महन्थको अडानले देउवा जिल्लिए, ओली ९ बजेको प्रतिक्षामा

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टीका नेताद्धय महन्थ ठाकुर र राजेन्द्र महतोको अडानका कारण केपी ओलीलाई फेरि प्रधानमन्त्रीको चिट्टा पर्ने करिव निश्चित भएको छ । कुनै नाटकीय परिवर्तन नभएमा संभवतः आजै ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनेछन् । 

परिस्थिति आफ्नो अनुकुल नहुने भएपछि नेपाली काँग्रेस र माओवादी केन्द्रले पनि वैकल्पिक सरकारको दाबी नगर्ने निचोडमा पुगेका छन्् । कसै गरे पनि ओलीविरोधी गठबन्धनले संसदमा बहुमत पुर्याउन सक्ने अवस्था नदेखेपछि पछि हट्ने संकेत गरेको छ । 

Advertisement

बहुमतको सरकारका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समय आज राति ९ बजेबाट सकिँदै छ । तीन दिनको प्रयासमा पनि ओलीमुक्त सरकार बनाउने काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहको प्रयास सफल नभएपछि ओलीले नै निरन्तरता पाउने करिव निश्चित भएको हो 
। 

ओलीले विपक्षीहरूको रणनीति विफल बनाउन पार्टीभित्रका विपक्षी माधव नेपालसहितका चार नेतामाथि गरिएको निलम्बन फुकुवा गर्नुका साथै माधव नेपालसँग भेटवार्ता गरेर केही लचकताका साथ अघि बढ्ने प्रतिवद्धता गरेपछि सामुहिक राजीनामाको तयारबाट माधव समूह पछि हटेको थियो । 

पाँचौं पटक प्रधानमन्त्री हुने दाउमा रहेका काँग्रेस सभापति अन्ततः जिल्लिएका छन् । जसपाको महन्थ ठाकुर समूहले तटस्थ बस्ने अडान नछोडेपछि ओलीविरोधी मोर्चा मिशनमा असफल हुने करिव निश्चित भएको छ । देउवालाई रोक्न आज दिउसो जसपाका महन्थ ठाकुर समूहका साँसदहरूको समूहलाई भक्तपुरको डोलेश्वर रिसोर्टमा राखिएको थियो । 

देउवाले प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि ठाकुरले अस्वीकार गर्दै अडान कायम राखेपछि ओलीलाई जसरी पनि हटाउने प्रयास विफल हुने देखिएको हो । अब राष्ट्रपति भण्डारीले संविधानको धारा ७२ (२) अनुसार सरकार बन्न नसकेपछि ठूलो दलको हैसियतमा ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने परिस्थिति निर्माण हुँदैछ । यस किसिमको परिस्थिति निर्माण गर्न भारतको सत्तारुढ दल भारतीय जनता पार्टी र भारतीय संस्थापन पक्ष पनि भित्रीरुपमा सक्रिय रहेको अनुमान गरिएको छ । 

ठूलो दलको हैसियतमा प्रधानमन्त्री भएमा ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । उनको पक्षमा बहुमत पुग्ने संभावना नरहेकाले बहुमत नपुगेको परिस्थितिमा उनले संसद विघटन गरी मध्यावधि चुनावको घोषणा गर्ने अनुमान गरिएको छ । 

Advertisement

Advertisement