जापान पठाइदिने भन्दै रु ४० लाख ठगी, चार पक्राउ

Advertisement

काठमाडौँ । नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरका ३७ वर्षीय शुभद्रा परियार, ईलामका ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरका २१ वर्षीय दीपिका केसीलाई आज काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

Advertisement

सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’ को नामबाट फेसबुकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उनीहरुले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाइ ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको उक्त महाशाखाले जनाएको छ । 

अदालतले तीसलाख जरिवना तोकेपछि फरार रहेका दुई पक्राउ

यता, नेपाल प्रहरीले रु ३० लाख जरिवाना भएपछि फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १५-१५ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ टोखाका ४८ वर्षीय मिलन डङ्गोल र ६३ वर्षीय देवनारायण महर्जनलाई पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको फैसलापछि क्रमशः सात दिन र पाँच दिन कैद सजाय र  बिगोबमोजिम रु १५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका डङ्गोल र महर्जनलाई आज टोखा र कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ परेका डङ्गोलले नेपाल इन्भेष्टमेन्ट बैंक र महर्जनले माछापुच्छ्रे बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले डङ्गोल र महर्जनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका दुबैजनालाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए । रासस 

Advertisement

Advertisement