बीस प्रतिशत खाना कम खानुस्, बीमा गर्नुस्ः कर्ण, बीमा गर्नेलाई मर्ने बेलामा शान्ति मिल्ने

काठमाडौं । मनोजकुमारलाल कर्ण युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । पच्चिस वर्षअघि जुनियर एसिस्टेन्टको रूपमा बीमा क्षेत्रमा प्रवेश गरेका उनले विभिन्न कम्पनीको अनुभव सम्हाल्दै अहिले युनियन लाइफको व्यवस्थापनको नेतृत्व गर्न सफल भएका छन् । यो कर्णको छैटौं बीमा कम्पनी हो । निर्जीवन बीमा कम्पनीमा १२ वर्ष र जीवन बीमा कम्पनीमा उनले १५ वर्ष बिताएका छन् । जुनियर एसिस्टेन्ट तहमा काम गर्न सुरु गर्दा आफूलाई सीईओ बन्छु भन्ने नसोचेको कर्ण अनुभव सुनाउँछन् । तर जीवनमा केही गर्नुपर्छ भन्ने उनलाई लाग्थ्यो । साधारण सेयर (आईपीओ) निष्काशनको तयारीमा रहेको युनियन लाइफका सीईओ कर्णसँग गरिएको अन्तरवार्ता प्रस्तुत छः 

अहिले जीवन बीमा कम्पनीहरू मर्जरमा जाने सम्भावना के–कस्तो रहेको छ ?
बीमा कम्पनीहरू मर्जरमा जाने सम्भवना धेरै छ । अझ जीवन बीमा कम्पनीहरू त मर्जरमा जानैपर्छ । किनभने बजारमा १९ वटा जीवन बीमा कम्पनी छन् र यो संख्या धेरै हो । छिमेकी राष्ट्र भारतमा जम्मा २३ वटा कम्पनी छन् । त्यहाँ एक सय ३५ करोड जनसंख्या रहेको छ ।

नेपालमा चाहीं तीन करोड जनसंख्यामा १९ वटा कम्पनीहरू हुनु भनेको त बिडम्बना हो । नेपाललाई १० वटा बीमा कम्पनी भए पुग्छ । एघार वटा बीमा कम्पनी भयो भने पनि त्यो धेरै हुन्छ । अहिले बीमा कम्पनीको संख्या धेरै भएका कारण सरेण्डरको मात्रा बढिरहेको छ । एउटा कम्पनीको कर्मचारी र अभिकर्ता पनि अर्को कम्पनीमा आउँ जाउँ गरिरहेका छन् । 

बीमा गरिसकेकालाई सरेण्डर गराउने र फेरि बीमा गराउने प्रवृत्ति बढिरहेको छ । त्यस्ता कार्यमा अभिकर्ताको संलग्नता छ । यो सरेण्डर किन भईरहेको छ ? भन्ने कुराको चाँडै निचोडमा जानुपर्छ । बीमा कम्पनी अरु थपिएमा सरेण्डर धेरै बढ्छ । अझै पनि सरेण्डर भइरहेमा बीमा कम्पनीहरूले जवाफदेही हुने ठाउँ पनि रहँदैन । यो समस्या तत्काल रोक्न पनि सम्भव छैन् । एउटा कम्पनीको अभिकर्ता अर्को कम्पनीमा गएर बीमा गर्दा नै यस्तो समस्या सिर्जना भएको हो । सबै अभिकर्ताले त्यस्तो गर्छन् भन्न खोजेको त होइन । तर पनि त्यस्ता विकृतिले गर्दा सरेण्डर बढिरहेको छ ।

एकैचोटी हामीले २७ बाट ४०–५० प्रतिशत पहुँच बनाउँला । तर त्यसका नकारात्मक पाटो पनि हामीले हेर्न जरूरी छ । अबको दुई–चार वर्षमा कम्पनी मर्जरमा जान जरूरी छ ।

कोरोना महामारीले जीवन बीमा व्यवसायलाई कस्तो प्रभाव पार्यो ?
हामीलाई प्रत्यक्ष असर पारेको छ । कोरोना महामारीले अरू कम्पनीलाई जस्तै हामीलाई पनि असर पारेको छ । अहिले कोरोना महामारीका कारण बीमितको मृत्यु भएको छ । सोहीकारण धमाधम भुक्तानी गरिरहेका छौं । युनियन लाइफमै कोरोनाबाटै मृत्यु भएका बीमितको संख्या १० जना पुगेको छ । अघिल्लो पटक भने एउटा पनि कोरोनाको मृत्यु दाबी परेको थिएन ।

नयाँ र नौला किसिमका अभ्यास सुरूवात गर्न युनियन लाइफ माहिर कम्पनीको रूपमा चिनिदै आएको छ । नयाँ कम्पनीका चुनौतिहरू के–के छन् ?
पक्कै पनि नयाँ कम्पनीका केही चुनौतीहरू छन् । अहिले नयाँ कम्पनीमा जनशक्तिको अभाव छ । नयाँ कम्पनीमा काम गर्ने अभिकर्ताको पनि कमी छ । हामीले चुनौतीलाई सामना गर्न धेरै मेहनत गरेका छौं । चुनौतीको समाधान गर्न धेरै तालिमहरू सञ्चालन गरेका छौं ।

