‘अन्डरराईटिङ’मा धेरै ठूलो समस्या रहेको भन्दै बीमालेखको नयाँ गाइडलाईन ल्याउने तयारी

Advertisement

काठमाडौं । बीमा समितिले बीमालेखको गाइडलाईन परिवर्तन गर्ने भएको छ । समितिले बीमालेखमा रहेको केही कमजोरीको कारण बीमा क्षेत्र धमिलो बनिरहेको भन्दै गाइडलाईन परिवर्तनको तयारी गरेको हो । 

बीमा समितिका अध्यक्ष सूर्य सिलवालका अनुसार बीमालेखकै कमजोरीका कारण बीमाको ‘अण्डरराइटिङ’मा समस्या देखिने गरेको छ । ‘अण्डरराइटिङ’ सही ढंगबाट नहुँदा आर्थिक अवस्था कमजोर भएका जनता बीमाबाट राहत पाउनुको साटो झन मारमा परेको उनको भनाई छ । 

Advertisement

सिलवाल भन्छन, ‘अहिले बीमा कम्पनीले ‘अण्डरराइटिङ’ गर्दा कमजोरी हुने गरेको छ । किनभने बीमा कम्पनीले ‘अण्डरराइटिङ’ गराएर जीवन बीमा गराए पनि बीमा गरेको केही महिना भित्रै घातक रोग लागेर बीमितको मृत्यु हुने गर्छ ।’

जीवन बीमा गरेको केही महिनाभित्रै बीमितको मृत्यु भएमा भुक्तानी पाउनुपर्ने कुरा सामान्य भए पनि दीर्घ रोग लागेका बिरामीको पनि बीमा हुने कानुनी कमजोरी हटाउनु पर्ने सिलवालको भनाई छ ।

उनले दुवै मृर्गौलाले काम गर्न छाडेका बिमारीको समेत बीमा गर्न मिल्ने कानुनी कमजोरीलाई औल्याएका छन् । त्यस्ता बिरामीको बीमा गर्दा केही महिनाभित्रै बीमा कम्पनीले ठूलो रकम भुक्तानी गर्नुपर्छ । सकारात्मक बाटोमा हिड्नेलाई प्रेरणा दिन तथा नकारात्मक बाटो अँगाल्नेलाई सिधैं कारबाही गर्ने सिलवालको भनाई छ ।

उनले बीमाका विविध विषयलाई बीमालेख सम्बन्धी परिवर्तित गाइडलाइनले समेटने बताए । सबै समस्यालाई समावेश गर्न मिल्ने किसिमले आफूहरूले बीमालेख सम्बन्धी गाइडलाइन ल्याउन लागेको सिलवालको भनाई छ । सबै कम्पनीको लागि समान व्यवहार गर्दा भोलि कुनै पनि कम्पनीले समितिमाथि पनि गुनासो गर्ने ठाउँ नरहने उनले बताए । 

सिलवाल भन्छन्, ‘अहिले ‘अण्डरराइटिङ’मा ठूलो समस्या छ, यस्तो हुनुहुँदैन । अभिकर्ताको तालिममा कमी हुँदा त्यसले ‘अण्डरराइटिङ’मा सिधा असर पारेको हो । कोही मान्छे बिरामी छ भने बीमा गर्ने कागजमा छैन भनेर लेखे पनि बिमारी नै हुन्छ । त्यसैले घातक रोग लागेका बिरामीलाई केही पनि भएको छैन भनेर बीमा गर्ने गरिन्छ । क्षयरोगले अन्तिम अवस्थामा पुर्याएको बिरामीको पनि कम्पनीले बीमा गर्ने गरेका छन् । त्यस्ता बिरामीको बीमा गरेको तीनदेखि छ महिनामा मृत्यु हुने गरेको छ ।’

‘अण्डरराइटिङ’ गराउनेसँग पनि बीमा समिति पुग्ने सिलवालले बताए । बीमा कम्पनीको ‘अण्डरराइटिङ’ गर्ने, दाबी–भुक्तानी गर्ने विभागसँग बसेर आफूहरूले यस समस्याबारे छलफल गरी निकास निकाल्ने तयारी गरिरहेको बताउँदै अध्यक्ष सिलवालले बीमा ‘अण्डरराइटिङ’ र दाबी भुक्तानीका समस्या चाडै नै समाधान हुने जिकिर गरे । 

Advertisement

Advertisement