अमेरिका-उत्तर कोरिया वार्ता प्रयासः सकारात्मक जवाफ प्राप्त हुने अमेरिकी विश्वास

Advertisement

सियोल । उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् ।  

उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै गर्नेगरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

Advertisement

उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ किम यतिबेला सियोलमा छन् । खासगरी, उत्तर कोरियाली आणविक कार्यक्रम र अमेरिकी अग्रसरतामा उत्तर कोरियामाथि लागेका प्रतिबन्धका बारेमा वार्ताहरु केन्द्रित भएका छन् ।

गत साता प्योङयाङमा आयोजित उत्तर कोरियाली राजनीतिक सम्मेलनमा नेता किम जङ अनले देशको अर्थतन्त्रमा सुधार ल्याउन सुदृढ प्रयास थाल्न आह्वान गरेका थिए । अमेरिकी अग्रसरतामा लागेका प्रतिबन्धका कारण सङ्कट व्यहोरिरहेको उत्तर कोरियाको अर्थतन्त्र कोरोनाभाइरस महामारीका कारण गरिएको सीमाबन्दी र खाद्यान्न अभावले अझ सङ्कटमा परेको छ ।
 
अमेरिकी विशेषदूत सुङ किमले उत्तर कोरियाली नेताका टिप्पणीलाई आफूहरुले “नोट” गरेको बताउँदै वार्ताका लागि गरिएको आग्रहलाई उत्तर कोरियाले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरे । दक्षिण कोरियाली र जापानी आणविक निशस्त्र सम्बन्धी कुटनीतिज्ञसँगको भेटवार्तापछि किमले भने, “हामीहरुले वार्ताका लागि कुनै पूर्वशर्त राखेका छैनौं । हामीहरु कुनै पनि ठाउँमा, कुनै पनि समयमा वार्ताका लागि तयार छौं ।” 

दक्षिण कोरियाली विदेश मन्त्रालयले तीनै देशका वरिष्ट अधिकारीहरुले सामूहिक रुपमा उत्तर कोरियालाई वार्ताका लागि सन्देश दिएको जनाएको छ । उत्तर कोरियाली नेता किम जङ अन र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा वार्ता भङ्ग भएयता ठोस वार्ता भएका छैनन् । उक्त वार्ताहरुमा नेता किमले आफ्नो देशमाथि लागेका अधिकांश प्रतिबन्धहरु फुकुवा हुने आशा गरे पनि त्यसलाई अमेरिकाले अस्वीकार गरिदिएको थियो ।

दक्षिण कोरियाले अन्तर–कोरियाली संयन्त्रलाई पुनः सक्रिय बनाउन कुटनीतिक पहल सार्थक हुने विश्वास गरिरहेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले पूर्व राष्ट्रपति ट्रम्पको झैं सोझै वार्ताको साटो मध्यवर्ती विधिमा जोड दिएको छ । रासस-एपी

Advertisement

Advertisement