अर्थमन्त्रीले सचिवहरूलाई भने– चुनावसम्म यही सरकार हो, आफूलाई सच्याएर काम गर्नुहोस्

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च कम हुनु र आर्थिक बर्षको अन्त्यमा बढि खर्च हुनुको कारणबारे विकासे मन्त्रालयका सचिवहरूलाई बोलाएर छलफल गरेका छन् । साथै, शर्माले यस्तो समस्या कसरी समाधान गर्न सकिन्छ ? भन्नेबारे उपाय ल्याउन पनि सचिवहरूलाई निर्देशन दिएका छन् । 

उनले अनुभवी सचिवहरूबाट देशले लाभ लिन नसकेको भन्दै राष्ट्र निर्माणमा कर्मचारीहरू गम्भीर हुन नसकेको संकेत गरे । मन्त्री शर्माले सचिवहरूलाई सोधे, ‘पुँजीगत खर्च कम हुनुको कारण के हो ?, आर्थिक वर्षको अन्तिम महिनामा पूँजीगत खर्चको अनुपात बढी हुनुको कारण के हो ? यसको समाधान कसरी गर्न सकिन्छ ?’ उनले यस समस्याको समाधान अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दिन निर्देशन दिए । 

Advertisement

राज्य सञ्चालनको सबैभन्दा राम्रो अनुभव र क्षमता सचिवहरुमा भए पनि त्यो अनुभव र क्षमता राष्ट्र निर्माणमा उपयोग हुन नसक्नु दुःखद भएको भन्दै उनले राजनीतिक नेतृत्व आउने जाने भएकाले स्थायी सरकार बढि जिम्मेवार हुनुपर्ने तर्क गरे । 

सचिवहरूप्रति आक्रोसितरुपमा प्रस्तुत भएका मन्त्री शर्माले भने, ‘आरोप लगायो भन्नुहोला, नमिठो होला, तर मलाई त्यस्तो लाग्यो । तपाईंहरुसँग भएको क्षमताको प्रयोग गर्ने अवस्था सिर्जना भएको मैले पाइन ।’ साथै उनले कर्मचारीले  दिएको जिम्मेवारीअनुसार काम गर्न नसक्नुको कारणबारे पनि सचिवहरूसँग जिज्ञाशा राखे । 

मन्त्री शर्माले काम गर्ने प्रतिवद्धता कर्मचारीहरूबाट आफूलाई चाहिने भन्दै नेपालको अव्यवस्थित विकास, अव्यवस्थित योजना, राजनीतिक स्वार्थ केन्द्रित योजनाको पछाडि कर्मचारीको समेत हात रहेको गरेको आरोप लगाए । यसमा मन्त्रीलाई मात्र दोष लगाएर उम्कन नमिल्ने उनको तर्क छ । 

विकास निर्माणमा समन्वयको अभाव रहने गरेको भन्दै उनले एउटा विकासको काम गर्न फरक फरक मन्त्रालय र निकायको स्वीकृति लिनुपर्ने जस्ता कार्यविधि कसरी बन्छन् ? भनी प्रश्न गरे । विकासमा जनताको सहभागिता नहुने गरेको शर्माको अर्को तर्क थियो । उनले उपभोक्ता समिति दुरुपयोग  गर्ने गरिएको बताए । 

अर्को चुनावसम्म यही सरकार निरन्तर हुने दावी गर्दै शर्माले पूराना समस्या लिएर अब नआउन सचिवहरूलाई निर्देशन दिए । पुँजीगत खर्च शतप्रतिशत हुनुपर्ने भन्दै उनले त्रुटि आजैबाट सच्याउन आग्रह गरे । 

Advertisement

Advertisement