राष्ट्रिय बीमा कम्पनीको सेयरमा ‘इन्साइडर ट्रेडिङ’ भयोः समिति, छानबिन गर्दा हुन्छः कम्पनी

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सेयरमा ‘इन्साइडर ट्रेडिङ’ हुने गरेको बीमा समितिले आरोप लगाएको छ । समितिका एक उच्च अधिकारीले यस्तो ‘इन्साइडर ट्रेडिङ’मा  कम्पनीकै कर्मचारीहरूको संलग्नता हुने गरेको खुलासा गरेका हुन् । 

समिति स्रोतले कर्पोरेट नेपालसँग भन्यो, ‘राष्ट्रिय बीमा कम्पनीको सेयर भाउ २१–२२ हजारसम्म पुग्नुपर्ने गरी आकाशिनुपर्ने खासै कारण छैन् । ‘इन्साइडर ट्रेडिङ’बाटै लगानीकर्ता लोभ्याउने काम भइरहेको छ । यसमा कम्पनीकै कर्मचारीहरू संलग्न देखिन्छन् ।’

Advertisement

साधारणसभा नभएको झण्डै एक दशक पुग्न लाग्दासमेत हिसाव किताव मिलाउन नसक्दा सभा गर्न नसकेको यस कम्पनीले चौतर्फी दबाबपछि बल्ल साधारणसभा गर्न कस्सिएको छ । समितिले पटक पटक निर्देशन दिँदा आनाकानी गर्दै आएको कम्पनीलाई अर्थ मन्त्रालय र महालेखापरीक्षकको कार्यालयले पत्रै लेखेपछि बल्ल सभा गर्न कम्पनीले चासो दिएको हो । 

बीमा समितिले चरणवद्धरुपमा साधारणसभा गर्ने हो भने नगद प्रवाह हुने गरी लगानीकर्तालाई मुनाफा नदिन कम्पनीलाई भनेको छ । तर कम्पनीले भने बोनस सेयर वा नगद लाभांश, जुन मोडल अपनाउँदा उचित हुन्छ, त्यो गर्ने जवाफ दिएको छ । कम्पनीले आकर्षक बोनस सेयर दिने लोभले पनि लगानीकर्ता केही लोभिएको देखिन्छ । तर जुन ढंगले मूल्य आकाशिएको छ, त्यो अस्वाभाविक भन्दै समितिका अधिकारीले यसको कारण ‘इन्साइडर ट्रेडिङ’ भएको बताएको छ । 

ती अधिकारीले बाहिरी हल्लाको पछि लागेर मात्रै नभई यथार्थ बुझेर मात्रै राष्ट्रिय बीमा कम्पनीको सेयरमा लगानी गर्न लगानीकर्तालाई सचेत गराए । उनले भने, ‘बीमा समितिले राष्ट्रिय बीमा कम्पनीको साधारण सभा गर्न बाटो खोल्योभन्दा सेयर बजार बढ्ने परिपाटी हाम्रोमा छ । तर लगानीकर्ताले आधिकारीक सूचनालाई मात्रै आधार बनाएर लगानी गर्नुपर्छ ।’ सेयर बजारका ठूला खेलाडीलाई धेरथोर सेयर घटबढ गर्दा खासै असर नगर्ने भए पनि साना र नयाँ लगानीकर्तालाई भने आत्महत्याकोसम्म अवस्था आउनसक्छ । 


कम्पनीको सेयर भाउ अहिले प्रतकित्ता २१ हजार ८५० रूपियाँ रहेको र त्यसलाई ह्वात्तै बढाएमा साधारण लगानीकर्तालाई मार पर्ने देखिन्छ । तत्कालका लागि राष्ट्रिय बीमा कम्पनीले सेयर लगानीकर्तालाई राम्रो प्रतिफल दिन सम्भव पनि नरहेको समितिको भनाई छ । पछिल्लो समय धितोपत्र बोर्डले सार्वजनिक गरेका ५१ वटा कम्पनीको सूचीमा राष्ट्रिय बीमा कम्पनी पनि परेको छ । 

समिति स्रोतले भन्यो, ‘हामीले राष्ट्रिय बीमा कम्पनीको क्यास फ्लो रोकेका छौं । डिभिडेन्ट नबाँड्नु भनेका छौं । यस्तो अवस्थामा लगानीकर्तालाई भ्रम सिर्जना हुने किसिमले समितिले साधारण सभाका लागि बाटो खोलेको विषयलाई बढुवा दिनु उपयुक्त होइन । अप्रत्यासितरूपमा सेयरको भाउ बढ्नु पनि डरलाग्दो कुरा हो । त्यस्ता नाफा दुई–चार जना मात्र मान्छेले खाने हुन् । अहिले त बीमा कम्पनीको सेयरमा विशेष गरेर कर्मचारीहरू नै लागेका छन् ।’

राष्ट्रिय बीमा कम्पनी के भन्छ ? 
राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुवाश कोइरालाले बीमा समितिलाई कम्पनीको कर्मचारीले ‘इन्साइडर ट्रेडिङ’ गरेको हो कि ? भनेर कुनै शंका नमान्न आग्रह गरे ।

उनले कर्पोरेट नेपालसँग भने,‘ अहिले हाम्रोमा एक करोड रूपियाँ हाल्ने हैसित भएका कर्मचारी कोही पनि छ्रैन् । एक करोड रूपियाँमा कम्पनीको जम्मा तीन, चार सय कित्ता सेयर आउँछ । अब त्यति सेयर मात्रै त सेयर कर्नरिङ पनि हुँदैन ।’

कोइरालाले समितिले माग गरेको खण्डमा आफूहरूले क– कस्को नाममा कति कति कित्ता सेयर छ ? भन्ने सूचना समेत दिन तयार रहेको बताए । अहिले बहालवाला कर्मचारीमध्ये कसैसँग पनि एक सय, दुई सय, तीन सय कित्तासम्म राष्ट्रिय बीमा कम्पनीको सेयर नभएको उनले जिकिर गरे । 

राष्ट्रिय बीमा कम्पनीका कर्मचारीले ‘इन्साइडर ट्रेडिङ’ गर्छन्, सेयर कर्नरिङ गर्छन् भन्नुभन्दा पनि नियामक निकाय (बीमा समिति)ले ‘तपाईंहरूको सेयर लागत दिनुस््’ भनेर माग गरेमा आफूहरू दिन तयार रहेको कोईरालाले बताए ।

उनले थपे, ‘सेयर कर्नरिङ गर्नसक्ने हैसियत कुनै पनि कर्मचारीको छ्रैन ।’ कम्पनीले भने नियामक निकायले केही संकेत पाएको भए पूर्वकर्मचारीहरू यसमा संलग्न हुनसक्ने बताएको छ । सय रूपियाँको सेयर २२ हजार रुपियाँ पुग्नुले लगानीकर्ता र सेयर बजारमा मात्र नभई आफूहरू पनि आश्चर्य लाग्ने गरेको कम्पनीका कर्मचारी बताउँछन् । 

Advertisement

Advertisement