विद्युत् प्राधिकरणसँग मिलेर अव्यवस्थित तार भूमिगत गर्ने दूरसञ्चार प्राधिकरणको योजना

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सडकका खब्बामा देखिने अव्यवस्थित तार आगामी आर्थिक वर्षभित्र हटाइसक्ने दाबी गरेको छ । अव्यवस्थित तार हटाउन जनदबाब बढ्दै गए पनि प्राधिकरणलगायतका निकायले आलटाल गर्दै आएका थिए । 

सडक छेउमा तारहरू अव्यवस्थित हुँदा शहरको सुन्दरता घट्नेदेखि करेन्ट लाग्ने जोखिम अत्याधिक हुने गरेको प्राधिकरणले स्वीकार गरेको छ । सोही कारण कुरुपता हटाउन, आवश्यक तारको उचित व्यवस्थापन गर्न तथा लेबलिङ गरेर कामलाई छिटो छरितो बनाउन छरपस्ट तारहरू सपक्क ढंगले व्यवस्थित गर्ने तयारी गरिएको प्राधिकरणका अधिकारीहरूले सुनाएका छन् । 

Advertisement

प्राधिकरणले विगतमा सडक छेउमा रहेका अव्यवस्थित तार हटाउने कार्ययोजना नै बनाए पनि कार्यान्वयन गर्न सकेको थिएन् । हाल सो योजनाअनुसार काम भइरहेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । उनले कर्पोरेट नेपालसँग भने, ‘आगामी आर्थिक वर्षभित्रै मुलुकभरका मुख्य १५ शहरमा रहेका अव्यवस्थित तार हट्ने छन् । अब अन्डर ग्राउन्टबाटै दूरसञ्चारका तार व्यवस्थापन गर्ने तयारी गरिरहेका छौं । 

नेपाल विद्युत प्राधिकरणले बिजुलीका तारहरू भूमिगत गर्दै लैजाने तयारीमा रहेकोले सोही मेसोमा विद्युत प्राधिकरणसँग सहकार्य गरी दूरसञ्चारका तारहरू पनि भूमिगत गर्न सकेमा अव्यवस्थित तारको समस्या हल हुने सोचमा आफूहरू रहेको खनालले बताए । 

विगतमा सडक छेउमा रहेका पूराना तारहरूमा लेबलिङ् गर्ने योजना प्राधिकरणले नै बनाएको थियो । अहिले नयाँ पूराना सबै तारहरूलाई अन्डरग्राउन्ड गर्ने योजनामा प्राधिकरण पुगेको छ । प्राधिकरणले आफ्ना तारहरू भूमिगत गर्ने क्रमसँगै दूरसञ्चार प्राधिकरणले पनि टेलिफोन र इन्टरनेटका तारहरू भूमिगत गराउने उनले बताए । 

दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले कोरोना महामारीका कारण अहिले विकास निर्माणसम्बन्धी केही पनि कामहरू अघि बढ्न सकेका छैनन् भन्दै सुरु हुनासाथै अव्यवस्थित तार व्यवस्थित गर्ने काम सुरु हुने बताए । उनले भने, ‘अहिले निर्माणका कामहरू बन्द  छ । प्राधिकरणले अव्यवस्थित तारहरूको व्यवस्थापन गर्न शहरी क्षेत्रलाई आफूहरूले प्राथमिकता दिएको पनि बताए । 

आगामी आर्थिक वर्षमा १५ शहरका अव्यवस्थित तार हटने जनाइएको छ । यस कार्ययोजनाले स्मार्ट शहर निर्माणको सरकारी योजनामा सहयोग पुग्ने पौडेलले बताए । प्राधिकरणले शहरीसँगै ग्रामीण क्षेत्रमा अव्यवस्थित तार हटाउने काम पनि अघि बढाइने जानकारी दिएको छ । 

Advertisement

Advertisement