गलत सूचनाले सेयर बजारमा कसरी फस्छन् सोझा लगानीकर्ता ?

Advertisement

काठमाडौं । पछिल्लो समय सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । नयाँ उचाईसँगै सेयर बजारमा भित्रिने नयाँ लगानीकर्ता पनि थपिँदै छन्, जसमध्ये कतिलाई यस क्षेत्रको बारेमा सामान्य ज्ञान समेत देखिन्न । 

तर, सेयर बजारबाट धेरैले राम्रो कमाई गरेको देखेर धेरै नयाँ लगानीकर्ता आकर्षिक हुँदै गएका छन् । अहिलेको विषम परिस्थितिमा आफूले दुःख र मेहनत गरेर जम्मा गरेको केही रकम सेयर बजारमा लगानी गर्न पाए केही कमाई हुन्थ्यो कि ? भन्ने आशामा धेरैमा मौलाएको छ । तर नेपालको सेयर बजारमा हुने छदम खेल र नाफाखोरी प्रवृत्तिका कारण सोझा लगानीकर्ता शिकार हुने गरेको देखिएको छ । यस्तै एक पीडित यस समाचारदातासम्म आइपुगे ।

Advertisement

उनी भन्छन्, ‘मैले एनआईसी एसिया लघुवित्तको सेयर किन्ने बेला एउटा मिडियामा प्रकाशित यस कम्पनको वित्तीय विवरण हेरेको थिएँ । सम्वन्धित कम्पनीको वेभसाइटमा विवरण नभेटेपछि मैले सेयर बजारकै न्यूज लेख्ने त्यो वेभसाइट खोल्नुपर्यो । बजारमा नाम सुनेको मिडियाको विश्वास नगर्ने कुरा पनि भएन् । त्यसमा एनआईसी एसिया लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १२२ रुपियाँ ७५ पैसा (वार्षिक) देखें । कम्पनी राम्रो लागेर १८८१ मा एक हजार दुई सय कित्ता सेयर किनें । तर, केही समयपछि कम्पनीको तेस्रो त्रैमासिक रिर्पोट कुनै अनलाइन मिडियामा भेटेर हेर्दा थाहा भयो, त्यो कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ३२ रुपियाँ ७५ पैसा रहेछ । अहिले मैले किनेको सेयर मूल्य घट्दै गएको छ । पछि बुझ्दै जाँदा थाहा भयो, केही अनलाइन मिडियाहरू गलत विवरण हालेर लगानीकतालाई झुक्याउने धन्दा गर्दा रहेछन् । सेयर बजारमा कम्पनीको सेयर घटबढ गराउन केही मिडिया लाग्दो रहेछ । मैले त्यो घट्नाबाट धेरै कुरा थाहा पाएँ ।’

यो एउटा प्रतिनिधिमूलक घट्ना हो । बजारमा भ्रम सिर्जना गरेर सोझा लगानीकर्तालाई फँसाउने र आफू रातारात धनी हुने प्रवृत्ति पछिल्लो समयमा निकै मौलाएर गएको देखिन्छ । यस्तो धन्दामा केही मिडियासमेत लाग्दा आम लगानीकर्ताको मिडियाप्रतिको विश्वसनियतामा समेत कमी आउन थालेको छ । 

कस्ले नियमन गर्ने ? 
सेयर बजारमा लगानीकर्ता आउने पहिलो माध्यम भनेको साधारण सेयर (आईपीओ) हो । त्यसपछि उनीहरू दोस्रो बजारमा आकर्षित हुन थाल्छन् । यसरी सेयर बजारमा आएका नयाँ लगानीकर्तालाई कुन कम्पनीको वित्तीय अवस्था कस्तो हुन्छ ? कुन कम्पनीको सेयर किन्ने ? विश्लेषण गर्नसक्ने क्षमता तथा शैलीको विकास भइसकेको हुन्न । उनीहरू मिडिया र सामाजिक सञ्जालमा आएका कुरालाई नै विश्वास गर्न बाध्य हुन्छन् । 

नयाँ लगानीकर्ताहरूले मिडियाले राखेको तथ्यांक, सेयर बजारका अगुवाको अन्तरवार्ता तथा प्रतिक्रियाका आधार बजारमा लगानी गर्छन् । तर, मिडिया र सामाजिक सञ्जालमा आउने गलत तथ्यांक र भ्रामक सुचनाका कारण उनीहरू आफू फँसेको थाहै पाउँदैनन् । यस्ता पीडित लगानीकर्ताको हकहित संरक्षण गरिदिने न राज्य हुन्छ, न लगानीकर्ताका अगुवा र मिडियाले नै उनीहरूको पीडालाई उठाइदिन्छन् । 

