सामाजिक सुरक्षा कोषमा भारतीय र चिनियाँ बैंक सूचीकृत, दर्ता बिनाको संस्था पनि सूचीमा !

Advertisement

काठमाडौं । नेपाली बैंक तथा वित्तीय संस्था सूचीकृत हुन आकर्षित गर्न नसकेको सामाजिक सुरक्षा कोषले दुई विदेशी वित्तीय संस्था सुचीकृत गरेको पाइएको छ । सरकारले नेपालका निजी क्षेत्रका व्यवसायिक प्रतिष्ठान तथा संघसंस्थालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने गरी ल्याएको उक्त सुविधामा नेपाली कम्पनीलाई नै आकर्षण गर्न नसकको अवस्थामा दुई विदेशी कम्पनी सूचीकृत भएका छन् भने एउटाले योगदान नै गर्न सुरु गरेको छ ।

गत मंसिरमा नेपालमा प्रतिनिधि कार्यालय स्थापना गरेको भारतीय आईसीआईसीआई बैंक लिमिटेडले कोषमा सूचीकृत भएर योगदान नै गर्न थालेको छ भने एक चिनियाँ बैंक एग्रिकल्चर बैंक अफ चाइना (एबीसी) पनि सूचीकृत भएको सामाजिक सुरक्षा कोषले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

Advertisement

एबीसी सूचीकृत मात्रै भएर बसेको छ भने आईसीआईसीआईले भने एक जना कर्मचारीबाट योगदान नै सुरु गरेको छ । आईसीआईसीआईले सात लाख ४४ हजार ४६५ रुपियाँ योगदान गरेको पनि सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ ।

कोषका सूचना अधिकारी डा. रोशन कोजुका अनुसार बैंक तथा वित्तीय संस्थाका रूपमा विवरण बुझाएर सूचीकृत हुन आएका संस्थालाई सूचीमा समावेश गरिएको बताए । उनले भने, ‘आईसीआईसीआईको नेपालकै कार्यालय रहेको र यहीँका नेपाली कर्मचारी हुने र नेपालमा दर्ता भएको कार्यालय भएकोले दर्ता हुन पाएको हो’ । नेपाली श्रमिकलाई सामाजिक सुरक्षा दिने भएकोले सो संस्थालाई आवद्ध गराइएको कोजुको तर्क छ । 

उनले थपे, ‘भारतीय बैंकको नेपालमै कार्यालय भएकोले र कर्मचारी पनि रहेको हुँदा सूचीकृत भएर योगदान आउन सुरु गरेको भए पनि चिनियाँ बैंक एबीसी चाहीं कसरी सूचीकृत हुन पुग्यो ? मैले पनि अध्ययन गर्नुपर्ने हुन्छ ।’ उनले नेपालमै नभएको बैंकको नाम चिनियाँसँग मिल्ने गरी के भएर परेको रहेछ ? अध्ययन गरेर खवर गर्ने बताए । 

आईसीआईसीआईले भने थापाथलीको सेन्ट्रल बिजनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालय राखेको छ । 
नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको यो निजी क्षेत्रको पहिलो बैंक हो । यस बैंकले नेपालका बैंकहरूसँग नजिकमा रहेर काम गर्ने तथा दुई देशबीच लगानी, व्यापार, भुक्तानी र ट्रेजरी व्यापारमा सहजीकरण गर्ने काम गर्ने जनाइएको छ ।

नेपालमा नआएको चिनियाँ बैंक कसरी आवद्ध भयो ? 
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भारतीय बैंक आईसीआईसीआईले नेपालमा कार्यालय सञ्चालन गर्न अनुमति पाएको भएपनि चिनियाँ कुनै बैंकले अहिलेसम्म अनुमति नमागेको बताए । केही समय अगाडि चिनियाँ बैंक नेपाल आउने विषयमा छलफल भएको र एक दुई चरण चिनियाँ बैंक आउने विषयमा प्रस्तुतीकरण पनि भएको सुनाउँदै उनले तर अनुमति भने नपाएको बताए । 

नेपालमा दर्ता नै नभएको र आउँदै नआएको विदेशी बैंक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको विषयमा भने आफूहरूलाई पनि केही जानकारी नहुने ढकालको भनाइ छ । नेपालमा दर्ता नभएको र हुँदै नभएको यो बैंक अर्को नाममा दर्ता भएको हुनसक्ने वा कसैले आफ्नो व्यवसायिक कम्पनीको नामसँग मिल्न गएर उक्त सूचीमा परेको हुनसक्ने राष्ट्र बैंकको अनुमान छ । सामाजिक सुरक्षा कोषका अधिकारीले भने यस विषयमा अध्ययन नगरी भन्न नमिल्नै भन्दै पन्छिए ।

सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले बैंक तथा वित्तीय संस्थाको सूचीमा रहेका संस्थालाई अद्यावधिक गरेर हुर्नुपर्ने बताए । उनले भने, ‘सूचीकृत वित्तीय संस्थामा ग्लोबल बैंकसँग मर्ज भइसकेको जनता बैंक, आईसीआईसीआई र कुनै एउटा एबीसी बैंक पनि परेको छ । त्यसलाई हटाएर हेर्नुपर्ने हुन्छ ।’

सम्बन्धित समाचार

सामाजिक सुरक्षा कोषमा वित्तीय क्षेत्रबाट ९८० संस्थाका ८७६३ कर्मचारी आबद्ध, योगदान गर्ने न्यून

इच्छुकलाई मात्रै सामाजिक सुरक्षा कोषमा आवद्ध गरौंः एनबीए, अहिलेको व्यवस्थामा आउः कोष

‘बैंकका कर्मचारीको माग सम्बोधन नगरी सामाजिक सुरक्षामा आवद्ध गराउन खोज्ने रवैया ठिक भएन’

सामाजिक सुरक्षा कोषसँग बैंकर मनोज ज्ञवालीका १५ कडा प्रश्न

बैंकका कर्मचारीलाई सामाजिक सुरक्षामा आवद्ध हुन जबरजस्ती गरिए संघर्षमा जान्छौंः भट्टराई

सामाजिक सुरक्षा कोषमा नजाने बैंकलाई सरकारी कारोबार रोक्नेसम्मको कारवाहीको तयारी

सामाजिक सुरक्षामा जान काँग्रेसनिकट बैंकका कर्मचारीहरूको अवरोध, इच्छुकलाई रोक्दैनौंः एनबीए

बजेटपछि सामाजिक सुरक्षामा आवद्धता दैनिक दोब्बरले बढ्यो, एकैदिन २१४६ योगदानकर्ता थपिए

Advertisement

Advertisement