सूर्या लाइफका सीईओको प्रश्न– ‘साठी रूपियाँ तिरेर पाँच रूपियाँ लिने कि सय तिरेर सात रुपियाँ ?

काठमाडौं । भर्खरै मात्रै सूर्या लाइफ इन्स्योरेन्सको व्यवस्थापनको नेतृत्व गर्न पुगेका पवनकुमार खड्का बीमा क्षेत्रकै संभवतः कान्छो प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनीसँग अन्य विभिन्न कम्पनीमा समेत काम गरेको अनुभव छ । सूर्या लाइफमा आउनुअघि खड्काले विशाल सिमेन्टको समेत सीईओ बन्ने अवसर पाएका थिए । बीमा क्षेत्रमा भने उनी विगत सात वर्षदेखि आवद्ध छन् । युवा तथा नवनियुक्त सीईओले नयाँ जोस र थुप्रै रणनीति लिएर यस स्थानसम्म आईपुगेको दाबी गरेका छन् । प्रस्तुत छ सीईओ खड्कासँग कर्पोरेट नेपालले गरेको अन्तर्वाताः

सूर्या लाइफलाई बीमा बजारमा प्रतिस्पर्धी बनाउन कस्तो रणनीति अपनाउँदै हुनुहुन्छ ? कम्पनीको आगामी योजनाहरू के–के छन् ?
जीवन बीमा कम्पनीहरू मात्रै १९ वटा छन् । भारतमा जम्मा २४ वटा कम्पनीले डेढ अर्ब जनसंख्यालाई सेवा दिईरहेको छ त्यस हिसाबले हेर्दा ६ करोड जनसंख्यालाई भारतमा एउटा बीमा कम्पनीले सेवा दिइरहेको अवस्था छ । नेपालमा तीन करोड जनसंख्यामा, प्रत्येक १५ लाख जनसंख्याको लागि एउटा बीमा कम्पनीले सेवा दिईरहेको छ । त्यसले गर्दा अहिले बीमा कम्पनीलाई प्रतिस्पर्धाको वातावरण चाहीं धेरै नै छ । तर हामीले केही फरक किसिमको रणनीति लिएको छौं । हामीले अरू कम्पनीसँग प्रतिस्पर्धा गर्ने कुरालाई भन्दा पनि बजार निर्माणमा जोड दिएका छौं । बजार निर्माण गर्न तीन वटा कुरा आवश्यक हुन्छ । एउटा वस्तु, अर्को गुणस्तरीय सेवा र वितरण प्रणाली र हामीले सोही कुरामा केन्द्रित भएर आफ्नो रणनीति बनाएका छौं । 

बजार हिस्साको आधारमा कम्पनीको उपस्थिति त्यति बलियो देखिँदैन । यसलाई सुधार गर्न के गर्नुहुन्छ ?
एक्टिङ सीईओ भएदेखि हालसम्म आठ महिना यही कम्पनीमा व्यवस्थापकीय नेतृत्वमा काम गरिसकिएको छ । हामीले २ं.५ प्रतिशत बजार हिस्सालाई बढाएर अहिले ५ प्रतिशत बजार हिस्साका साथ छैटौं स्थानमा छौं । हाम्रो भौतिक पूर्वाधार राम्रो छ । रिटर्न र अर्निङको हिसाबले पनि हामी समग्र बजारमा तेस्रो स्थानमा छौं । आगामी दिनमा आफ्नो पहुँच बढाउँदै थप सशक्त र बलियो बनाउँदै जानेछौं । हामीले बीमितलाई सस्टेनेबल बोनस दिएका छौं र त्यो घट्नेवाला छ्रैन् । बीमा ऐनमा, बीमा समितिको निर्देशनमा परिवर्तन आए पनि हाम्रो रिर्टनले भने निरन्तरता पाउँछ । अर्को भनेको आफ्नो बजार हिस्सालाई र ब्राण्डलाई जनतामाझ चिनाउनका लागि काम गर्दैछौं । 

नयाँ शाखाहरू थप्ने केही योजना बनेका छन् की ? 
अहिले हामीले तत्कालै शाखा खोल्ने योजना बनाएका छैनौं । तर आवश्यक भएको अवस्थामा खोल्न पनि सक्छौं । अहिले नै हाम्रो १०० शाखा रहेका छन् । अझै दुर्गम भेगमा पनि शाखा खोल्न हामीले प्रयास गर्नेछौं ।

कम्पनीमा बीमितको आकर्षण कस्तो रहेको छ ? त्यसलाई बढाउन के गर्नु जरूरी छ ?
अहिले बीमा क्षेत्रमा हेर्दा यो वर्ष राम्रो व्यवसाय गर्ने कम्पनीमा सूर्या लाइफ अग्रपङ्क्तिमा आउँछ । अहिलेको बृद्धि दर ८० प्रतिशतको रहेको छ । यसले पनि हाम्रो प्रोडक्टमा बीमितको आकर्षण छ भन्ने सहजै बुझ्न सकिन्छ । हामीले अझै बीमितको नजर र सोचमा चाहीं यही कम्पनी चाहिन्छ भन्ने बनाउन जरूरी छ । त्यसैको लागी काम गरिरहेकाछौं ।