अहिले बजारमा आएका नयाँ कर्मचारी तथा अभिकर्तालाई समेत हामीले तालिम दिइरहेका छौं । तर १९ वटा कम्पनी भएकै कारण कर्मचारी र अभिकर्ता एक अर्कामा जाने चुनौती धेरै छ । एक ठाउँमा अलिकति काम सिकिरहेको कर्मचारी अर्को ठाउँमा जानु भनेको राम्रो कुरा होइन । यो समस्या समग्रमा बीमा बजारकै समस्या पनि हो । यसलाई हामी कम्पनीले नै रोक्न प्रयास गर्नुपर्छ ।  

युनियन लाइफ आगामी १० वर्षमा कहाँ पुग्छ ?
हामी अरू पूराना कम्पनीले के गरेका छन् ? भन्ने मतलब राख्दैनौं । कसैसँग टक्कर लिनु पर्छ भन्ने हाम्रो कम्पनीको मान्यता पनि छैन् । म कुन कम्पनीसँग टक्कर दिनुपर्छ वा पर्दैन भन्ने कुरामा ध्यान नै दिन्न । मैले युनियन लाइफलाई आफ्नो तालमा अघि बढाउने हो ।

मेरो कम्पनीको आफ्नै संरचना तयार भइसकेको छ । आफ्नै एउटा बनावट छ । सोहीकारण अरू कम्पनीले के गर्छ ? भने मेरो रणनीति भित्र पर्दैन । तर आफूले के काम गर्नुपर्छ ? भन्ने चाहीं मेरो रणनीतिसँग सम्बन्धित कुरा हो ।

आगामी चार साल मैले व्यवसाय बढाउन र नाफामा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । मेरो चार वर्ष शाखा खोल्न, त्यसलाई बिस्तार गर्नमा लाग्नु पर्ने समय थियो । त्यो   युनियन लाइफले पहिलो चरण सफलतापूर्वक पार गरिसकेको अवस्था छ । अब आउने चरणमा हामीले नाफामा ध्यान दिनुपर्छ ।

कसरी राम्रोसँग नाफा ल्याउने ? नयाँ व्यवसाय ल्याउने,? बीमाको बारेमा राम्रोसँग कसरी जानकारी गराउने ? भन्नेमा हामी केन्द्रित हुन जरूरी छ । सोही जनचेतना बढाउने उद्देश्यले हामीले महिनामा एक दिन शाखा प्रमुखहरूलाई तालिम दिने गरेका छौं । 

हामीले महिनामा तीन–चारवटा तालिम पनि गर्ने गरेका गर्छौं । मेरो यही चार वर्षे कार्यकालको बीचमा नै दुई सय वटा शाखाहरू स्थानीय तहमा पुग्नु पर्छ भन्ने लक्ष्य राखेको छुँ । हामी सोहीअनुसार काम गर्छौं । 

कम्पनीले कति व्यवसाय पाउँछ ? भन्दा पनि हरेक मान्छेले बीमा बुझ्नुपर्छ भन्ने कुरा महत्वपूर्ण हो । बीमा बुझ्ने अधिकार सबैको अधिकार हो ।

जेठ मसान्तको वित्तिय सूचकलाई कसरी हेर्नुहुन्छ ?
जेठ महिनामा व्यवसाय एकदम नराम्रोसँग घटेको छ । यसरी व्यवसाय त पुरै बीमा उद्योगकै घटेको हो । कोरोना महामारीका कारण शाखा प्रमुखलाई काममा जोड दिनु भन्ने अवस्था पनि थिएन ।

युनियन लाइफलाई वित्तीय सूचक राम्रो भएकाले बेलामा दुई पटक वित्तीय विवरण पनि सार्वजनिक गर्यो भन्ने आरोप लागेको थियो नि ?

तपाईंले भन्नु भएको कुरा हामीले छुटेको हो कि भनेर मात्र वित्तीय विवरण दुई पटक निकालेको बेलाको हो । त्यो बेला हाम्रोमा प्राविधिक गडबडी भएको हो । अरू त्यस्तो केही पनि होइन ।

युनियन लाइफको आईपीओमा किन लगानी गर्ने ?
युनियन लाइफ एग्रेसिभ रूपमा काम गरिरहेको छ । सबै पूर्वाधार तयार भइसकेको कम्पनी भएकाले लगानीकर्ताले लगानी गर्न आवश्यक छ ।

