बीमामा बेथितिः एम्बुलेन्समै लान मिल्ने बिरामीलाई हेलिकप्टर चढाएर अस्पताल नलगौंः जोशी

Advertisement

काठमाडौं । नेपाल सर्भेयर संघले आफूहरूले कैयौं समस्या भोग्दै आए पनि सम्बन्धित निकायले ध्यान नदिएको आरोप लगाएको छ । बीमा क्षेत्रमा समस्या उत्पन्न गर्न अनेकौं छिद्रहरू विद्यमान रहेकाले यस क्षेत्रको विकासमा बाधा पुगेको संघका अध्यक्ष सूर्यप्रसाद जोशी बताउँछन् । 

उनका अनुसार बीमा क्षेत्रमा समस्या सिर्जना गर्न काजगपत्र समयमा नदिने बीमित, अनावश्यक तनाव दिने कम्पनी तथा नबुझ्ने बीमा समिति संलग्न भए पनि सर्भेयर एक्लै आलोचनाको केन्द्र हुने गर्छन् । ‘अहिले बीमा क्षेत्रमा समस्या सिर्जना गर्ने को हो ? भन्दा सर्भेयर नै हो भनेर बुझाउने गरिन्छ । तर वास्तवमा सर्भेयरका त आफ्नै धेरै समस्या छन् । नेपालमा एउटा सर्भेर बन्न र टिक्न पनि राम्रो वातावरण छैन । तर यहाँ  एम्बुलेन्समै लान मिल्ने बिरामीलाई हेलिकप्टर चढाएर अस्पताल लगिन्छ । अनि सर्भेयरलाई दोष दिईन्छ’, अध्यक्ष जोशीले कर्पोरेट नेपालसँग भने ।

Advertisement

उनले अस्पतालसँग तालमेल मिलाउने एम्बुलेन्स चालकको गल्तीलाई समेत सर्भेयरको गल्ती भन्दै तुलना गर्न नमिल्ने बताए । सर्भेयर संघकै तर्फबाट उनले हेलिकप्टर र विदेशीका गल्तीमा सर्भेयर जोडिदा इमान्दार सर्भेयरको उचित कदर नहुने दाबी गरेका छन् ।

बीमामा सर्भेयरको के हो भूमिका ? 
सर्भेयर भनेको एउटा पूर्णत प्राविधिक हो । जुन विषयमा सर्भेयरले काम गरेको हुन्छ, त्यसमा उनीहरू विज्ञ नभए पनि जानकार भने हुनुपर्छ । सर्भेयरका प्राविधिक, सामाजिक, कानुनी पक्षहरू जोडिन्छन् । अहिले सर्भेयरले सात दिनको तालिम लिन्छन् । तर सात दिनको तालिमले मैदानमा राम्रोसँग काम नसकिने र सो अवधिको ज्ञान नै अपूर्ण हुने सर्भेयर संघको गुनासो छ । 

अन्य मुलुकमा चार बर्षको छुट्टै कोर्ष पूरा गरेपछि मात्रै सर्भेयरको लाइसेन्स पाइन्छ । तर नेपालमा भने अर्को पेशाको इन्जिनियरलाई तालिम दिएको भरमा सर्भेयरको लाइसेन्स दिने प्रथा छ । हालसम्म धेरै जना सर्भेयरहरू पेशमा जोडिन आउने तर सोही अनुसारको रोजगारी भने नपाउने अवस्था रहेको छ । यस्तै कारण सर्भेयरको रोजगारी दिगो र आकर्षक हुन सकेको छैन् । 

अन्तर्राष्ट्रिय रूपमा सर्भेयरलाई हप्ता दिनको तालिममा सीमित गरिदैन भन्दै अध्यक्ष जोशीले नेपालमा पनि तालिमभन्दा पाठयक्रम नै विकास गरेर जानु उत्तम हुने बताए । पाठ्यक्रमको विकास नहुनु भनेको गुणस्तरीय सर्भेयर बन्ने ढोका बन्द हुनु जस्तै भएको उनले बताए । 

‘बाहिर कोर्ष मात्र लिएरभन्दा पनि सोहीअनुसार परीक्षामा उत्तिर्ण भएपछि मात्र सर्भेयर बन्न पाइन्छ । तर नेपालमा यस्तो छैन । सर्भेयर बन्न निकै सहज हुनु र बनेपछि काम गर्न कठिन हुनु यो पेशाको तितो यथार्थ हो’, जोशीले भने ।

नेपालमा सर्भेयरको पाठ्यक्रम राख्न कति सम्भव ?
नेपालमा सर्भेयरको जागिर त्यति धेरै आकर्षक हुन सकेको छैन् । जागिर असजिलो र सुविधा पनि सोही अनुसारको हुननसक्दा यस पेशातर्फ खासै आकर्षण बढ्न सकेको छैन् । जागिर नै आकर्षक नभएपछि लामो समयको कोर्ष पढ्ने जनशक्तिको पनि अभाव हुनसक्ने जोशीको आँकलन छ । अहिले सर्भेयर पेशालाई अघि बढाउनुपर्छ भन्ने जनशक्ति नै चार,–पाँच जना मात्र रहेको जनाइएको छ । 

सर्भेयर संघले आफूहरूसँग मिलेर काम गरौंभन्दा पनि चार्टर्ड एकाउण्टेन्ट (सीए)हरूले कुरा नबुझ्नले गरेको आरोप लगाएको छ । सीएहरूले सर्भेयर पेशा टिकाउनभन्दा पनि सुरुमा नै धेरै तलबतर्फ लोभिने गरेको संघको दुखेसो छ ।

बीमा सर्भेयरहरूलाई काम गर्न निकै गाह्रो रहेको सुनाउँदै अध्यक्ष जोशीले बीमितले नै दिनुपर्ने कागजातहरू लुकाउने, त्यही बेलामा बीमा कम्पनीहरूले रिर्पोट दिन ढिलाई भयो भनेर ताकेता गर्ने, अर्कोतर्फ नियमक बीमा समितिले पनि रिपोर्ट मागिरहने अवस्था रहेको सुनाए । उनले खासमा सर्भेयरको कारणले मात्र काममा ढिला हुँदैन भन्दै भने, ‘यो कुरा कस्ले खोजी गर्छ र ?, दाबी भुक्तानी गर्दा पूराना सामानहरूको शुल्क कम हुनजान्छ । त्यस्तो बेलामा बीमितले पनि चित्त बुझाउँदैनन् । कतिपय अवस्थामा सर्भेयरले नै पैसा खायो भन्ने पनि गरिन्छ । सर्भेयरलाई सर्वप्रथम त प्राविधिक ज्ञान चाहिन्छ । त्यसपछि कानुनसम्बन्धी जानकारी पनि सर्भेयरले राख्न जरुरी हुन्छ ।’

बीमामा खोज अनुसन्धान गर्ने ठाउँमा सर्भेयरको भुमिका महत्वपूर्ण हुन्छ । निर्जीवन बीमाका अधिकांश क्षतिमा सर्भेयरले काम गर्छन् । दाबी परेपछि सर्भेयरको खोजी गरिन्छ । काठमाडौमा रहेका सर्भेयरले मुग्लिनमा गाडि दुर्घटना हुँदा त्यो हेर्न तत्कालै पुग्नुपर्छ । केही सर्भेयरले नैतिकता मिचेमा उनीहरूलाई सिधै कारबाही गर्नुपर्ने र राम्रो काम गरिरहेका सर्भेयरलाई धन्यवाद दिनुपर्ने सर्भेयर अध्यक्ष जोशीको भनाई छ । 

Advertisement

Advertisement