Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले आफू आउनुअघि नै बीमा क्षेत्रमा धेरै विकृति रहेको बताउँदै आफूले यसलाई अन्त्य गर्ने दावी गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नियामन निकायको कमजोरीका कारण बीमा क्षेत्रमा बेथिति रहँदै आएको भन्दै अब बीमा समितिले अब त्यो कमजोरी नगर्ने बताए । 

सिलवालले आफ्नो कार्यकाल सुरू भएकाले निकै  छोटो अवधिमा नै बीमा क्षेत्रको धेरै विकृति कम भएको दाबी गरे । सिलवालले कम्पनीले पनि बीमामा रहेका कानुनी कमजोरीको फाइदा उठाउँदै आएको खुलासा गरे । 

Advertisement

सोहीकारण अहिले आफूले बीमा क्षेत्रमा कानुनीरूपमा कडाई गर्दै गएको उनले बताए । सिलवालले अहिले आफ्नो टेबलमा आएको फाइल भोलिपल्टसम्म नबस्ने गरेको पनि सुनाए । उनले भने, ‘हेर्नुहोस ! मेरो टेबलमा कुनै फाइल छ ? आज आयो भने आजै सल्टिन्छ ।’

विगतमा नियमसंगत काम नगरेका कम्पनीलाई पनि आफूले कडाई गर्ने सही बाटोमा ल्याउने बताउँदै कानुनमा कमजोरी भए निर्देशिका संशोधन गर्ने र कानुन ठिक छ भने सबैले त्यसलाई समानरूपमा मान्नुपर्ने उनले बताए ।

बीमा समितिले अहिले तत्काल नयाँ कम्पनीका लागि लाइसेन्स दिन कुनै छलफल नगरेको पनि सिलवालले स्पष्ट पारे । पछिल्लो समय हिमालयन पुनर्बीमा कम्पनीको लाइसेन्स मिलेमतोमा दिइएको भन्ने आरोपको पनि उनले खण्डन गरे । कसैले मिलेमतोमा लाइसेन्स दिएको कुराप्रति आक्रोसित हुँदै आरोप लगाउनेलाई प्रमाण पुर्याएर बोल्न चेतावनी दिए । 

बीमा अभिकर्ताको कुरा गर्दा सिलवाल एकाएक आक्रोसित पनि भए । अभिकर्ताहरूले कम्पनीहरूले लिएको ऋण यथासिघ्र असुलउपर गराउन निर्देशन दिएसँगै अभिकर्ताहरूले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए । अभिकर्ताको चेतवनीपछि समिति निर्णयबाट पछि हटेको थियो । 

सिलवालले अभिकर्ताको अहित गर्ने कुनै काम नगरेको बताए । उनले अभिकर्ताहरू संस्थागतरुपमा पनि अघि बढ्न बाटो खुलेको बताए । साथै, सिलवालले अभिकर्ताका लागि आफैले तालिमको व्यवस्था गर्ने पनि बताए । कोरोना महामारीको संकट केही कम हुँदै गएमा आगामी आर्थिक वर्षबाटै यस्तो तालिम सञ्चालन गरिने उनको भनाई छ । 

मर्जरका लागि केही बीमा कम्पनीले तयारी गरेको र गाभ्ने, गाभिने निर्देशिकाको बाटो अपनाएर कम्पनीहरू मर्जरमा जानसक्ने अध्यक्ष सिलवालको भनाई छ । उनले अहिलेको अवस्थामा दुई–तीन वटा बीमा कम्पनी मर्जरमा जाँदा राम्रो हुने बताए । बीमा समितिले आफ्नो निगरानी कमजोर बनाएमा कम्पनीले मनोमानी गर्ने भएकाले आफूहरूले कडाई गर्ने बताए । बीमा भनेको जनताको पैसासँग सम्बन्धित हुने भएकाले कम्पनीले त्यसमा खेलवाड गर्न नहुने उनको भनाई छ । थप कुराकानी भिडियोमा हेर्नुहोस्ः

Advertisement

Advertisement