बैंकका कर्मचारीलाई सवा सात अर्बको बोनस व्यवस्था, कुन बैंकले कति बाँड्लान ?

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई आठ अर्ब २१ करोड ९० लाख रुपियाँ बोनस दिन रकम छुट्याएका छन् । कर्मचारी बोनस प्रोभिजनअन्तर्गत वाणिज्य बैंकहरूको मात्रै सवा सात अर्ब प्रोभिजन गरेका छन् भने एक अर्ब रुपियाँ विकास बैंक र वित्त कम्पनीहरूको रहेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको वैशाख २०७८ सम्मको तथ्यांकअनुसार वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनीले आफ्ना कर्मचारीका लागि बोनसको प्रोभिजन गरेको हुन् । वैशाखसम्मको यस्तो कर्मचारी बोनस प्रोभिजनमा २७ मध्ये २४ वाणिज्य बैंकको मात्रै सात अर्ब २४ करोड ४९ लाख रुपियाँ छ । यस्तो रकम प्रोभिजन वाणिज्य बैंकको गत वर्ष २०७७ को वैशाखमा छ अर्ब ३३ करोड ४५ लाख रुपियाँ रहेको थियो । 

Advertisement

बैंकहरूले बाँड्न पाउने बोनस भने आगामी साउनपछि मात्रै टुङ्गो लाग्ने छ । असारपछि बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गर्ने वासलतका आधारमा कुन बैंकका कर्मचारीले कति बोनस पाउने छन ? भन्ने वास्तविक आकार आउने छ । अहिलेका लागि भने यो बोनस प्रोभिजन मात्रै भएको बैंकहरूले बताएका छन् । उनीहरूका अनुसार कर्मचारीले पाउने बोनस अहिले प्रोभिजन गरिएकै हाराहारीमा हुने भएकोले खासै घटबढ हुँदैन् । 

कर्मचारीलाई बोनस प्रोभिजन नगर्नेमा तीनवटा वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक र सेन्चुरी बैंक छन् । यी तीन बैंकले गत वर्षको वैशाखमा सार्वजनिक गरिएको तथ्यांकमा पनि प्रोभिजन नगरी राष्ट्र बैंकलाई अन्य विवरण मात्रै पठाएको पाइएको छ ।

नेपाल बैंकर्स एशोसियशनका अध्यक्ष भुवन दाहालका अनुसार कर्मचारीलाई छुट्याउनुपर्ने यस्तो प्रोभिजन राख्नैपर्ने भए पनि तीन वटा बैंकले छुटाएर विवरण पठाएको बताए । उनले राष्ट्र बैंकले राख्नैपर्ने बाध्यकारी व्यवस्था गरेको र अरुले राखिरहेको यो प्रोभिजन यी तीन बैंकले पनि राख्नैपर्ने बताए । 

अहिले पठाइएको विवरण अन्तिम नभएको र यसैका आधारमा आगामी दुई महिनापछि यसलाई अन्तिम रूप दिनुपर्ने भएकाले पनि यो प्रोभिजन राख्नुपर्ने दाहालले बताए । 

विकास बैंकको ७५ करोड ५० लाख
विकास बैंकहरूले पनि कर्मचारीलाई दिनुपर्ने यस्तो रकम ७५ करोड ५० लाख रुपियाँ प्रोभिजन गरेका छन् । विकास बैंकहरूले छुट्याएको यस्तो रकम गत वर्ष वैशाखमा ६६ करोड ६० लाख रुपियाँ थियो ।

राष्ट्र बैंकका अनुसार हाल अस्तित्वमा हरेका विकास बैंकको संख्या १८ वटा रहेका छन् । यी विकास बैंकमा पनि आठ वटा राष्ट्रियस्तरका छन् भने बाँकी १० वटा क्षेत्रीयस्तरका विकास बैंक छन् । राष्ट्रियस्तरका विकास बैंकमा मुक्तिनाथ, गरिमा, ज्योति, कामना सेवा, साइन रेसुङ्गा, महालक्ष्मी, लुम्बिनी र सांग्रिला विकास बैंक रहेका छन् । बाँकी १० वटा विकास बैंक भने क्षेत्रीयस्तरका विकास बैंकका रूपमा कार्यरत छन् ।

वित्त कम्पनीले कर्मचारीलाई गरेको बोनस प्रोभिजन भने २१ करोड ९० लाख रुपियाँ रहेको छ । यस्तो रकम गत वर्ष जम्मा पाँच करोड तीन लाख रुपियाँ मात्रै थियो । यो गत वर्षको तुलनामा करिब १८ करोड रुपियाँले बढि हो । हाल वित्त कम्पनीको संख्या २० वटा रहेको छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार बैंकहरूले गरेको कर्मचारीका लागि बोनसको प्रावधान सम्बन्धित संस्थाले गर्ने नाफाका आधारमा थपघट हुन्छ । वैशाखसम्म नाफा गरेको संस्था जेठ र असारको तथ्यांक सार्वजनिक गर्दा घाटामा पनि जान सक्छन् । संस्थाले नाफा गरेर नाफा बाँड्न पाइन्छ भने घाटा हुनेको कम वा नराख्न पनि सक्छ । संस्थाले नाफा गरेको अवस्थामा भने बोनस ऐनले दिएको व्यवस्था अनुसार नाफा बाँड्न सक्ने हुन्छ । 

Advertisement

Advertisement