बैंकिङ क्षेत्रका दुई ‘जायन्ट’को एकताको कथाः कसरी सुरुवात भयो मर्जर प्रक्रिया ?

Advertisement

काठमाडौं । बैंक वित्तीय संस्थाको संख्या अत्यधिक धेरै भयो भन्ने बहस चलिरहेको बेला बैंकिङ क्षेत्रमा लामो समयदेखि अस्तित्वमा रहेका दुई ठूला बैंकहरूबीच बिहीबार मर्जर भएको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जरले अरु बैंक बैंकहरूलाई पनि मर्जरमा जान थप दबाब र प्रेरणा सिर्जना गरेको छ । 

नेपालको बैंकिङ क्षेत्रका दुई ‘जायन्ट’ हिमालय र इन्भेष्टमेन्टबीचको रोचक पनि छ । पाण्डे समूहको प्रभावमा रहेको इन्भेष्टमेन्ट र राणाहरूको प्रभावमा रहेको हिमालयनबीचको एकताका कुरा सुरुका दिनमा अपत्यारिलो लाग्थ्यो । तर दुवै समूहले यस कुरालाई सफल बनाउन सफल भएका छन् । 

Advertisement

बैंकिङ क्षेत्रमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा, घट्दो प्रतिफलका कारण पनि बैंक वित्तीय संस्थाहरूलाई मर्जरमा जान दबाब बढ्दै गएको छ । सोही कारण बैंकिङ क्षेत्रमा आफ्नो एक खालको प्रभुत्व र प्रभाव कायम राख्दै आएको हिमालय र इन्भेष्टमेन्टलाई आफ्नो साख कायम राख्न पछिल्ला दिनमा धौधौ हुँदै गएको थियो । आफूभन्दा पछि आएका बैंकहरूको आक्रामक विस्तार उनीहरूका लागि ठूलो चुनौति बन्दै आएको थियो । 

कसरी बन्यो हिमालयन–इन्भेष्टमेन्ट मर्जर बाताबरण ?
बैंक वित्तीय संस्था धेरै भएको निष्कर्षका आधारमा नेपाल राष्ट्र बैंकका तत्कालिन गर्भनर चिरञ्जीवी नेपालले जतिबेला ठूला बैंकहरूबीच बिग मर्जर गराउन प्रोत्साहनसहितको दबाबमूलक नीति ल्याए त्योभन्दा डेढ वर्षअघि नै इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जरमा जाने सोच बनाइसकेका थिए । 

तर यो सोचले आकार नलिँदासम्म दुवै पक्षले योजना बाहिर सार्वजनिक गरेनन् । यो सोचको पहिलो परिकल्पनाकार पृथ्वीबहादुर पाण्डे हुन जसले लामो समयदेखि इन्भेष्टमेन्ट बैंकलाई नेतृत्व गर्दै आएका छन् । हिमालयनसँग मर्जरमा जाँदा बैंकिङ क्षेत्रमा सकारात्मक सन्देश जानुका साथै आफ्नो व्यवसायिक दायरा बढाउन पनि सहज हुने निचोडसहित उनले आफ्नो बैंक र हिमालयन बैंकका सञ्चालक तथा बैंकसँग निकटहरूसँग चर्चा गर्न थाले । 

‘विभिन्न पक्षबाट विश्लेषण गर्दा हिमालयनसँग मर्जरमा जानु उपयुक्त हुने देखेर मैले नै प्रस्ताव गरेको थिए । पछि त्यो प्रस्ताव विस्तारै अगाडि बढ्दै गयो । अहिले साकार भएको हो’, पाण्डेले कर्पोरेट नेपालसँग भने, ‘दुवै तर्फको बोर्ड र सञ्चालकहरूसँग ठोसरुपमा मर्जर प्रक्रिया अघि बढेको त छ महिना अगाडि मात्रै हो ।’ इन्भेष्टमेन्टतर्फबाट मर्जरको लागि पहिले कुरा आए पनि निर्णय गर्ने कुरामा भने हिमालयन अगाडि रह्यो ।

पाण्डेले भने, ‘हिमालयनले बोर्डबाट निर्णय गरेर आएपछि हामीले पनि निर्णय गरेर अगाडि बढेको हौ ।’ आज दुवै बैंकका अध्यक्षले मर्जरसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । दुवै बैंक एक भएसँगै पुँजीका हिसाबमा हिमालयन नेपाल इन्भेष्टमेन्ट बैंक सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ । 

हिमालयन बैंकका सीईओ अशोक राणा सुरुका दिनमा मर्जरमा जाने कुरा चुनौतिपूर्ण लाग्ने गरेको अनुभव सुनाउँछन् ।  त्यस क्रममा आफ्नो बोर्ड र दुवै पक्षबीच निकै पटक छलफल गर्नुपरेको बताउँदै उनले राष्ट्र बैंकले मर्जर जान प्रोत्साहन गरेका र आफूहरूले आन्तरिक रूपमा गरेको राम्रो तयारीले आज सम्झौता गनै सहज भएको बताए । पछिका दिनमा कुनै पनि समस्या उत्पन्न नहोस भन्ने कुरालाई दृष्टिगत गरेर नै आवश्यक तयारसहित मर्जरको निर्णयमा पुगेको राणाको भनाई छ । 

