बाढीले पाँचसय मेगावाट बिजुलीमा अवरोध, कुलेखानी पूर्ण क्षमतामा, आयात ६०० मेगावाटसम्म

काठमाडौं । देशैभर बढेको भारी बर्षासँगैको बाढीले विभिन्न स्थानका गरी करिब पाँच सय मेगावाट क्षमतासम्मका बिजुलीमा अवरोध सिर्जना भएको छ । भारी वर्षसँगैको बाढीले विद्युत् प्राधिकरण र निजी क्षेत्रका गरी करिब पाँच सय मेगावाट विद्युत् गृहको बिजुली प्रवाहमा समस्या भएको छ । 

विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार प्राधिकरण अन्तर्गतका कालिगण्डकी, मस्याङ्दी (३ वटै), सुनकोशी, मोदी, गण्डकसहितका आयोजनाको बिजुली प्रभावित भएको छ भने निजी क्षेत्रका निजी क्षेत्रका मादी करिडोर, भोटेकोशी, भिमरुक, लमजुङ, मनाङसहितका आयोजनमा अवरोध सिर्जना भएको छ । दर्जन आयोजना प्रभावित भएपनि यसबाट उत्पादित बिजुलीमा समस्या भएको पनि प्राधिरणको भनाइ छ ।

बाढीको प्रवाह नघटेसम्म बिजुली प्रवाह सहज नहुने र कतिपय विद्युत् गृह मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छन् । जसका कारण मंगलबार दिउँसोदेखि नै बिजुली उत्पादनमा समस्या भएको छ । उत्पादन कम भएपनि आपूर्तिमा भने कुनै समस्या छैन भने आयात बढाएर कुलेखानी पूर्ण क्षमतमा सञ्चालन गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए ।

तिम्सिनाले कर्पोरेटनेपालसँग भने ‘विद्युत् गृहबाट उत्पादन नभएपनि आपूर्ति सुचारु बनाउँन १०६ मेगावाटको कुलेखानीलाई पूर्ण क्षमतामा सञ्चालन गरेका छौं ।’ उनले भने ‘भारतबाट गरिएको आयात पनि बढाएका छौं ।’ दुई दिन अगाडिसम्म २५० देखि ३०० मेगावाट मात्रै दैनिक विजुली आयात हुने गरेकोमा अहिले ५५० देखि ६०० मेगावाटसम्म आयात गरिएको पनि तिम्सिना बताउँछन् । 

प्राधिकरणका अनुसार बिजुलीको मागमा आधारमा आयत हुने र कुलेखानी चलाउने गरिएको छ । माग बढी हुँदा आयात पनि बढ्छ र माग कम हुँदा आयत पनि बढाउने गरिएको छ । 
बिजुलीको पछिल्लो पीक डिमाण्ड १२३९ मेगावाट रहेको छ । यस्तो डिमाण्ड घटबढ भइरहने गर्छ । बिजुलीको माग हिजो घटेर मंगलबार ११६३ मेगावाट भएको थियो भने पुनः आज बढेको छ । यस्तो माग ग्राहक तथा उद्योगधन्दाले प्रयोग गर्ने विद्युत् र विद्युतीय सामाग्रीका आधारमा थपघट हुने गर्छ ।

वर्षातको मौसम सुरु भएसँगै बिजुली खेर जाने चिन्ता
दिनमा बिजुलीको माग धेरै हुने र बिजुली खपत पनि बढ्ने भएपनि रातको समयमा भने बिजुली खपत बढाउन नसक्दा खेर जाने चिन्ता वर्षातको मौसम सुरु भएसँगै बढ्ने गरेको छ । विद्युत् प्राधिकरणका अनुसार असार मसान्तसम्ममा तामाकोशीको ७६/७६ मेगावाटका दुईवटा युनिटबाट बिजुली उत्पादन सुरु हुने भएको भने थप हुनेसहितका करिब ३०० मेगावाटका विजुली साउनदेखि नै राष्ट्रिय प्रसारणमा आउँदै छन् ।

यसले दिउँसोको समयलाई बिजुली आयात कम गर्न सहयोग गर्ने भएपनि रातको समयमा भने खपत नै नहुने चिन्ता बढाएको प्राधिकरणकै अधिकारी बताउँछन् । दिउँसोको सममा अहिले १३÷१४ सय मेगावाट बिजुली माग भएपनि रातको समयमा भने ९०० मेगावाट पनि पुग्न गाह्रो हुने गरेको प्राधिकरणका प्रवक्ता तिम्सिना बनाउँछन् ।

प्राधिकरणका अनुसार नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज बजारमा बढी भएको बिजुली बिक्री गर्ने अनुमति मागेको भएपनि यस्तो अनुमति पाएको छैन् । भारतले प्रतिस्पर्धी बजारमा नेपालको बिजुली बेच्ने अनुमति अहिलेम्म नदिएका कारण धेरै भएको बिजुली खेर जाने चिन्ता बढेको प्राधिकरणकै अधिकारी बताउँछन् ।