विपक्षी गठवन्धनको चिन्ताः गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता गुम्न लाग्यो

Advertisement

काठमाडौं । विपक्षी गठबन्धनले अहिलेको राजनीतिक उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको भन्दै मंगलबार संयुक्त वक्तव्य जारी गरेको छ । विपक्षी मोर्चाका पाँच नेताले सही गरेको विज्ञप्तिमा जनताको संघर्षबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासहितको उपलब्धी गुम्ने खतरा भएकाले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका हुन् । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव नेपाल, जनता समाजवादी पार्टीको यादव समूहका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षर भएको संयुक्त वक्तव्यमा स्वतन्त्र न्यायपालिका र निर्वाचन आयोगलाई धम्क्याएर प्रभावित पार्न खोजिएको आरोप लगाइएको छ ।

Advertisement

वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका छन् । नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्ने हुन् कि ? भन्ने खतरा उत्पन्न भएको छ ।’

गठबन्धनका नेताहरूले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र भइरहेको टिप्पणी समेत गरेका छन् । 

Advertisement

Advertisement