दुई वाणिज्य बैंकमा कामु सीईओले सम्हाले जिम्मेवारी

Advertisement

काठमाडौँ । दुई वाणिज्य बैंकमा आजदेखि कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)ले कार्यभार सम्हालेका छन् । 

सेञ्चुरी कमर्सियल बैंकमा मनोज न्यौपाने र कुमारी बैंकमा अनुजमणि तिमल्सिनाले आजदेखि कामु सीईओको कार्यभार सम्हालेका हुन् । यी दुबै वित्तीय संस्थाको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत न्यौपाने र तिमल्सिनालाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेका हुन् । 

Advertisement

बुधबार बसेको सेञ्चुरी बैंक सञ्चालक समितिको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव तुल्सीप्रसाद भट्टराईले जनाएका छन् । बैंकका सीईओ तुलसीराम गौतमले ९ महिना कार्यकाल बाँकी छँदै असार २० गते दिएको राजीनामा साउन १ गतेबाट लागु हुने गरी स्वीकृत गर्दै सोही दिनदेखि न्यौपानेलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरिएको कम्पनी सचिव भट्टराईले बताए । 

यता, विहीबार बसेको कुमारी बैंकको सञ्चालक समितिको बैठकले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत तिमल्सिनालाई कामु सीईओको जिम्मेवारी दिने निर्णय भएको कम्पनी सचिव भोलानाथ ढुंगानाले जनाएका छन् । बैंकका सीईओ सुरेन्द्र भण्डारीको ४ वर्षे कार्यकाल विहीबारबाट समाप्त भएकाले तिमिल्सिनालाई कामु सीईओको जिम्मेवारी दिइएको कम्पनी सचिव ढुंगानाले बताए ।  
 

Advertisement

Advertisement