मेघेन्द्रसँग फुटबल मन्थनः मोजाको बल खेल्दाको अनुभवदेखि युरो कप ‘क्रेज’सम्म

Advertisement

काठमाडौं । खेलप्रेमीहरूलाई युरो कप २०२० ले छोएको छ । यसबाट मेघेन्द्रप्रकाश गिरि पनि अछुतो छैनन् । कर्पोरेट दुनियाँको व्यवसायिक व्यस्ततासँगै जारी युरो कपमा केही समय नदिई उनलाई सन्तोष मिल्दैन् । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कम्युनिकेशन एण्ड ब्राण्डिङ हेड रहेका गिरि खेलमा निकै रुची राख्छन् । त्यसमाथि फुटबलका साह्रै सौखिन । स्कूले जीवनदेखि नै मेघेन्द्रप्रकाश गिरि र फुटबलको नाता जोडिएको छ । ‘फूटबलसँग मेरो अटुट प्रेम छ’, उनी भन्छन् । 

Advertisement

स्कूले जीवनकालमा गिरिको पढाईसँगै फुटबल खेल्नमा उत्तिमै समय बित्यो । स्कुलमा फुटबल खेलेर हातका कापी, किताब च्यापेर घर फर्किन नपाउँदै किताब भुईंमा फालेर खेल्न उनी स्कूलतिरै दौडिन्थे । कपडाका टालाटुली खाँदेर बनाईएको मोजाको बल खेल्दाको अनुभव गिरि बिर्सिन सक्दैनन् । उनी भन्छन्, ‘मोजाको बल खेल्दा यस्तो आनन्द लाग्थ्यो कि... । अहिले पनि म त्यही आनन्द लिन फुटसल धाउने गर्छु ।’

फूटबल गिरिको सबैभन्दा मनपर्ने खेल हो । अरु खेलले उनको मनमा फुटबलको स्थान कहिल्यै लिन सकेन् । विद्यार्थी जीवनमा गिरि जिल्ला तथा क्षेत्रीयस्तरका खेल प्रतियोगिता खेल्न कहिले सुर्खेत, महिले धनगढी, कहिले नेपालगंज धाउँथे । त्यतिबेलादेखिको फुटबलको नशाले अहिलेसम्म गिरिलाई छोडेको छैन् । जारी युरो कपले पनि उनको निन्द्र बिथोलेको छ ।  

यूरो कप र मेघेन्द्र 
विश्व कपपछिको युवाहरूको आकर्षण युरो कप हुने गरेको छ । फुटबलका पारखीहरू अहिले युरो कप कस्ले हात पार्ला ? भनेर अनुमान र विश्लेषण गर्दैछन् । कर्पोरेट दुनियामा आफूलाई स्थापित गर्दै गएका मेघेन्द्रप्रकाश गिरिलाई पनि यस पटकको युरो कपको उपाधि कस्ले उचाल्ला ? भन्ने कौतुहलता बढ्दै गएको छ । 

जीवनमा सधैं नयाँ खेलाडीले जित्नु पर्छ भन्ने भावना राख्ने उनी यस पटकको युरो कप नयाँ टिमले जितोस भन्ने सदासयता राख्दैछन् । गिरि सधैं हार्न लागेका खेलाडीको पक्ष लिन्छन् र उनीहरूले जितोस भनेर कामना गर्छन् । ‘मेरो सोचाई नै त्यस्तो छ, जो हार्न लागेको छ, जो कमजोर छ, उ अघि बढोस् । यो भन्दैमा म कसैको फ्यान होइन भन्ने चाहीं होइन’, गिरि भन्छन् । 

मेघेन्द्रप्रकाश गिरि जर्मनीको फ्यान हुन भने खेलाडीमा क्रिस्टियानो रोनाल्डो । जर्मनी र क्रिस्टियानोले उनको मन जित्दै आएका छन् । तत्कालिन समयमा हिटलरले नेपालको स्वस्तिक चिन्ह जर्मनी लगेको कुराले पनि जर्मनसँग गिरिको आत्मियता बढेको हो । अहिले क्रिस्टियानो रोनाल्डो सबैको आँखाको तारो बनेकोले उनी क्रिस्टियानोको समर्थक बनेका छन् । 

म यस कारण क्रिस्टियानो रोनाइडोको फ्यान
मेघेन्द्रप्रकाश गिरिले अहिलेसम्म धेरै फूटबल म्याच हेरे । तर उनले क्रिस्टियानो रोनाल्डोको क्षमता अरुकोभन्दा फरक पाए । जता पनि र जहिले पनि गोल गर्ने क्षमता रोनाल्डोको छ । रोनाल्डोको फिटनेसबाट पनि आफू प्रभावित भएको गिरि बताउँछन् ।

क्रिस्टियानो रोनाल्डोको पक्ष लिँदै गिरि भन्छन्, ‘मध्यम वर्गीय परिवारबाट संघर्ष गर्दै विश्वकपमा पुग्न सफल उनी मेरो मात्रै होइन, विश्वको मन जित्न सफल खेलाडी हो । रोनाल्डोका पछिल्ला नयाँ दुई वटा रेर्कडले विश्व चकित भएको छ ।’ 

