पेन्सन कोषको १ अर्ब ५ करोड रुपियाँ मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेन्सन कोषमा भएको १ अर्ब पाँच करोड रुपियाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले कर्मचारी उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ५ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ३६६ दिन अवधिको लागि लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १५ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ५ करोड २५ लाख रुपैयाँ गरी कूल १ अर्ब ५ करोड रुपैयाँ लगानी गर्न लागेको जनाएको छ ।

Advertisement

बैंकले उक्त रकम २०७८ असार २१ गतेदेखि २०७९ असार २१ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो । राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी असार ९ गतेसम्ममा बोलकबोल पेश गनुपर्नेछ । 

यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ।

त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने छ । खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने छ ।  कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने छ । 

शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने छ । समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ ।
 

Advertisement

Advertisement