अमेरिकामा सङ्कलन गरेर नेपालमा राहत बाँड्दै ईश्वर सापकोटा

Advertisement

चितवन । चितवनको पहाडी भूभागमा बस्ने चेपाङ् समुदाय निषेधाज्ञाका कारण निकै प्रभावित भएको सुनेपछि राहत बोकेर यहाँ आइपुगेका ईश्वर सापकोटा स्थायीरुपमा अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । दुई महिनाअघि नेपाल आए लगत्तै निषेधाज्ञा पछि उनको दिनचर्या समाज सेवामानै बित्ने गरेको छ ।     
     
सापकोटाले भने, “निषेधाज्ञाले खाननै धौधौ भएको सुनेपछि मलाई त्यसै बस्न मन लागेन”, क्यालिफोर्नियामा रहेको सन्नी सगरमाथा समाजका संस्थापक अध्यक्ष उनले त्यहाँका हालका समितिका साथीहरुलाई अनुरोध गरेर सहयोगको आव्हान गरे । त्यहाँ सङ्कलन भएको सहयोगले यहाँ समाज सेवामा उनी जुटिरहेका छन् । काभ्रे पनौतीमा घर भएका सापकोटाले काभ्रेमै दृष्टिबिहिनहरुका लागि रु १ लाख खर्च गरेर इनार व्यवस्थापन गरिएका छन् । त्यसै गरी ठमेलका रिक्सा चालक, बाफल, चावहिल, जोरपाटी लगायतका क्षेत्रमा तीन सय परिवारलाई राहात बितरण गरेको उनको भनाइ छ ।     
     
राप्ती नगरपालिका वडा नम्बर १३ मा १५० चेपाङ् परिवारलाई उनकै नेतृत्वमा आज राहत बाँडिदै छ । सापकोटाको भनाइमा हालसम्म रु १२ लाख हाराहारीको राहत बितरण भईसकेको छ । राहत बितरण कार्य जारिनै राख्ने उनको योजना छ । सापकोटाले भने, “हामीले अलीअली बचाएर राखेको पैसामा नेपाल आमालाई दुख्दै गर्दा केही गरौं भन्ने अभिप्रायले समाज सेवामा जुटेका हौं ।” नेपालमा रहँदा हरिमाई फाउण्डेसनका अर्जुन तिमिल्सिना, राजेन्द्र तिमिल्सिना, प्रदिप सापकोटा, विश्व केसी, प्रकाश तिमिल्सिनाको साथ लिएर अभियानमा लागेको सापकोटाले जानकारी दिए ।     
     
यसअघि भूकम्पको समयमा सन्नी सगरमाथाकै नेतृत्वमा अमेरिकामा रहेका नेपालीका २८ वटा संघ संस्था मिलेर यहाँ सहयोग गरिएको थियो । सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ्, गोरखा र तनहुँमा जस्तापाता बितरण गरेको उनले बताए । सापकोटाकै नेतृत्वमा सन्नीका प्रतिनिधि नारायण खनाल, दिपेन्द्र तिमिल्सिना लगायतको टोलीले राहत बाँडेको उनको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement