निर्जीवन बीमा कम्पनी विश्लेषणः ११ कम्पनीमा कुनको वित्तीय अवस्था कस्तो ?

Advertisement

काठमाडौं । नेप्सेमा सुचीकृत कम्पनीहरूले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा निर्जीवज बीमा कम्पनीतर्फ अहिलेसम्म ११ वटाले चालु आर्थिक बर्षको पहिलो नौ महिनाको विवरण सार्वजनिक गरिरहेका छन् । बाँकी नौ वटाले अझै विवरण सार्वजनिक गरेका छैनन् । 

वित्तीय विवरण सार्वजनिक गर्ने ११ कम्पनीमध्ये एकबाहेक बाँकीको वित्तीय अवस्था सुधार देखिएको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १० कम्पनीको नाफा बढेको छ भने एउटाको घटेको छ । कोरोना महाकारीको प्रतिकुलतामा पनि धेरै कम्पनीले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याउन सफल भएका छन् । 

Advertisement

गत वर्षको तुलनामा यस वर्ष हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको खुद नाफामा गिरावट आएको छ । यस कम्पनीले समीक्षा अवधिसम्म नौ करोड १० लाख ३४ हजार रुपियाँ नाफा आर्जन गरेको छ । यो  नाफा गत वर्षको यसै अवधिको भन्दा १९ दशमलव १३ प्रतिशत कम हो । कम्पनीले गत वर्षको यसै अवधिमा ११ करोड २५ लाख ७४ हजार रुपियाँ नाफा गरेको थियो ।

सबैभन्दा अगाडि युनाइटेड र जनरल इन्स्योरेन्स
चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म सबैभन्दा धेरै नाफा आर्जन गर्न सफल निर्जीवन बीमा कम्पनीमा युनाइटेड इन्स्योरेन्स रहेको छ । यस कम्पनीले ३३५ दशमलव ५३ प्रतिशतले नाफा बढाएर पाँच करोड २७ लाख रुपियाँ पुर्याउन सफल भएको छ । गत बर्ष यसै अवधिसम्म युनाइटेडले एक करोड २१ लाख रुपियाँ मात्रै नाफा गरेको थियो । 

यस्तै खुद नाफा धेरै बढाउन सफल दोस्रो कम्पनीमा जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले १०७ दशमलव ४८ प्रतिशतले नाफा बढाएर छ करोड ३६ लाख ८७ हजार रुपियाँ पुर्याउन सफल भएको छ । अघिल्लो वर्ष यसै अवधिमा जनरल इन्स्योरेन्सले तीन करोड छ लाख ९५ हजार रुपियाँ खुद नाफा गरेको थियो । 

सानिमा
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सानिमा जनरल इन्स्योरेन्सले पाँच करोड ८१ लाख रुपियाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिभन्दा एक सय दशमलव ९५ प्रतिशतले धेरै हो । गत वर्ष यसले दुई करोड ८९ लाख रुपियाँ नाफा कमाएको थियो ।

अजोड
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अइपुग्दा अजोड इन्स्योरेन्सले छ करोड ११ लाख ६ हजार रुपियाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिभन्दा ७३ दशमलव ८६ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष अजोडले तीन करोड ५१ लाख ४५ हजार रुपियाँ खुद नाफा कमाएको थियो । 

आईएमई जनरल 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आइएमई जनरल इन्स्योरेन्सले १८ करोड ८५ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिभन्दा ७५ दशमलव ६२ प्रतिशतले बढि हो । अघिल्लो वर्षको यसैअवधिमा आईएमई जनरलले १० करोड ७३ लाख रुपियाँ नाफा कमाएको थियो ।

नेको
नेको इन्स्योरेन्सले समीक्षा अवधिसम्ममा ४५ दशमलव ५७ प्रतिशतले नाफा बढाएर ३५ करोड नौ लाख २२ हजार रुपियाँ पुर्याउन सफल भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २४ करोड १० लाख ६३ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।

नेपाल इन्स्योरेन्स
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मुलुककै जेठो नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफा २६ दशमलव ८७ प्रतिशतले बढाएर १७ करोड एक लाख २२ हजार रुपियाँ पुर्याएको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले १३ करोड ४० लाख ८४ हजार रुपियाँ खुद नाफा आर्जन गरेको थियो । 

प्रिमियर
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा प्रिमियर इन्स्योरेन्सले २८ करोड ९६ लाख २० हजार रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिभन्दा ५२ दशमलव ०६ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा प्रिमियरले १९ करोड ४ लाख ५४ हजार रुपियाँ नाफा आर्जन गरेको थियो । 

प्रुडेन्सियल
प्रुडेन्सियल इन्स्योरेन्सले गत वर्षको तुलनामा यस बर्ष पहिलो नौ महिनामा ४० दशमलव ५० प्रतिशतले खुद नाफा बढाएर १२ करोड ७३ लाख ११ हजार रुपियाँ पुर्याउन सफल भएको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीले नौ करोड छ लाख १३ हजार रुपियाँ मात्र नाफा आर्जन गरेको थियो । 

सगरमाथा
सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २८ करोड ५४ लाख ६१ हजार रुपियाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६३ दशमलव ९१ प्रतिशतले खुद नाफा वृद्धि गर्न सफल भएको हो ।  गत वर्ष कम्पनीले १७ करोड ४१ लाख ३० हजार रुपियाँ नाफा गरेको थियो ।

 

Advertisement

Advertisement