पर्यटन बोर्डमा बेथितिः खरिद ऐन छल्न साढे २८ लाखको बजेटलाई आठ टुक्रा
पर्यटन बोर्डका सीईओको नयाँ कार्यकक्ष र बोर्डका सीईओ डा.धनन्जय रेग्मी ।

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले बोर्डको पैसा मनोमानी खर्चिने र बेथितिलाई प्रशय दिन थालेका छन् । बोर्डमा प्रवेश गरेको डेढ वर्षमा उनले आफ्नै कार्यकक्ष र सचिवालय मर्मतका नाममा ‘सार्वजनिक खरिद ऐन २०६३’ र पर्यटन बोर्ड आर्थिक तथा खरिद विनियमावली २०७२’ विपरित एउटै प्रकृतिको खर्चलाई टुक्रा गरेर आफू अनुकुल खर्च गरेको पाइएको हो ।

एउटै प्याकेजमा खर्च गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली आकर्षित हुने र खुल्ला प्रतिस्पर्धाबाट काम दिनुपर्ने भएकोले रेग्मीले आफूखुशी बोर्ड सचिवालय बनाउन लगाएका हु्न् । उनले कागजी प्रक्रिया मिलाउन प्रयास गरे पनि बदनियतपूर्ण तरिकाले आफ्नो कार्यकक्ष मर्मतका नाममा २८ लाख ५९ हजार रुपियाँ खर्च गरेको फेला परेको छ । 

Advertisement

सरकारले महामारीमा बेला फजुल खर्च नगर्न निर्देशन दिएको छ । तर रेग्मीले भने महामारीकै समयमा कार्यालय मर्मतको नाममा आफ्नो विश्वासिलो निर्माण व्यवसायीलाई काम दिएर अनियमितता गरेको देखिएको हो । 

रेग्मीले बोर्डकै आर्थिक विनियामावलीविपरित एउटै प्याकेजमा फरक फरक खर्च गर्न लगाएका हुन् । बोर्डको खरिद शाखाले सार्वजनिक प्रस्ताव आव्हान गर्नुपर्ने सल्लाह दिँदादिदैँ उनले त्यसलाई अटेर गरेको, सम्बन्धित् विभागका वरिष्ठ कर्मचारीलाई पन्छाएर कनिष्ठबाट फाइल उठाउन लगाएको, फरक फरक शीर्षकमा भुक्तानी गर्न लगाएको बोर्डकै कर्मचारीले प्रमाण देखाए । 

पर्यटन बोर्डको सीईओ बस्ने कार्यकक्ष, सँगैको बैठक कक्ष र सीईओको पीए बस्ने कोठासहित तीन वटा कोठा मर्मत गरिएको छ । यो मर्मतको एउटै प्याकेज हो । तर आठ वटा टुक्रा पारेर रकम भुक्तानी गर्ने काम भएको छ । सम्बन्धित कर्मचारीलाई महामारीकै बेला कार्यालय बोलाएर रकम भुक्तानी पनि भइसकेको बोर्ड स्रोतले कर्पोरेट नेपाललाई जानकारी दियो । 

रेग्मीले कार्यालय भत्काउन ४३ हजार, सिलिङ बनाउन दुई लाख तीन हजार, पेन्टिङ तथा वाल पुटिङ गर्न एक लाख दुई हजार, भुई, ढोका तथा झ्याल बनाउन छ लाख ४७ हजार रुपियाँ भुक्तानी गरेका छन् । फर्निचरको काम गर्न सात लाख ४९ हजार, फर्निसिङको कामलाई तीन लाख ४५ हजार, इलेक्ट्रिक वर्कमा दुई लाख ८१ हजार र ग्राफिक्स प्रिन्टिङको कामका लागि एक लाख ५८ हजार गरी भ्याटसहित कुल २८ लाख ५९ हजार ५१४ रुपियाँ खर्चे गरेको विवरणबाट देखिन्छ । 

मर्मतको यस्तो काम एउटासँग अर्को जोडिएको, एउटासँग अर्कोलाई टुक्रा गर्न नमिल्ने र के कामका लागि भत्काइन्छ ? त्यहीँ काम हुनुपर्नेमा प्रक्रिया छल्न मात्रै बजेटलाई खण्डीकरण गरिएको छ । सम्बन्धित शाखा प्रमुखले सार्वजनिक खरिद अनुसार टुक्रा गर्न नमिल्ने र बोर्डकै आर्थिक तथा खरिद विनियमावली विपरित हुने अवगत गराउँदा रेग्मीले ‘व्यक्तिगत खर्चबाट गरेको’ भन्ने जवाफ दिएको स्रोतको भनाई छ । तर, पैसा भुक्तानी गर्नुपर्ने अवस्थामा आएपछि भने नियम विपरित हुँदा किन काम नरोकेको भन्दै उल्टै कर्मचारीलाई हप्कीदप्की गरेको ती कर्मचारीले गुनासो गरे । 

