काठमाडौंमा निषेधाज्ञा खुकुलो, निजी सवारी साधन र ट्याक्सी जोरविजोर चल्न दिइने

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । यद्यपि निषेधाज्ञा खुकुलो गरिएको छ । अब थप हुने निषेधाज्ञामा निजी सवारी साधन जोरविजोरमा सञ्चालन गर्न सकिने भएको छ । 

त्यस्तै बारअनुसार पसलहरू पनि सञ्चालन गर्न पाइने काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले निर्णय गरेको छ । असार ११ गतेसम्म निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरिएको छ । 

Advertisement

जसअनुसार यसपटक निजी सवारी साधन जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बारमा चल्न दिने निर्णय भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ ।  तर अरु सार्वजनिक सवारी साधन भने अझै खुल्ला गरिएको छैन् । 

गत वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा सुरु भएको निषेधाज्ञा कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि खुकुलो बनाउँदै लगिएको हो । निषेधाज्ञाले न्यून आयस्तरका मानिसलाई जीवनयापन गर्न निकै कठिनाई भएको र उद्योग व्यवसाय चौपटक भएको भन्दै यसलाई हटाएर स्वास्थ्य सुरक्षाको वैकल्पिक उपाय अपनाउन निजी क्षेत्रले माग गर्दै आएको थियो । 
 
जसअनुसार उपत्यका प्रशासनले व्यवसाय सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थपेको छ । नयाँ व्यवस्थाअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय,  घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् भने अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।

Advertisement

Advertisement