर सरेन्डरलाई पनि कम गरौ भनेर हामीले सरेन्डर गर्नेलाई थप बोनस दिँदैनौं’, सीईओ भट्टराईले कर्पोरेट नेपालसँग भने । उनले सो प्रोडक्ट दुई महिनाभित्र बजारमा आउने जानकारी दिए ।

एक दुई वर्षका लागि मात्रै जीवन बीमा गर्ने तथा बीमाबाटै बाहिरिने परिपाटी अब हटाउनुपर्ने उनको भनाई छ । ‘हामीले प्रोडक्ट बीमा समितिमा महिना दिनअघि पठाएका थियौं । समितिले प्रोडक्ट स्वीकृत गरेको चिट्ठी मैले हात पारिसकेको अवस्था छ’, भट्टराईले भने ।

जीवन बीमा कम्पनीहरूले बीमा समितिबाट पास भएका प्रोडक्टहरू दुई महिनाभित्र सार्वजनिक गर्नुपर्छ । सोहीअनुसार प्राइम लाइफले तोकिएको समयभित्र प्रोडक्ट सार्वजनिक गर्ने बताएको छ ।