महामारीपछि एयर एम्बुलेन्सको प्रयोग बढ्यो, ६ महिनामै एम्बुलेन्स फ्लाइट दोब्बर

Advertisement

काठमाडौं । कोरोना महामारीसँगै नेपालमा अन्तर्राष्ट्रिय गन्तव्यबाट भएको एयर एम्बुलेन्स सेवा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०२० को एक वर्षको तुलनामा सन् २०२१ को ६ महिनामा नै एयर एम्बुलेन्सको प्रयोग दोब्बर भएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार सन् २०२० को एक वर्षमा जम्मा ६ वटा अन्तर्राष्ट्रिय उडानमा एयर एम्बुलेन्सको प्रयोग भएको थियो भने सन् २०२१ को ६ महिनामा नै यस्तो संख्या दोब्बर भन्दा बढीले बढेर १३ वटा पुगेको छ । प्राधिकरणका अनुसार सन् २०२० को एक वर्षको तुलनामा सन् २०२१ को पहिलो ६ महिनामा भएको यस्तो एयर एम्बुलेन्स सेवा सत् प्रतिशत भन्दा बढी भएको देखिन्छ ।

Advertisement

तथ्यांक अनुसार विश्वव्यापी महामारी पछि नेपालमा विदेशी नागरिक विरामी हुने र सम्बन्धित देशले एयर एम्बुलेन्स माग गरेर नागरिकलाई लैजाने क्रम बढेको देखिन्छ । नेपालमा भएको यस्तो एयर एम्बुलेन्समा सबैभन्दा बढी भारतबाट भएको छ । भारतका लागि सात वटा एयर एम्बुलेन्स उडान भएको छ ।

नेपालबाट यात्रु लैजान प्रयोग भएको यस्तो एयर एम्बुलेन्स उडानमा तुर्कमिनिस्तान, थाइल्याण्ड, यूएई, भियतनाम, न्यूजिल्याण्ड, जर्जिया, म्यानमार र फिनल्याण्डसम्म भएको देखिन्छ । विदेशी नागरिक नेपालमा रहेको अवस्थमा अस्वस्थ्य हुँदा यात्रु तथा सम्बन्धित देशकै पहलमा नागरिक लगेको हुनसक्ने अनुमान नेपाल नागरिक उड्डयन प्राधिकरणको छ ।

नियमित उडान भएको वेला अधिकांश यात्रुले नियमित उडान नै प्रयोग गर्ने गरेका छन् । चार्टर उडान महंगो हुने हुन्छ । त्यसमा पनि एयर एम्बुलेन्स चार्टरभन्दा पनि महंगोपर्ने भएपनि यस्तो उडान भने भइरहेकै तथ्यांकले देखाउँछ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपालमा एयर एम्बुलेन्सको अनुमति चाहियो भनेर मागेपछि र प्रयोजन खुलाएर प्रक्रिया पुराएका वायुसेवालाई अनुमति दिइने गरिएको छ । यस्तो उडानमा कुन नागरिकलाई सेवा दिन्छ र कसले चार्टर गरेको हो भन्ने विषयमा भने प्राधिरकरणले विस्तृतमा अध्ययन नगर्ने पनि प्रवक्ता क्षेत्रीले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापवाबु तिवारीका अनुसार नेपालको आन्तरिक उडानमा हेलिकप्टर नै प्रयोग हुन्छ । हेलिले चार्टर वा आकस्मिक उद्धार उडानको अनुमति मागको हुन्छ । सोही अनुसार विरामीको उद्धार हुने गरेको छ । नेपालमा भने सामान्यतया मेडिकल उडानमा जहाजकै प्रयोग भने हुँदैन् । हेलिकप्टर छिटो र सहज तथा तुलनात्मक रूपमा एफोर्टेबल भएकोले पनि उद्धार गर्नुपर्ने नेपालीले हेलि नै रुचाउने गरेका छन् ।

अन्तर्राष्ट्रिय उडानमा भने जहाज नै चार्टर गरेर विदेशीले आफ्ना विरामी नागरिक तथा आकस्मिक मेडिकल उद्धार उडानको अनुमति लिने गरेको छ । यस्तो अनुमति लिएका वायुसेवा एउटा देशको वायुसेवालाई अर्को देशमा लैजान पनि पाइन्छ । यात्रुको चाहना अनुसार जुन वायुसेवाले अनुमति मागेपछि सजिलै अनुमति भने पाइरहेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

Advertisement

Advertisement