बाढी पीडितलाई आवाससहित राहतको व्यवस्था गरिने, अब जथाभावी डोजर चलाउन नदिइने

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बाढीपीडित जनताका लागि आवास लगायतका सबै व्यवस्था सरकारले गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले सो कुरा बताएका हुन् । 

बाढी पहिरोबाट घाइतेहरूको उपचारको ब्यवस्था सरकारले गर्ने, क्षतिको मूल्यांकन गरेर उचित राहतका लागि गृहमन्त्रालयले पहल गर्न निर्देशन पनि दिएका छन् । 

Advertisement

यसैगरी ठूलो संख्यामा जनतालाई सुरक्षित स्थानमा सार्दा उनीहरूमा कोभिड १९ संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्नुपर्ने भन्दै उद्धारका लागि नयाँ प्रविधि र स्थानीय साधन स्रोतको प्रयोग गर्न सुझाव दिए । 

राहत वितरणमा अनियमितता हुन नदिन, अनुगमनलाई प्रभावकारी बनाउन पनि ओलीले सल्लाह दिए । उनले तराईमा डुबानको सम्भावना भएका स्थानमा संयुक्त सिमावर्ती टोलीसँग कुरा गरी तत्काल आवश्यक कार्य गर्न पनि निर्देशन दिएका छन् । पहाडी भेगमा नयाँ स्थानमा बाटो खन्ने वा डोजर लगाउने कार्य तत्काल रोक्नुपर्ने ओलीले बताए । 

ओलीले बाढी पहिरोमा परेकालाई उद्धार गर्दा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती महिलालाइ प्राथमिकतामा राख्न निर्देशन दिए । सरकारले राम्रो काम गर्दा पनि विरोधीहरूले सरकारको राम्रो कामको पनि बिरोध गर्ने गरेको उनको गुनासो छ । 

विपक्षी दलका प्रतिनिधि नरहेको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले जनताका लागि निकै राम्रा काम गरेपनि बिरोधीहरुले त्यसलाई देख्न नसकेको तर्क गरे । अहिले आएको बाढी पनि सरकारकै कारण आएजस्तै प्रचार गरिएको उनको गुनासो थियो । नयाँ जनमत लिन जनताको माझमा जान निर्वाचन घोषणा गरिएको तर बिपक्षी दलहरु भने निर्वाचनदेखि अतालिएको बताए । 

चूरेको विनाशका लागि नभई संरक्षण गर्न सरकारले उचित व्यवस्था गरेको दावी गर्दै ओलीले चूरे बिनाश गर्ने सरकारको कुनै उद्देश्य नरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले खानीको मात्र उचित प्रयोग गर्ने जिकिर गरे ।

Advertisement

Advertisement