‘मर्जरमा जाने पहिलो प्रस्ताव इन्भेष्टमेन्टबाटै आएको हो । तर कहिले र कुन प्रशंगमा भन्ने चाहीं अहिले ठ्याक्कै याद भएन् । प्रस्ताव उतैबाट आएको सही हो ।’ पुँजी, संचित कोषसमेतका आधारमा ५० अर्ब रुपियाँको बैंक खडा गर्न सफल भएका पाण्डे र राणा समूह अहिले खुशी देखिन्छ । बढ्दो प्रतिस्पर्धासँगै राणा समूहलाई हिमालयनको प्रभाव घट्न नदिन जतिसक्दो चाँडो मर्जरमा जान पाए हुन्थ्यो भन्ने थियो भने पाण्डे समूहलाई पनि आफ्नो प्रभाव कायम राख्नेगरी इन्भेष्टमेन्टलाई ठूलो बनाउन पाए हुन्थ्यो भन्ने इच्छा रहेको थियो । 

आजको मर्जरले राणा समूहलाई सेफ ल्याण्डिङ गर्न र पाण्डे समूहले आफ्नो प्रभावको ठूलो बैंक बनाउने इच्छा पूरा भएको छ । यसले राष्ट्र बैंकको नीति सफल बनाउन पनि सहयोग पुग्दै गएको छ । ठूला बैंक मर्जर भएर १० वटामा कायम राख्दा ठिक हुने पाण्डेको विश्लेषण रहेको छ । उनी बाणिज्य बैंकको एउटै ठाउँमा २० वटा शाखा हुनुभन्दा एउटै हुनु राम्रो हुने बताउँछन् । 

कसरी जुट्यो सहमति ?
दुबै बैंकले मर्जरमा जाने भनेपनि मर्जरपछि बन्ने बैंकमा अध्यक्ष र सीईओ को हुने ? भन्ने विषय टुंगो नलाग्दा प्रक्रिया लामो भइरहको थियो । मर्जरमा जाने सम्झौतासँगै मर्जरपछिको पहिलो कार्यकालको अध्यक्ष इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाण्डे हुने तय भएको छ । हिमालयन बैंकका राणा पहिलो कार्यकालको सीईओ हुने र इन्भेष्टमेन्टका सीईओ ज्योतिप्रकाश पाण्डे डेपुटी सीईओ हुने सम्झौता भएको छ ।

कर्मचारीको व्यवस्थापनको काम मर्जर कमिटिले मिलाउने छ भने मर्जर प्रक्रियादेखि एकीकृत कारोबारसम्मको खर्च दुबै पक्षबाट आधा आधा व्यहोर्ने सहमति भएको छ । मर्जरपछि दुबै बैंकको स्वाप अनुपात एक बराबर एक नै हुने गरी सहमति भएको छ ।

अध्यक्ष, डीसीओ र सीईओपछिको विषयमा सहमति अहिले नै भएको छ । बाँकी सञ्चालक समितिले शेयर संरचनाका हिसावले गर्ने तय भएको छ । हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको २० प्रतिशत शेयर मर्जर प्रक्रिया चलिरहेको अवस्थामा पनि बिक्री गर्न पाइने छ ।

मर्जरपछि बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपियाँ पुग्नेछ जुन अहिलेका वाणिज्य बैंकमा सबैभन्दा बढि हो । चैत २०७७ चैत अर्थात चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार इन्भेष्टमेन्ट बैंकको निक्षेप एक खर्ब ६५ अर्ब  छ भने हिमालयनको एक खर्ब ३२ अर्ब रुपियाँ छ। कुल ऋण इन्भेष्टमेन्टको एक खर्ब ६० अर्ब र हिमालयनको एक खर्ब २७ अर्ब रुपियाँ छ । मर्जरपछि बैंकको निक्षेप तीन खर्ब ११ अर्ब रुपियाँ पुग्नेछ भने कर्जा दुई खर्ब ८७ अर्ब रुपियाँ पुग्नेछ । शाखा संख्या १५२ हुने पनि उल्लेख छ ।

कर्मचारी व्यवस्थापन
हिमालय र इन्भेष्टमेन्ट बैंकका गरी कुल दुई हजार सात सय जना कर्मचारी भएको अनुमान गरिएको छ । हिमालयन बैंकमा आठ सय जना स्थायी कर्मचारी छन् भने अरु चार सय जना आउटसोर्सबाट आएका करारका कर्मचारी छन् । इन्भेष्टमेन्टमा भने करिब एक हजार पाँच सय जना रहेको उल्लेख छ ।

दुबै बैंकका कर्मचारी व्यस्थापनमा कुनै असहज अवस्था सिर्जना नगर्ने र एक जना पनि कर्मचारीलाई निकाल्न दबाब नदिने इन्भेष्टमेन्टका पाण्डे बताउँछन् । उनी भन्छन्, ‘अब संस्थाको संचालन संरचना बनाउँछौं । त्यसपछि कति कर्मचारी चाहिने हो ? र कतिलाई राख्ने हो ? भन्ने पनि तय हुन्छ । बाँकी कर्मचारीलाई कति हुन्छन् ? तय गछौं । त्यसपछि विदा गर्नै परे गोल्डेन ह्याण्डसेकबाट मात्रै पठाउने उनको भनाई छ । राणा पनि माथिल्लो तहका कर्मचारी व्यवस्थापनमा समस्या नहुने गरी काम गर्ने बताउँछन् । उनी भन्छन्, ‘यो विषय अर्गनाइजेशन स्टक्चर तयार पार्दै जाँदा तय हुँदै जान्छ ।’

दुई बैंक एक हुने सम्झौता गरेपछि भोलि शुक्रबारदेखि यसको शेयर कारोबार रोकिन्छ । दुबै बैंक एक भएर एकीकृत कारोबार नभएसम्म शेयर कारोबार रोकिने भएकोले अबको समय भनेको दुबै बैंकले संञ्चालन र एकीकृत कारोबार गर्ने समयसहितको आन्तरिक तयारी नै भएको पनि अध्यक्ष पाण्डेले जानकारी दिए ।

Advertisement

Advertisement