राष्ट्र बैंकको प्रतिवेदनमा संघको असहमतिः ‘एफडीआई चाहिँदैन, डेढ खर्बको निर्यात गर्न सक्छौं’
सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रवराज थापा । फाइल फोटो

Advertisement

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययन’ प्रतिवेदनप्रति सिमेन्ट उत्पादक संघले असहमति जनाएको छ । संघका अध्यक्ष ध्रुवराज थापाले राष्ट्र बैंकले उद्योगीसँग समन्वय नगरी गरेको उक्त अध्ययन प्रतिवेदनको निष्कर्ष र त्यसमा समावेश गरिएको तथ्यांक गलत भएकोले सच्चाउन माग गरेका छन् ।

संघले राष्ट्र बैंकलाई औपचारिक पत्र पठाउँदै नेपाली सिमेन्ट विदेशीसरह अब्बल रहेको र अहिले नै खपत कम भएर क्षमताभन्दा ५० प्रतिशत कममा उद्योग चलाउनु परेको भन्दै वैदेशिक लगानी आवश्यक नभएको स्पष्ट पारेको छ । अहिले नै वार्षिक डेढ खर्ब रुपियाँको सिमेन्ट निर्यात गर्नसक्ने क्षमता नेपाली सिमेन्ट उद्योगसँग रहेको थापाको भनाई छ ।

Advertisement

थापाले कर्पोरेट नेपालसँगको कुराकानीमा भने, ‘राष्ट्र बैंकको त्यो अध्ययन प्रतिवेदनको तथ्यांक यथार्थपरक भएन् । त्यसैले सच्चाउन आग्रह गरेका छौं ।’ राष्ट्र बैंकले नेपालमा ५५ वटा सिमेन्ट उद्योग सञ्चालन रहेको बताए पनि हाल ६५ वटा उद्योगबाट नियमित सिमेन्ट उत्पादन भइरहेको जनाएको छ । 

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले अझै नेपालमा सिमेन्ट निर्यातका लागि प्रत्यक्ष वैदिशक लगानी (एफडीआई) चाहिन्छ भनेको छ । अहिले नै नेपालका सिमेन्टको उत्पादन क्षमता एक वर्ष अगाडिको तुलनामा दोब्बर भइसकेको भन्दै थापाले अहिले खपत कम भएर र निर्यात गर्न नपाएका कारण क्षमताभन्दा ५० प्रतिशत कममा उद्योग सञ्चालन गर्नुपरेको बताए । नेपाल दुई वर्ष अगाडि नै सिमेन्टमा आत्मनिर्भर भइसकेकोले वार्षिक १५ लाख मेट्रिक टन सिमेन्ट आयात गर्नु पनि नपर्ने उनको भनाई छ । 

थापाले भने, ‘राष्ट्र बैंकले ५५ वटा सिमेन्ट उद्योगको मात्रै कुल जडित उत्पादन क्षमता एक करोड ५० लाख मेट्रिक टन छ भनेको हो । बाँकी १० वटाको क्षमता अझै जोड्नै बाँकी छ । आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन मात्रै भएकोले अहिले नै क्षमताभन्दा बढि उत्पादन हुने भएकाले सरकारले अनुमति दिएको अवस्थामा तत्कालै डेढ डेढ खर्ब रुपियाँको सिमेन्ट निर्यात गर्न सक्ने क्षमता बनिसकेको छ । अब नेपालमा कुनै पनि बहानामा एफडीआई आवश्यक छैन् ।’ 

अध्ययन प्रतिवेदनले भने आन्तरिकरूपमा  यी नेपाली सिमेन्ट उद्योगहरूबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट मात्रै उत्पादन भएको जनाएको छ । क्षमताअनुसार उत्पादन गर्दा बजार नपाउने र आन्तरिक खपत बढ्न नसकेकोले पनि यस्तो देखिएको हो भन्दै थापाले तर यो तथ्यांक पनि ५५ वटामा मात्रै आधारित रहेर बनेकोले यसको आधारमा धारण बनाउन नमिल्ने बताए । 

विदेशीलाई निरुत्साहन गरेर स्वदेशीलाई प्रोत्साहन गरिनुपर्ने 
सिमेन्ट उत्पादक संघले विदेशी लगानीलाई निरुत्साहित गरेर अब स्वदेशीलाई प्रोत्साहन गर्नुपर्ने बेला आएको बताएको छ । दुई वर्ष अगाडि नै नेपालमा अब सिमेन्ट उद्योगमा विदेशी लगानी चाहिँदैन भनेर पटक पटक भन्दै आएकोमा सरकारी पक्षले सुनुवाई नगरेको स्वदेशी सिमेन्ट उत्पादकहरूको भनाई रहँदै आएको छ । तर सरकारले बदनियतपूर्ण तरिकाले आत्मनिर्भर भइसकेको क्षेत्रलाई बेवास्ता गर्दै आएको उनीहरूको गुनासो छ । राष्ट्र बैंकको प्रतिवेदन पनि त्यसैको श्रृखला भएको व्यवसायी गुनासो गर्छन् । 

अब सरकारले नेपाली सिमेन्टलाई निर्यात गर्न अनुमति दिएको अवस्थामा अझै उत्पादन बढ्ने, उद्योग प्रतिस्पर्धी ढंगबाट उत्पादन बढाउन लाग्ने र निर्यातमा जोड दिन सकिने सुझाव अध्यक्ष थापाको छ ।

सरकारले कोभिड र वर्षातको समयमा भएको उत्पादन कम, खपत कम र उद्योग क्षमता अनुसार चल्न नपाएको समयलाई हेरेर गरेको अध्ययनले सम्पूर्ण सिमेन्ट बजारमै नकारात्मक भ्रम फैलाउने काम भएको उनको भनाइ छ । सिमेन्ट उत्पादक संघले राष्ट्र बैंकसमक्ष पत्र पठाएरै समय सान्दर्भिक अध्ययन गर्न र सोही अनुसारको प्रतिवेदन सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।

विदेशी लगानीका सिमेन्ट उद्योग बढी नाफामा, निर्यात बढाउन विदेशीलाई नै प्रोत्साहन सुझाव

Advertisement

Advertisement