त्रिपाल ओढाएर राखेको रेल चल्ने मिति फेरि धकेलियो

Advertisement

काठमाडौं । भारतबाट बनाएर ल्याएको रेल नेपाल आएको १० महिना भइसके पनि फेरि सञ्चालन गर्ने मिति भने फेरि पर धकेलिएको छ । भारतले निर्माण गरेका संरचना हस्तान्तरणमा ढिलाई हुँदा र जनशक्ति तयार नहुँदा रेल सञ्चालन गर्ने मिति पर धकेल्नुपरेको जनाइएको छ । 

भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले ८४ करोड ६५ लाख रुपियाँ लागतमा निर्माण गरिदिएको रेलको सेट अलपत्र भएपछि सरकारको आलोचना हँदै आएको छ । यसअघि असारभित्रै रेल सञ्चालन गर्ने भनिए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै संरचना प्राप्त नभइसकेकोले असारभित्र रेल सञ्चालन गर्न नसकिने तर्क गरेको छ । 

Advertisement

मन्त्रालयका अधिकारीहरुले असारमै रेल सञ्चालन गर्न प्रयास गरिए पनि सबै पूर्णधार तथा जनशक्ति तयार हुन नसकेकोले केही समय अझै मिति धकेल्नुपरेको बताएका छन् । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले असारबाटै रेल चलाउन निर्देशन दिएका थिए । भारतबाट रेल आएको १० महिना भइसकेको छ । रेल सञ्चालन गर्न सरकारले निर्माण गरेको रेलवे कम्पनीले विभिन्न कारण देखाउँदै सञ्चालन मिति पर सार्दै आएको छ । 

कम्पनीले रेल आएपछि रेल चलाउने जनशक्ति नै आफूसँग नरहेको बताउँदै आएको थियो । साथै रेल सञ्चालन गर्न नीतिगत र प्राविधिक पक्षमा समस्या औंल्याउँदै कम्पनीले त्यसलाई सहज गरिदिन मन्त्रालयलाई आग्रह गर्दै आएको थियो । सरकारले अध्यादेशबाटै त्यससम्वन्धी ऐन जारी गरिसकेको छ । मन्त्री नेम्वाङले त्यस्ता समस्या समाधान भइसकेको र कोरोना महामारी पनि कमी हुँदै गएकाले असार लगत्तै रेल सञ्चालन हुने बताएका थिए । 

जयनगर–कुर्था ३५ किलोमिटर खण्डमा सञ्चालन गर्ने भनेर ल्याइएको रेल त्रिपाल ओढाएर राखिएपछि रेलको लिकका सामानहरू चोरी हुने, उपकरणहरू बिग्रिने जस्ता समस्या आउने गरेका छन् । अहिले कोंकणकै प्राविधिकले थन्किएका रेलको जाँच गर्दै आएका छन् ।

Advertisement

Advertisement