घ्यू–तेलमा २१ प्रतिशतसम्मको मूल्यबृद्धि

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको चैतसम्मा सबैभन्दा बढी मूल्यबृद्धि घ्यू तेलमा भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको नौ महिनामा सबैभन्दा बढी मूल्यबृद्धि खाद्य पदार्थ अन्तर्गत घ्यू तेलमा भएको छ । घ्यू तेलमा २०७६ चैतको तुलनामा २०७७ चैतमा घ्यू तथा तेलमा २१.३८ प्रतिशतले मूल्य बृद्धि भएको छ ।

यो अवधिमा मासु तथा माछामा १२.६१ प्रतिशत, सुर्तिजन्य पदार्थमा १०.४१ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि १०.१८ प्रतिशत रहेको छ । २०७७ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो । फागुनको तुलनामा चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको छ ।

Advertisement

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ चैतमा यी क्षेत्रहरुमा क्रमशः ७.१९ प्रतिशत, ७.०४ प्रतिशत, ५.८४ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको तथ्यांकमा उल्लेख छ ।

२०७७ चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४२ प्रतिशत, ५.८४ प्रतिशत र ३.७० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ५.९६ प्रतिशत रहेको छ।

२०७७ चैतमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.४३ प्रतिशतले बढेको पनि तथ्यांकले देखाएको छ ।
 

Advertisement

Advertisement