ह्वासिन सिमेन्ट र खानी उद्योग महासंघले धादिङ अस्पताललाई दिए ४७ वटा अक्सिजन सिलिण्डर

Advertisement

धादिङ । ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन  सिलिण्डर उपलब्ध गराएको छ । फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए । 

धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा गम्भीर किसिमका कोरोना सङ्क्रमित व्यक्ति बढेसँगै उपचारमा सहजताका लागि महासङ्घले अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । अक्सिजन नियमित लगाउनुपर्ने बिरामी बढेको अवस्थामा यसले सहयोग पु¥याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । 

Advertisement

व्यवसायीहरूबाट अक्सिजन भरेर अस्पताललाई उपलब्ध गराएको  महासङ्घका महासचिव रेग्मीले बताए । हरेक दिन कोरोना सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले सामाजिक दायित्वअन्तर्गत बजारमा सिलिण्डरसमेत नपाइने अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो । व्यवसायीहरुसँग उठाएर ल्याइएको सिलिण्डर रिफिल र ढुवानी खर्च निर्माण व्यवसायी नारायणकुमार श्रेष्ठले बेहोरेका हुन् । 

जिल्ला प्रसाशनको अनुरोधमा ह्वासिन सिमेन्ट उद्योगले १५ वटा अक्सिजन सिलिण्डर अस्थायी कोभिड अस्पताललाई उपलब्ध गराएको छ । सिमेन्ट उद्योगले निःशुल्क उपलब्ध गराएको थियो । यससँगै धादिङमा हाल १३० अक्सिजन सिलिण्डर रहेको छ । हरेक दिन २५ देखि ३० अक्सिजन सिलिण्डर बिरामीलाई प्रयोग गरिरहेको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले बताए ।  

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग
यसैबीच, नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो । 

विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नापतौल विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको जानकारी दिए ।  

उनले कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर सङ्क्रमित बिरामीको उपचारमा सहयोग गर्न आग्रह समेत गरे । ।
 

Advertisement

Advertisement