कोरोनाले व्यापार चौपट भएपछि १३९ रोपनी जग्गा बेच्दै र्याडिशन होटल, मूल्य यस्तो छ

Advertisement

काठमाडौं । ओरियन्टल होटल लिमिटेड (र्याडिशन होटल)ले आफ्नो स्वामित्वमा रहेको १३९ रोपनी जग्गा बिक्री गर्ने भएको छ । कोरोना महामारी र लकडाउनले गर्दा होटलको व्यापार चौपट भएको भन्दै कम्पनीले व्यापार उकास्न जग्गा बिक्रीको निर्णय गरेको जानकारी दिएको छ ।  

जग्गा बिक्री गर्ने जिम्मा होटलले ओरियन्टल हाउजिङलाई दिएको छ । जग्गाको केही हिस्सा कित्ताकाट गरेर बिक्री गर्ने र बाँकी भाग ढिक्कै बिक्री गर्ने निर्णय भएको हो । ओरियन्टलले ललितपुर महानगरपालिकामा वडा नम्बर १६, १९, २१ मा छरिएर रहेको जग्गा बिक्री गर्न लागेको हो । 

Advertisement

कोभिडले जग्गा बिक्री प्रक्रिया अघि बढाउन असहज भए पनि अब अनुकुल हुना साथ प्रक्रिया अघि बढ्ने कम्पनी स्रोतले जानकारी दियो । होटल व्यवस्थापन समितिले जानकारी दिएअनुसार वर्तमान अवस्थामा खुम्चिएको होटलको व्यवसायलाई पुनरुत्थान गर्न र लगानीकर्ताको पुँजीलाई संरक्षण गर्न यो निर्णय अगाडि बढाइएको तर्क गरेको छ । 

कोरोना महामारीले गर्दा होटल व्यवसाय अहिले ठप्प जस्तै छ । जग्गा बिक्रीपछि कम्पनीले भवन निर्माणदेखि व्यवसायलाई चुस्त बनाउने काम अघि बढाउने छ । वैदेशिक साझेदारसँगको संवादपछि उक्त निर्णयलाई थप सार्थकता मिल्ने स्रोतले जनायो । 

ओरियन्टलले उक्त जग्गा स्वर्गीय बिके श्रेष्ठ अध्यक्ष हुँदा किनेको थियो । त्यो बेला यो जग्गा प्रतिरोपनी लगभग एक लाख रुपियाँमा खरीद गरिएको थियो । लगभग डेढ करोड रुपियाँ लगानीमा खरीद गरिएको सो जग्गा अहिले ८० देखि ९० करोड नाफा गरेर बिक्री गर्न लागिएको हो । होटलले औसत ९० करोडमा उक्त जग्गा बेच्यो भने जग्गा प्रतिआना चार लाख ४६ हजार ७६ रुपियाँ पर्ने देखिन्छ । 

Advertisement

Advertisement