श्रीलंकन क्याम्पसले ८ नेपालीलाई छात्रवृत्ति दिने, ८ जुलाईसम्म आवेदन दिन पाइने

Advertisement

काठमाडौं । श्रीलंकन टेक्नोलोजिकल क्याम्पस (एसएलटीसी)ले ८ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को पहलमा छात्रवृत्ति आवेदन दिने समय ८ दिन थप गरिएको छ । 

यसअघि ३० जुन २०२१ सम्म छात्रवृत्तिका लागि आवेदन दिन पाइने समय भए पनि इक्यानको पहलमा छात्रवृत्तिका लागि आवेदन दिन समय थप गरी ८ जुलाई २०२१ सम्म पुर्याइएको छ । छात्रवृत्तिका लागि आवेदन दिन चाहने इच्छुक नेपाली विद्यार्थीहरुलाई थप गरिएको समय सीमाभित्र आवेदन दिन सक्ने इक्यानले जानकारी दिएको छ । 

Advertisement

छात्रवृत्तिका लागि आवेदन दिनका लागि विषयगत विवरण, निवेदन वा अन्य सम्बन्धमा थप जानकारीका लागि नेपालस्थित श्रीलंकन दूताबासको शाखा वा इक्यानको सचिवालयमा पनि सम्पर्क गर्न सकिने इक्यानको भनाइ छ । साथै विद्यार्थीले दुतावासको वेवसाइटमा गएर आवेदन दिन सक्नेछन् ।

क्याम्पसले स्नातक तहको अध्ययनका लागि आईटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इञ्जिनियरिङ जस्ता विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो । 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) विगत २४ वर्षदेखि निरन्तररुपमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुको नैसर्गिक हक स्थापित गर्दै आफ्नो संघमा आवद्ध शैक्षिक परामर्श केन्द्रमार्फत् परामर्श, सहजीकरण र हर सम्भव सहयोग गर्दै आइरहेको छ । 

यसरी परामर्श, सहजिकरण, समन्वय, र सहयोग गर्दै गर्दा विगतदेखि नै नेपाललगायत विदेश स्थित कलेज, विश्वविद्यालय लगायत अन्य दुतावासमार्फत् मिहिनेती, जेहन्दार र दुर दराजका अति विपन्न विद्यार्थीलाई उत्कृष्ट कलेज, विश्वविद्यालयमा छात्रवृत्तिका लागि पहल समेत गर्दै आएको छ । 
 

Advertisement

Advertisement