जीवन बीमा कम्पनीका समस्याहरू के–के छन् ?
हाम्रोमा बीमा कम्पनीको संख्या धेरै भयो । यसलाई हामीले नकार्न सक्दैनौ । हामीले व्यवसायिक अभिकर्ताको निर्माण गर्न जरूरी छ । त्यसैले कम्पनीले नै राम्रोसँग तालिम दिन आवश्यक छ । अभिकर्ताको तानातान हुने पनि समस्याकै कुरा हो । यसमा बीमा समितिले अलिकति समयमा नै तालिम दिने वातावरण बनाउन केही पहल गर्नुपर्छ । तालिममा पढ्ने पढाउने दुवैको समय र वातावरणको निर्माण गर्न जरूरी छ । 

अहिले बीमा प्राथमिकतमा परेको छैन् । यसको पछाडि हाम्रोमा व्यवस्थापनका विद्यार्थीको चाहना नै अफिसमा टेवल वर्क गर्ने, १० देखि ५ बजेसम्म काम गर्ने मानसिकताले पनि हो । बीमा एक किसिमले सामाजिक अन्तरक्रिया गर्न क्ने, बुझाउनसक्ने, सबै तहका मानिससँग घुलमिल गर्नसक्ने व्यक्तिको सधै जरूरी छ । बैंकिङ जागिरप्रतिको मोह र बीमा कम्पनीमा मार्केटिङमै पर्छु कि भन्ने हिचकिचाहटको वातावरण छ । व्यवस्थापन पढेका मान्छेले नै बीमामा हात हाल्न सकेका छैनन् । जसले यो क्षेत्रमा काम गरिरहेका छन्, उनीहरूलाई सधै एउटा कम्पनीबाट अर्को कम्पनीमा तानातानको स्थिति रहेको छ । 

अरू कम्पनीसँग मर्जरमा जान केही योजना तय भएको हो र ? सूर्या लाइफको मर्जरको विषय अलि बढि चर्चा सुनिन्छ । 
मैले कम्पनीको तर्फबाट मर्जरको केही पनि संकेत पाएको छैन् । अहिले कसरी व्यवसाय भित्राउने, बीमित र लगानीकर्तालाई नाफा बढाउने भन्ने नै सोचेका छौं । सञ्चालक समिति, बीमा समितिबाट केही नयाँ कुरा आएमा हामी सोहीअनुसार अघि बढ्ने छौं । तर आजको मितिसम्म हामीले मर्जरमा जाने केही पनि कुरा गरेका छैनौं । मैले सुनेको पनि छैन् ।

सूर्या लाइफमा बीमा गर्नु र अन्य कम्पनीमा बीमा गर्नुमा के–कस्तो भिन्नता छ ? बीमितले १८ वटा जीवन बीमा कम्पनी छाडेर सूर्या लाइफमा नै किन आउने ?
अत्यन्तै समय सान्दर्भिक प्रश्न गर्नुभयो । यसमा हामीले दुई–चार वटा कुरालाई ध्यान दिन जरूरी छ । एउटा भनेको आम नागरिकमा बीमा चेतना हुन जरूरी छ । विशेष गरेर जीवन बीमामा त चेतना बढाउने कुराले ठूलो महत्व राख्छ । हामीले बोनस त भन्छौं । तर त्यसमा हामीले कति तिरेर कति पाएका छौं ? भन्ने कुरा सधै महत्वपूर्ण हुन्छ ।

सूर्या लाइफमा नै बीमा गर्नुको एउटा मुख्य कारण भनेको हामीले नेपाली बीमा बजारकै सबैभन्दा सस्तो जीवन बीमा गराइरहेका छौं । सँगै हामीले नियमितरूपमा बीमितलाई लाभ पुग्ने किसिमले आफ्ना योजनाहरू कार्यान्वयन पनि गरिरहेका छौं । यो आज बीमित र लगानीकर्ता स्वयमले महशुस गर्नुभएको कुरा पनि हो । साठी रूपियाँ तिरेर पाँच रूपियाँ लिने कि ? सय रूपियाँ तिरेर सात रूपियाँ लिने ? भन्ने दुई वटा विकल्प बीमितसँग हुन्छ । सो कुरामा सूर्या लाइफ अरूभन्दा लोकप्रिय पनि छ ।

मौलिकतामा आधारित प्रोडक्ट चौरासी पूजा बीमा पनि हामीले ल्याएका छौं । यो प्रोडक्टमा पेन्सनको समेत व्यवस्था छ । यो बीमितको आवश्यकता हो भने हामीले बीमा क्षेत्रमै ल्याएको नयाँ अभ्यास पनि हो । अहिले तथ्याङ्क हेर्ने हो भने नेपालीहरूको हरेक १० वर्षमा औसत आयु ६ वर्षले बढिरहेको छ । हाम्रो यस चौरासी पूजा योजनाले ८२ वर्षको उमेरसम्म पेन्सन र ८३ वर्ष १ महिनामा बिमाङ्कको १५० प्रतिशत भुक्तानी गर्छ । यो बजारमा उपलब्ध योजनाहरूमा एकदमै नौलो प्रयास होे ।