अहिलेको सेयर बजारमा वित्तीय अवस्था खराब भएका कम्पनीहरूको सेयर मूल्य पनि उच्च बिन्दुमा पुगेको देखिन्छ । यस्ता कम्पनीले यति प्रतिशत लाभांश दिँदैछ, यति प्रतिशत हकप्रद सेयर जारी गर्दैछ जस्ता भ्रामक कुराहरू बजारमा फिँजाइन्छ र कम्पनीको सेयर मूल्य घटाउने वा बढाउने काम गरिन्छ ।  केही समय अगाडि नेपाल धितोपत्र बोर्डले यस्तो भ्रामक सुचना सम्प्रेषण गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दियो । तर उनीहरू कारवाही गर्ने आँट बोर्डसँग देखिन्न । 

सेयर बजारका बारेमा सामाजिक सञ्जालदेखि केही मिडियामा आउने भ्रामण सुचना नियन्त्रण गर्न लगानीकर्ताका संगठन र अगुवाहरू नै उदासिन देखिन्छन् । मिडियाको तटस्थताको लागि कुनै पनि मिडिया र मिडियाका सञ्चालकले नैतिकरुपमा सेयरको कारोबार गर्न मिल्दैन् । यद्यपि कानुनले यसलाई बन्देज गरेको छैन् । तर सेयर बजारलाई प्रभावित पार्न मिडिया र सामाजिक सञ्जालको बढ्दो अनधिकृत प्रयोगको मारमा सर्वसाधारण लगानीकर्ता पर्ने गरेका छन् । 

धेरै लगानीकर्ता मिडियामा राखिएका तथ्यांकको आधारमा लगानी गर्न बाध्य छन् । कम्पनीहरूले आप्नो वेभसाइटमा सबै विवरणहरू नराखिदिँदा पनि उनीहरू गलत सुचनाको भर पर्न बाध्य हुनु परेको छ । यस्ता मिडियाहरूले आफ्नो पक्षमा तथ्यांक राख्ने र आफ्नो स्वार्थ पूरा भए पछि वा कसैको स्वार्थ पूरा गरिदिएपछि त्यस्तो तथ्यांक सच्याउने गरेको लगानीकर्ताको अनुभव छ । 

एक सेयर बजार एक जानकारले उदाहरण दिँदै भने, ‘लुम्बिनी विकास बैंकले आफूसँग भएको डिप्रोक्स लघुवित्तको करिब १० लाख कित्ता सेयर, समता र नाडेप लघुवित्तको सेयर सबै बेच्छ र अर्को वर्ष सतप्रतिशत बोनस सेयर दिन्छ भन्ने हल्लाको कारण सेयर बजार बढेको छ । तर, सम्बन्धित् संस्था कसैले पनि त्यसको बारेमा केही बोलेका छैनन् । एउटा पक्षले आफ्नो फाइदाको लागि हल्ला गरेको छ र अरु साधारण लगानीकर्ताहरू सोही हल्लाकै भरमा लगानी गरिरहेका छन् । यसले उनीहरूको लगानी जोखिममा परेको छ ।’

लगानीकर्ताले आफ्नो लगानी फस्न नदिन के गर्ने ?
लगानीकर्ताले आफ्नो लगानी सुरक्षित गर्न हल्लाको पछि नलागेर आफैले सेयर बजारको बारेमा राम्रोसँग बुझरे मात्र लगानी गर्नु पर्ने जानकारहरू बताउँछन् । विश्वचर्चित सेयर लगानीकर्ता वारेन वफेटको पनि सेयर बजारसम्बन्धी त्यस्तै बुझाई छ । उनले सेयर बजारमा कुनै पनि कम्पनीमा लगानी गर्दा निम्न कुरालाई हेरेर लगानी गर्न सुझाव दिएका छन्ः 
१.कम्पनीको व्यापार साधारणतया आफूले बुझिन्छ कि बुझिन्न ?
२.कम्पनीले कस्तो व्यापार व्यवसाय गरिरहेको छ ? 
३.भविश्यमा यो कम्पनीको व्यापार व्यवसाय कस्तो होला भनेर अनुमान गर्ने ? व्यापार व्यवस्थापन उचित तवरको छ कि छैन् ? 
४.कम्पनीको व्यस्थापन सेयर लगानी गर्नेहरूमैत्री छ कि छैन? 
५.कम्पनीले दिने व्यापारको इक्विटी रिर्टन कस्तो छ ? 
६.कम्पनी सञ्चालकको आम्दानी कस्तो खालको छ ? कम्पनीको नाफाको मार्जिन कस्तो छ ?  

Advertisement

Advertisement