३६ खर्बको विद्युतीय भुक्तानी, वालेटमा ११ र क्यूआर पेमा पौने तीन अर्बको कारोबार

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न थालेपछि डिजिटल तथा विद्युतीय कारोबार बढ्न थालेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको चैतमहिनामा मात्रै ३६ खर्ब ८६ अर्ब रुपियाँको विद्युतीय कारोबार भएको छ । यस्तो कारोबार अघिल्लो महिना फागुनको तुलनामा ७ खर्ब ६५ अर्ब रुपियाँ अर्थात २६.२१ प्रतिशतले बढेको छ । अघिल्लो महिनामा जम्मा २९ खर्ब २० अर्ब रुपियाँले विद्युतीय कारोबार भएको थियो । यस्तो कारोबार सबैभन्दा ठूलो हिस्सा सबैभन्दा बढी आरटीजीएसको हुने गरेको छ ।

चैत महिनामा एटीएममार्फत भएको कारोबार ७० अर्ब रुपियाँ छ । यस्तो कारोबार अघिल्लो महिना फागुनमा ६० अर्ब रुपियाँमात्रै भएको पनि राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  तथ्यांक अनुसार मोबाइल बैकिङमार्फत हुने कारोबार ४८ अर्ब ६५ करोड पुगेको छ ।

Advertisement

यस्तो कारोबार अघिल्लो महिना फागुनमा ४० अर्ब ३५ करोड रुपियाँ मात्रै रहेको थियो । चैतसम्ममा मोबाइल बैकिङको पहुँचमा एक करोड १० लाख ४७ हजार प्रयोगकर्ता पुगेका छन् । मोबाइल बैंकिङका प्रयोगकर्ता एक महिनामा नै करिब १० लाखले बढेका छन् । मोवाइल बैंकिङका कुल प्रयोगकर्ताबाट भएको यस्तो कारोबार एक महिनामा नै ३८ अर्ब पुगेको पनि तथ्यांकले देखाएको छ ।
पछिल्लो समय राष्ट्र बैंकले नै प्रवद्र्धन गरिरहेको मोवाइलबाट हुने क्यूआर कोडमार्फतको कारोबार दुई अर्ब ७२ करोड पुगेको छ । यस्तो कारोबार अघिल्लो महिनासम्ममा दुई अर्ब ५ करोड हुने गरेको पनि तथ्यांकमा उल्लेख छ ।

यस्तै बेंक तथा वित्तीय संस्थाले वालेटबाट हुने कारोबारलाई सहजीकरण गरेका र वालेटको प्रवद्र्धन भइरहेकोले चैतसम्मा विभिन सेवाप्रदायको दिएको मोवाइल  वालेटमार्फत दिएको सेवाबाट ११ अर्ब दुई करोड रुपियाँ पुगेको छ । यस्तो कारोबार अघिल्लो महिनासम्मा १० अर्ब १८ करोडमा मात्रै सिमित थियो ।

अनलाइनमार्फत हुने डिजिटल कारोबारसँगै पछिल्लो समय विभिन्न सेवाप्रदायबाट दिएको अनलाइन सपिङको कारोबार पनि बढ्दै गएको छ । यस्तो अनलाइन सपिङमा हुने कारोबार अर्थात ई-कमर्शको अनलाइन भुक्तानी एक अर्ब पाँच करोड पुगेको छ । यस्तो कारोबार अघिल्लो महिना ९० करोड रुपियाँको मात्रै थियो । ई–कमर्शमा हुने कारोबार अनलाईन कार्डबाट भएको पनि उल्लेख छ।

Advertisement

Advertisement