कोरोना महामारीको समयमा कर्मचारी व्यवस्थापनमा के–कस्ता समस्या भोग्नुपर्यो तपाईंहरूले ?
अभिकर्ता र कर्मचारी साथीहरू अग्रपंक्तिमा काम गर्नुपर्ने बाध्यता छ । धेरै जना कोरोना सङ्क्रमित पनि भए । यस्तो जटिल अवस्थामा कम्पनीको व्यवसाय विस्तारको लागि पुर्याउनु भएको योगदानप्रति कम्पनी आभारी छ । अहिले पनि सकेसम्म हामी प्रविधिमैत्री बन्ने प्रयास गरिरहेका छौं । प्रविधिको प्रयोगमार्फत छिटोछरितो सेवा हाम्रो प्राथमिकता हो । 

नियामक बीमा समितिलाई के भन्न चाहानुहुन्छ ?
बीमा समितिले हेर्नुपर्ने भनेको अहिले बीमा कम्पनीको संख्या धेरै छ । समितिका कर्मचारीहरू पनि अनुभवी नै हुनुहुन्छ । नियमन क्षमतामा त बीमा समितिले आफ्नो तर्फबाट काम गरिरहेको छ । अब मुख्य कुरा भनेको बीमाको पहुँच बढाउने भन्दै गर्दा बीमाको गुणस्तरमा पनि ध्यान दिन जरूरी छ । पछिल्लो समय बीमा समितिले फ्युचर बोनस लगायतका विषयमा गम्भीरता देखाएको छ । यो राम्रो कुरा हो ।

बीमा समिति र बीमा कम्पनी दुवैले बीमा उद्योगको हितको लागि काम गर्ने हो । नागरिकको हितका लागि काम गर्ने हो । अझ भनौ, बीमितिकै हितका लागि काम गर्ने हो । एउटा कम्पनीले गरेको नकारात्मक असरले पूरा बीमा उद्योग र अर्थतन्त्रमा नै असर पार्छ । म बीमा समितिलाई सधै सकारात्मक वातावरण बनाएर बीमा क्षेत्रलाई विश्वसनीय बनाउन अनुरोध गर्न चाहान्छु । काम गर्दा कमीकमजोरीहरू आउनसक्छन् । तर त्यस्ता कमीकमजोरीलाई पनि सबै मिलेर सहजै समाधान गर्न सकिन्छ । एउटा कम्पनीलाई कमजोर देखाएर अरूले रमिता हेर्न थालियो भने त्यसले पूरै उद्योगमा नकारात्मक असर पर्नसक्छ ।

नयाँ र पूराना कम्पनीलाई समान व्यवहार गर्दा कम्पनीहरूले त्यही ढंगले काम गर्न सक्छन् त ?
आजको भोलि यसो गर भन्दा त सक्दैनन् । तर जोखिममा आधारित पूँजीको अवधारणा अनुसार कम्पनीलाई यति जोखिम छ, यस्तो गर भन्दा कम्पनीले गर्न सक्छन् । हामीले त्यो गर्नु पनि पर्छ । सबैलाई एउटै बास्केटमा राखेरभन्दा पनि कम्पनीको वास्तविक अवस्था अध्ययन गरेर मापदण्ड बनाउँदा राम्रो हुने देखिन्छ । बीमा समितिले प्रगतिमूलक ढंगले नीति कार्यान्वयन गर्दै जाने हो । त्यो गरिरहनु भएको नै छ ।

आम नागरिककमा के सन्देश छाड्न चाहानुहुन्छ ? 
यो व्यवसाय आम नागरिकको लागि नै ल्याइएको हो । हुन त अरू व्यवसाय पनि यस्तै हो । तर बीमा गाँस, बाँस र कपास जस्तै आधारभूत पक्षको रूपमा हेर्न जरूरी रहेको छ । बीमा भनेको पनि हामी आफूले आफ्नै लागि गरिने लगानी हो । आफू रहँदा र आफ्नो मृत्यु अश्रित परिवारको लागि पनि बीमाले काम गर्छ । बीमा भनेको मृत्युपछिको लागि मात्र हो भन्ने धारणा परिवर्तन गर्न आवश्यक छ । 

हामीले ल्याएको पेन्सन पाइने बीमा चौरासी पूजा बीमाले पनि यसलाई प्रष्ट पार्छ । बीमा भनेको महङ्गो हुन्छ भन्ने छैन् । आफ्नो क्षमता अनुसारको बीमा गर्न मिल्छ । बीमा खर्च होइन लगानी हो । अहिले नेपालमा बीमा बुझेका शिक्षित वर्गले पनि कम मात्रामा बीमा गर्नुभएको पाइन्छ । आफूसँग पैसा छ र बीमा गर्नुपर्छ भनेर यसको महत्व थाहा पाउनुभएका नागरिकले मात्रै बीमा गर्दा पनि त्यसले अरूमा बीमाबारे सकारात्मक सन्देश जान्छ ।