सम्हालियो शेयर बजारः झिनो अंकले नेप्से घट्दा १० अर्ब ९० करोडको कारोबार

Advertisement

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको एक्सनपछि हिजो पहिरो गएको शेयर बजार साताको अन्तिम दिन आज भने सम्हालिएको छ । बुधबार ५२.३९ अंकले घटेको बजार आज भने १.२९ अंकले मात्रै घटेको हो । ०.०४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २९६८.४३ अंकमा ओलिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६ सय ९९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९ सय ३५ रुपियाँ बराबरको कारोबार भएको छ । 

Advertisement

हिजो लघुवित्त बाहेकका सबै समूह राताम्मे भए पनि आज भने सुधार देखिएको छ । बजार झिनो अंकले घट्दा होटल ३६.६, विकास बैंक ९४.२५, वित्त ३३.६६, निर्जीवन बीमा ५२.९८, अन्य २६.७२ र जीवन बीमा समूह १५.०५ अंकले बढेका छन् । अरु समूह भने राताम्मे भए । हिजो बढेको लघुवित्त समूह भने आज सबैभन्दा बढी ६४.७४ अंकले घटेको छ । 

नेप्सेका अनुसार आज खानी खोला हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ७.४२ प्रतिशतले नाफा कमाएका छन् भने हिजो पोजेटिभ सकिएल लागेको सीईडीबी हाइड्रोका लगानीकर्ताले आज सबैभन्दा बढी ६.५५ प्रतिशतले घाटा व्यहोरेका छन् । नेपाल पुनर्बीमा कम्पनीको आज उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ७७ करोड ३७ लाख ३९ हजार ९८ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

सेबोनले मंगलबार जोखिमयुक्त अवस्थामा रहेका ५१ कम्पनीको सूची सार्वजनिक गर्दै विचार गरेरमात्र लगानी गर्न सुझाव दिए पनि शेयर बजारमा तरङ्ग आएको छ । 
 

Advertisement

Advertisement