बोर्डका अरु कर्मचारीको कार्यकक्षमा १० औं वर्षदेखि कार्पेटसम्म परिवर्तन नभएको अवस्थामा सीईओको कार्यकक्ष भने राम्रो अवस्था हुँदाहुँदै भत्काएर अनावश्यक खर्च गरिएको छ । उक्त बोर्ड रुम तथा सीईओको कार्यकक्ष पाँच वर्ष अगाडि मात्रै मर्मत भएको थियो ।

बोर्ड सचिवालय बनाउन रेग्मीले आफ्नो अनुकुलको ठेकेदारलाई काम दिएका थिए भने भुक्तानी पनि आफ्नो तजविजमा खर्च गरेका थिए । यो काम कन्सेप्सन इन्टेरियर प्रालिमार्फत गराइएको थियो । 

आफ्नै खरिद विनियामावलीको समेत पालना भएन
बोर्डको यो कार्य सार्वजनिक खरिद ऐनको खरिद कार्यको जिम्मेवारी र खरिद विधिसम्बन्धी व्यवस्थाको बुँदा नम्बर १० (२)ले गरेको व्यवस्थाविपरित छ । उक्त व्यवस्था अनुसार यो ऐन र यस ऐनअन्तर्गत बनेको नियमबमोजिम खरिद गर्दा प्रतिस्पर्धा सीमित हुने गरी टुक्रा टुक्रा पारी खरिद गर्नु हुँदैन । यही ऐनले एक लाख रुपियाँसम्मको खर्चमा लागत अनुमान गर्नुपर्ने व्यवस्था गरेको भए पनि रेग्मीले त्यसको पालना गरेका छैनन् । 

नेपाल पर्यटन बोर्ड आर्थिक तथा खरिद विनियामावली २०७२ को ५१ (क)को एकमुष्ट दर विधिबाट गरिने खरिद कार्यविधि विपरित भएको छ । लागतअनुमान तयार गरेर सार्वजनिक प्रस्ताव गर्नुपर्ने कुरा कार्यविधिमा छ । यो व्यवस्था अनुसार बोर्डले न लागत अनुमान तयार गरेको छ न  प्रस्तावसमेत आव्हान गरेको छ ।

बोर्डकै खरिद विनियमावलीको ५२ नम्बरको बुँदाले सोझै खरिदसम्बन्धी व्यवस्थामा पनि एक लाख रुपियाँसम्मको खरिद गर्दा सूचीकृत भएका कम्तीमा तीन वटा आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवाप्रदायकबाट लिखित रूपमा दरभाउ लिनुपर्ने हुन्छ ।

यही व्यवस्थामा पाँच लाख रुपियाँसम्म सोधै खरिद गर्नसक्ने व्यवस्था भए पनि एउटै प्रकृतिको काम पटक पटक गराउन नपाइने व्यवस्था छ । रेग्मीले प्रक्रिया मिचेर खर्च गर्न थालेपछि बोर्डभित्रका कर्मचारी ‘तैं चुप मैं चुप’ छन् ।  

पर्यटन बोर्डका अर्थ विभाग प्रमुख सन्तोष पन्तले खरिद  प्रक्रियाअनुसार नै बोर्ड रूम मर्मत भएको दाबी गरे पनि यस विषयमा थप कुरा गर्न चाहेनन् । सीईओ रेग्मीले भने एकैपटक तीन वटा कोठा तयार गरेको र लागतभन्दा आधा सस्तोमा काम गराएको जिकिर गरे । उनले भने, ‘काम अझै सकिएको छैन । आधा मात्रै भएको छ । अब यो वर्षको बजेट सकिएकोले अर्को वर्ष थप काम गर्नुपर्ने भएको छ ।’

बोर्ड सञ्चालक समितिले तोकेकै बजेटमा काम भएको र बोर्ड कार्यकारी प्रमुखले दिएको आदेशअनुसार काम भएको रेग्मीले जिकिर गरे । उनी भन्छन्, ‘कार्यकारीको आदेश हो । सबै प्रक्रिया मिलाएरै गरेको छ । बोर्डलाई राम्रो बनाउन काम भएको छ । हिजोका दिनमा ठगेर, काम नगरी खाएका र मिलाएर खान पल्केका कर्मचारीले खान नपाउँदा गुनासो गरेको मात्रै हुन् ।’ 

कुनै कर्मचारीले नचाहिँदो सुनाएको हुन सक्ने उनले तर्क गरे । आफूले बोर्डको सुधार गर्ने जिम्मेवारी लिएर आएकोले सोही अनुसारको काम गरेको रेग्मीको भनाई छ ।


 

Advertisement

Advertisement