आईएफआईसी बैंकको सेयर बिक्रीको लागि सार्वजनिक सुचना, विनोदले किन्लान ?

Advertisement

काठमाडौं । अन्ततः बंगलादेशको आईएफआईसी बैंक आफ्नो सेयर बिक्री गरेर फिर्ता लैजाने भएको छ । बैंकले नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको ४२ प्रतिशत संस्थापक सेयर खुल्ला बिक्रीका लागि मंगलबार सार्वजनिक सुचना प्रकाशित गर्न लागेको हो । 

एनबी मर्जरमा जाने भएसँगै आफ्नो पहिचान मेटिने र स्वामित्वको हिस्सा पनि घट्ने भएपछि आईएफआईसीले आफ्नो नाममा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर संस्थापक सेयरधनीलाई नै बिक्री गर्न सार्वजनिक सुचना निकाल्न लागेको हो । 

Advertisement

नबिल र एनबीबीच मर्जरको लागि पटक पटक सञ्चालकहरूको कुरा भइरहेको बेला आईएफआईसीले सेयर बिक्रीका लागि सुचना प्रकाशित गर्न लागेको छ । यस्तो सेयर संभवतः चौधरी समूहले नै खरीद गर्ने स्रोतको भनाई छ । सोही क्रममा चौधरी समूहका अध्यक्ष विनोद चौधरीले यसअघि एनबीको केही संस्थापक सेयर समेत किनेका थिए । 

दुई बैंकबीच मर्जरका लागि स्वाप रेसियालगायतका विषयमा कुरा मिलिसके पनि चालु आर्थिक बर्षको मुनाफामा एनबीका संस्थापकहरूले कुरा उठाएपछि अर्को आर्थिक बर्षमा मर्जर प्रक्रिया टुङ्ग्याउने गरी ढिलाई गरिएको हो । 

बैंकहरू एकपछि अर्को मर्ज हुन थालेसँगै आफूलाई नम्बर वान बैंकको रुपमा चिनाउँदै आएको नविलमाथि पनि मर्जरको दबाब बढ्दै गएको थियो । नबिलमा विनोद चौधरी र चौधरी समूहको मुख्य लगानी रहेको छ । एकै पटक कम्तिमा दुई वटा बाणिज्य बैंकलाई मर्जर गर्ने रणनीतिअनुसार नविलले एनसीसी, सिभिल, सेन्चुरी बैंकसँग पनि कुरा गरिरहेको छ । 

Advertisement

Advertisement