निर्यात ३७ प्रतिशतले बढेर सवा खर्ब नजिक, आयात नघट्दा २४ प्रतिशतले व्यापार घाटा बढ्यो

Advertisement

काठमाडौं । नेपालबाट निर्याय हुने बस्तु पहिलो पटक सवा खर्ब नजिक पुगेको छ । सरकारले दशक अगाडि राखेको निर्यात एक खर्ब रुपियाँ पुर्याउने लक्ष्य यो वर्ष मात्रै पुग्न सकेको छ । गत महिना एक खर्ब नाघेको निर्यात चालू आर्थिक वर्षको ११ महिनामा एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपियाँ पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

विभागले ९ असार (बुधबार) सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालबाट भएको निर्यात गत वर्षको जेठसम्मको तुलनामा ३७.७८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ८८ अर्ब ३१ लाख १० हजार रुपियाँको मात्रै थियो । नेपालबाट निर्यात हुने वस्तुले पहिलो पटक एक खर्ब माथिको लक्ष्य भेट्याउन सकेको हो ।

Advertisement

नेपालबाट हुने निर्यात चालू आवको ११ महिनामा ३७ प्रतिशत बढेको देखिए तापनि आयात नघटेका कारण नेपालको व्यपार घाटा भने २४.६१ प्रतिशत रहेको छ । नेपालमा विभिन्न मुलुकबाट चालू आवको ११ महिनामा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपियाँको वस्तु तथा सेवाको आयात भएको छ ।

निषेधाज्ञामा पनि नेपालमा हुने वस्तु तथा सेवाको आयात नरोकिएका कारण गत वर्षको ११ महिनाको तुलनामो यो वर्षको सोही अवधिमा आयात २५.६७ प्रतिशतले बढेको छ । गत वर्ष यस अवधिसम्ममा नेपालमा आयात हुने वस्तु तथा सेवाको आयात ११ खर्ब ८१ करोड ३४ लाख २० हजार रुपियाँको थियो ।

गत वर्ष जेठसम्मको तुलनामा यो वर्ष व्यापार घाटा २४.६१ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड नौ लाख ६५ हजार पुगेको छ । यस्तो व्यापार घाटा गत वर्ष यो अवधिसम्ममा १० खर्ब १२ अर्ब ८१ करोड तीन लाख १० हजार रुपियाँ रहेको पनि तथ्यांकले देखाएको छ ।

यो अवधिसम्ममा नेपालमा कुल वैदेशिक व्यापार भने १५ खर्ब चार अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपियाँको छ । यस्तो वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनमा २६.५६ प्रतिशतले बढेको पनि तथ्यांकले देखाएको छ । गत वर्ष यो अवधिसम्ममा कुल वैदेशिक व्यापार ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख ३० हजार रुपियाँको थियो ।

कुल व्यापार निर्यातको हिस्सा ८.८६ प्रतिशत मात्रै रहेको छ । कुल व्यापारमा आयातको हिस्सा गत वर्ष ९२.६० प्रतिशत रहेकोमा यो वर्ष जम्मा ०.७१ प्रतिशतले घटेर ९१.९४ प्रतिशत रहेको पनि भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

 


 

Advertisement

Advertisement