सामाजिक सुरक्षा कोषमा वित्तीय क्षेत्रबाट ९८० संस्थाका ८७६३ कर्मचारी आबद्ध, योगदान गर्ने न्यून

Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषमा बिहीबारसम्ममा वित्तीय क्षेत्रका ९८० संस्था आवद्ध भएका छन् । यी संस्थाका आठ हजार ७६३ कर्मचारीमध्येबाट हालसम्म २१ करोड ५९ लाख ३३ हजार ७०८ रुपियाँ योगदान रकम जम्मासमेत भएको कोषले कर्पोरेट नेपाललाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

जसअनुसार कोषमा सहकारीबाहेक नै बैंक तथा वित्तीय संस्थाबाट ९० वटा संस्था सूचीकृत भएको देखिए पनि योगदान गर्ने भने साह्रै न्यून छन् । बैंक तथा वित्तीय संस्थाबाट जम्मा ११ वटाले मात्रै योगदान सुरु गरेका छन् ।

Advertisement

कोषमा आवद्ध ११ वटा वाणिज्य बैंक सूचीकृत भएको देखिए पनि अस्थित्वमा अहिले आठ वटा मात्रै छन् । बाणिज्य बैंकबाट हालसम्म एउटाले मात्रै योगदान सुरु गरेको छ । बाणिज्य बैंकबाहेक ८९० वटा सहकारी, ३५ वटा लघुवित्त, ३३ वटा बीमा कम्पनी, आठ वटा वित्त कम्पनी र तीन वटा विकास बैंक मात्रै छन् ।

आवद्ध मात्रै, योगदान न्यून
कोषमा आवद्ध हुने बैंक तथा वित्तीय संस्थाको संख्या धेरै देखिए पनि योगदान सुरु गर्नेको संख्या भने जम्मा ११ वटा संस्था मात्रै छन् । सहकारीतर्फ ८९० संस्था आवद्ध भए पनि योगदान सुरु गर्ने जम्मा २१५ वटा छन् । अधिकांश वित्तीय संस्था कोषमा आवद्ध भएर मात्रै बसेका छन् । 

आवद्ध हुने संस्थामा अधिकांशले योगदानकर्ताको संख्या उल्लेख गरेका छैनन् भने उल्लेख गर्नेले पनि न्यून मात्रै उल्लेख गरेका छन् । आफूहरूले खाईपाई आएको सुविधामा भारी कटौती हुने देखेपछि बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीले कोषमा योगदान गर्न अस्वीकार गर्दै आएको छन् । यता कोषले भने आवद्ध हुन नआए बैंकहरूमाथि नै कारवाही गर्ने चेतावनी दिँदै आएको छ । 

कोषका सूचना अधिकारी डा. रोशन कोजुका अनुसार आवद्ध भएका संस्थाले कुनै पनि बेला योगदान गर्न सुरु गर्ने दावी गर्छन् । उनले भने ‘कोषमा आवद्ध हुनु भनेको योगदान गर्न रुची देखाउनु हो । सरकारले बाध्यकारी बनाएकोले पनि योगदान गर्नैपर्नै उनको तर्क छ । तर नबिल बैंक कर्मचारी संघका अध्यक्ष सविन भट्टराईले आफूहरूका केही माग सम्बोधन नभई बैंकका कर्मचारीहरू कोषमा आवद्ध नहुने भन्दै जबरजस्ती गरिए संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् । 

कोजुले कर्पोरेट नेपालसँग भने, ‘बैंक तथा वित्तीय संस्थाका करिब एक हजार रोजगारदाता कोषमा आइसकेकोले अब योगदान सुरु गर्न मात्रै बाँकी छ । यो बाहेक अझै धेरै संस्था आउनै बाँकी रहेकोले योगदान गर्न तयार रहेर बसेको भनेर बुझनुपर्छ ।

वित्तीय क्षेत्रबाट कस्को योगदान सुरु ? 
कोषमा आवद्ध ११ वाणिज्य बैंकमा हालसम्म लक्ष्मी बैंकका एक हजार २९० जना कर्मचारीबाट एक करोड १६ लाख २७ हजार योगदान सुरु भएको कोषले जानकारी दिएको छ । यो बैंक यसै साता मात्रै आवद्ध भएर योगदान सुरु गरेको हो । अन्य वाणिज्य बैंकले कोषमा सूचीकृत मात्रै भएका छन् । सूचीकृत बैंकबाट योगदानकर्ता सबैको नाम अझै अद्यावधिक गरिएको छैन् । 

कोषमा तीन वटा विकास बैंकः ग्रीन डेभलपमेन्ट, कर्णाली डेभलपमेन्ट र देव विकास बैंक मात्रै आवद्ध भएको छन् । यस्तै कोषमा फाइनान्स कम्पनीको तर्फबाट आठ वटा कम्पनी आवद्ध भए पनि आइसीएफसी फाइनान्सका १७२ योगदानकर्ताले मात्रै कोषमा योगदान सुरु गरेका छन् ।

अन्य फाइनान्समा गुडविलका १२६ आवद्ध भए पनि योगदान सुरु भएको छैन् ।  योगदानकर्ता नखुलाई कोषमा आवद्ध हुने मात्रै फाइनान्समा नेपाल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, सिर्जना फाइनान्स र सिटी एक्सप्रेस फाइनान्स रहेका छन् ।

कोषमा आवद्ध हुनेमा ३६ वटा लघुवित्त छन् । यसमध्ये जम्मा पाँच वटाले मात्रै योगदान गर्न सुरु गरेका छन् भने बाँकी सूचीकृत मात्रै छन् । बीमा क्षेत्रका ३३ वटा कम्पनी आवद्ध भए पनि चार वटाले मात्रै योगदान गर्न थालेका छन् ।

योगदान सुरु गर्नेमा सूर्या लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलायन्स लाइफ छन् । बीमा क्षेत्रबाट जीवन र निर्जीवन गरी ३९ कम्पनी भए पनि अझै ६ वटा आवद्ध हुन बाँकी छ । समग्र  वित्तीय क्षेत्रमध्ये बीमा क्षेत्रबाट कोषमा आवद्ध हुनेको संख्या बढि देखि पनि योगदान सुरु गर्नेको संख्या भने न्यून छ ।

 

Advertisement

Advertisement