यूरो कप पाँच पटक खेल्ने रेकर्ड बनाएका क्रिस्टियानो रोनाल्डो सबैभन्दा बढि गोल हान्ने खेलाडी पनि हुन् । धेरै कोणबाट आफ्नो छुट्टै पहिचान बनाएकाले रोनाल्डोले गिरिको मन जितेका छन् । उनी थप्छन्, ‘फूर्तीसाथ खेल्नु, निकै छिटो छरितोपना देखाउनु र नयाँ मैदानमा नयाँ नयाँ खेलाडीलाई जित्नुले नै रोनाल्डोको लोकप्रियताको कारण हो ।’ 

यद्यपि गिरि पछिल्लो समय आएका नयाँ खेलाडीहरूप्रति पनि अनुदार छैनन् । उनी भन्छन, ‘जसले केही गर्न चाहन्छ, उसलाई सधैँ साथ दिनुपर्छ । नयाँ नयाँ खेलाडी पनि एक सय एक छन् । उनीहरूले यस पटकको युरो कपमा आफूलाई साबित गर्लान् ।’ 

नाम र ब्राण्डले फुटबलमा जस्तै कर्पोरेट क्षेत्रमा पनि निकै प्रभाव पार्ने गिरिको विश्लेषण छ । विश्व समूदाय एक हुनुपर्छ भन्ने हिटलरको नाराबाट आफू निकै प्रभावित रहेको भन्दै उनी भन्छन्, ‘हिटलरको धेरै नराम्रा टिकाटिप्पणी हुने गर्छ । चील जसरी विश्वभर जहाँ पनि पुग्नसक्छ, त्यसरी नै मानिस पनि जान पाउनुपर्छ भन्ने हिटलरको दर्शनको म समर्थक हो ।’ कुनै पनि व्यक्ति, राष्ट्र स्वतन्त्र हुनुपर्छ भन्ने गिरिको मान्यता छ । 

किन सधैं कमजोरको पक्षमा ? 
मेघेन्द्रप्रकाश गिरी सधैं कमजोरको पक्षमा रहे र रहने छन् । कमजोरको पक्षमा उभिनुका पछाडि उनको आफ्नै तर्क छ । ‘बलियोको समर्थन गर्ने, पछि लाग्ने धेरै हुन्छन् । त्यो भएकाले कमजोरको पक्षमा उभिनुपर्छ भन्ने मेरो मान्यता हो’, उनी भन्छन् । 

नाम र छवि कम भएका कम्पनीमा गएर पनि ठूलठूला सफलता हाँसिल गर्न सकिन्छ भन्ने विश्वास राख्ने उनी चलेका कम्पनीमा जाँदा व्यक्तिको क्षमता ओझेलमा पर्न पनि सक्ने तर्क गर्छन् । 

काम हुन नसेको ठाउँमा कसैले कम गर्छ भने उसको लोकप्रियता एकाएक बढ्छ भन्ने मान्यता लिएर अघि बढिरहेका गिरि भन्छन, ‘बाँझो खेतमा खेती गर्नुपर्छ अनि त्यसमा उब्जनी धेरै हुन्छ । तर पहिले नै हरियाली रहेको खेतमा कसैले अलिअलि खनिखोस्री गर्छ भने त्यसले उत्पादनमा पनि  खास असर पार्दैन र मेहनत पनि खेर जानेगर्छ ।’

सही ठाउँमा, सही ढंगले मेहनत गर्नु पर्छ भन्ने उनको मान्यता देखिन्छ । त्यो कुरा व्यवसायिक दुनियासँगै फुटबलमा पनि लागू हुने गिरि बताउँछन् । रोनाल्डोले हार्यो भनेर विपक्षी खुशी हुन नपाई अन्तिम समयमा गोल भएर गेम चेन्ज भएको उनले धेरै हेरेका छन् । अघि बढ्ने बाटो बन्द हुँदा पनि गोल गर्ने प्रयास भने निरन्तर जारी राख्नुपर्ने गिरिको भनाई छ । 

अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेर ठूलो कम्पनीको सिधै म्यानेजर बन्छु भन्ने भ्रम व्यवसायिक दुनियाँमा सहजै पूरा हुँदैन् । सरकारी विद्यालयमा अध्ययन गरेर नेपालमा नाम चलेको कम्पनीमा आफूलाई स्थापित गरेका गिरिको सबैभन्दा ठूलो विश्वविद्यालय नै संघर्ष हो । 

उनले नेपाल लाइफ इन्स्योरेन्समा काम गरेको तीन वर्ष पूरा भईसकेको छ जुन कम्पनी सात अर्ब रुपियाँभन्दा बढि चुक्ता पूँजी भएको बीमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो । नेपाल लाइफ अधिकांश सूचकहरूमा अब्बल छ । स्थापित पनि छ । बीमा क्षेत्रमा सबैभन्दा धेरै बजार हिस्सा ओगटन पनि सफल कम्पनीको ब्राण्डलाई अझै उचाईमा पुर्याउने दौडमा गिरि छन् । 

Advertisement

Advertisement