निसानका पूर्वप्रमुखलाई भगाएको अभियोगमा दुई अमेरिकीलाई जेल सजाय

Advertisement

टोकियो । जापानी कार कम्पनी निसानका पूर्वप्रमुखलाई जापानबाट भाग्न सघाएको अभियोगमा अमेरिकीलाई जेल सजाय तोकिएको छ ।

निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोनलाई सन् २०१९ मा जापानबाट भाग्न सघाएको अभियोगमा एउटा स्थानीय अदालतले दुई अमेरिकीलाई दोषी ठहर गरेको हो । उनीहरू बाबुछोरा भएको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

Advertisement

टोकियो अदालतले अमेरिकी विशेष बलका भूतपूर्व सैनिक ६० बर्षीय माइकल टेलरलाई उक्त मुद्दामा दुई वर्ष र उनका छोरा पिटरलाई अठार महिना जेल सजाय सुनाएको छ । जापानी अभियोजनकर्ताहरूले माइकल टेलरलाई दुई वर्ष १० महिना र पिटर टेलरलाई दुई वर्ष छ महिना कारागार पठाउनुपर्ने दाबी गरेका थिए ।

जापानमा कुनै पनि मुद्दामा आरोपितलाई हिरासतबाट उम्किन सघाउने व्यक्तिलाई कम्तीमा तीन बर्ष जेल सजाय हुनेगर्छ । जापानमा मुद्दा परेका गोनलाई अमेरिकी बाबुछोराले एउटा सामान राख्ने बाकसमा लुकाएर निजी विमानबाट भगाएको आरोप लागेको हो । 

डिसेम्बर २०१९ मा पश्चिम जापानको कान्साई विमानस्थलबाट गोनलाई भगाउन योजना बनाएको आरोप टेलर बाबुछोरामाथि लागेको थियो । त्यसका लागि उनीहरूले १३ लाख डलर पारिश्रमिक लिएको दाबी गरिएको छ । दुबै व्यक्तिले अभियोग स्वीकार गरेका र आफूले गरेको कामप्रति पश्चात्ताप व्यक्त गरेका बताइएको छ । माइकल टेलरले अमेरिकामा निजी सुरक्षासम्बन्धी विशेषज्ञको काम गर्ने गरेका थिए ।

आर्थिक अनियमिततासम्बन्धी आरोपमा निसान कम्पनीका पूर्व प्रमुख गोन पहिलो पटक नोभेम्बर २०१८ मा पक्राउ परेका थिए । सन् २०१५ सम्म पाँच वर्ष आफ्नो आम्दानी कम देखाएको आरोप उनलाई लागेको थियो । रासस/सिन्ह्वा

Advertisement

Advertisement