युनियन लाइफमा बीमा गर्न किन बीमितको आकर्षण धेरै रहेको छ ?
हाम्रो टिमवर्कले गर्दा हो । यसमा धेरै कुरा जोडिएर आउँछ । पहिलो कुरा हाम्रो प्रोमोटरको दह्रो समूह, अनुभवी कर्मचारी, हाम्रा शाखा प्रमुखहरू पनि लगनशील भएको कारण बीमितको आकर्षण धेरै छ । हामीले बीमितको घरमा नै गएर पनि दाबी–भुक्तानी गरेका छौं । पश्चिमको विकट हिमाली गाउँमा हामीले त्यसरी पनि सेवा दिएका थियौं । यसलाई बीमितले बुझ्नु भएको छ । ग्राहकको सेवा र सन्तुष्टिलाई नै जोड दिएर हामीले काम गरिरहेका छौं ।

पछिल्लो समय बीमा समितिको नियमन कस्तो लागिरहेको छ ?
बीमा समितिले नियमनमा राख्दा कम्पनीहरूको कल्याण हुन्छ । बीमा कम्पनीहरूलाई छाडा भएर हिडने अधिकार छैन् । बीमा समितिले कम्पनीलाई सिस्टममा ल्याएमा व्यवसाय बढ्छ । जब कम्पनीहरू सिस्टममा आउँछन् तब जनतामा विश्वासको वातावरण बढ्छ । त्यसरी विश्वासको वातावरण बढ्नु भनेको त आफैमा राम्रो कुरा हो ।

बीमा समितिले कडाई गर्नु भनेको सबैको हितकालागि नै काम लाग्ने कुरा हो । यसले कम्पनी, कर्मचारी, अभिकर्ता र समग्रमा राष्ट्रको नै भलो गर्छ ।

अन्य नयाँ बीमा कम्पनी आश्यक छ र बजारलाई ?
अब एउटा पनि नयाँ बीमा कम्पनी आवश्यक छैन । च्याउ उम्रे जसरी कम्पनी ल्याउने काम राम्रो होइन । कसैले नयाँ जीवन बीमा कम्पनी ल्याउने सोचिरहेको छ भने त्यो राम्रो कुरा होइन । भोलि यही कम्पनी र अभिकर्ता एक अर्कोमा कुद्ने भएकाले नयाँ कम्पनी खोल्नुको औचित्य छैन ।

हामीले आफ्नो हितका लागि मात्रै हेर्नु हुँदैन । समग्र बजारको हितकोका लागि काम गर्नुपर्छ । अहिले १९ वटा जीवन बीमा कम्पनी छन् । यी कम्पनीहरू मर्जर भएर १० वटामा सीमित हुँदा त मेरो सीईओ पद जान सक्छ । तर मैले पदको लागि होइन, बजारको हितको लागि बोल्नु पर्छ भन्ने विश्वास राख्छु ।

हरेक ठाउँमा राम्रा व्यक्तिको खाँचो छ । सोहीकारण अहिले भएकै कम्पनीमा पनि क्षमता भएका व्यक्तिको आवश्यक छ । धेरै कम्पनी थप्न जरूरी छैन् । १९ वटा कम्पनी रहेको ठाउँमा बरू एउटा कम्पनी खोल्दिन तर बीमा उद्योगलाई बचाउँछु भन्नेमा जान्ने बुझ्नेको ध्यान जान जरूरी छ ।

बीमितलाई के भन्न चाहानु हुन्छ ?
सबैको आर्थिक सुरक्षा गर्ने एक मात्रै माध्यम भनेको बीमा हो । यो कुरा अधिकांश नागरिकलाई थाहा भएकै कुरा हो । म उहाँहरूलाई आफूलाई बीमाबाट बञ्चित नराख्नुस् भन्न चाहान्छु । अहिले कोरोना महामारीको बेलामा बीमा आवश्यकता पनि बनेको छ ।

परलोक जाने बेलामा पनि बीमा गरेको मान्छेको आत्माले बीमा नगरेको मान्छेको भन्दा बढि शान्ति पाउनसक्छ । बीमा गरेपछि मर्नै पर्छ भन्ने छैन् । जीवन रहेमा बीमाले बुढेसकालमा पनि सघाउँछ ।

बीमा गर्दा बीमितको आयु बढ्छ । बीमा भनेको सम्पन्न मान्छे मात्र नभई पेट काटेर पनि गर्नुपर्ने कुरा हो ।

जापानको ‘इको नावा’ भन्ने ठाउँमा मानिसहरू ८० प्रतिशत मात्रै खाना खान्छ्रन् । त्यस ठाउँका अधिकांश मान्छे सय वर्ष बाँच्छन् । म सबै दाजुभाईलाई २० प्रतिशत खाना कम खानुस् र बीमा गर्नुस् भन्ने अनुरोध गर्दछु । २० प्रतिशत मात्रै खाना घटाउँदा आयु बढ्छ भने त्यही बचाएको २० प्रतिशत खानाको पैसा बीमामा लगानी गर्न सकिन्छ । र अहिले बीमा गर्नेपर्ने समय आईसकेको छ । अब कसैले पनि बीमा गर्न ढिला गर्नुहुन्न भन्न चाहान्छु ।