शेयर बजारमा करेक्शन हुँदा बैंकिङ समूह धेरै घट्यो, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

Advertisement

काठमाडौँ । शेयर बजारमा आज करेक्शन देखिएको छ । केही दिनदेखि बजार बढेर हिजो ऐतिहासिक उचाईमा पुगेको बजारमा आज ८.२४ अंकले घटेको हो । ०.२७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक ३०५०.४२ अंकमा झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २२३ कम्पनीका ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४ सय ३१ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

बजार घटेको दिन बैंकिङ ४३.५, विकास बैंक ३४.३८, अन्य १०.५१, म्युचुअल फण्ड ०.२६ र लगानी समूह ०.१५ अंकले घटेका हुन् । बाँकी समूहमा भने हरियाली छाएको छ । आज सबैभन्दा बढी जलविद्युत समूह १०२.६५ अंकले बढेको हो । 

आज विभिन्न ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रो, माउन्टेन हाइड्रो र ग्रीनलाइफ हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो भने हिमालय उर्जा ९.९९ प्रतिशत र ङादी ग्रुपका लगानीकर्ताले ९.९९ प्रतिशतले नाफा कमाएका हुन् । एनआईसी एशिया डिबेञ्चरका लगानीकर्ताले सबैभन्दा बढी ७.२२ प्रतिशतले घाटा व्यहोरेको नेप्सेले जनाएको छ । 

आज ङादी ग्रुप पावरको उच्च कारोबार भएको छ । ङादीको ३९ करोड ३० लाख ३७ हजार ८ सय ३२ रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन हिजो आइतबार भने बजार ५४.३१ अंकले बढ्दा नेप्से परिसूचक ३०५८.६३ अंकमा पुगेर ऐतिहासिक रेकर्ड कायम भएको थियो । हिजो २२३ कम्पनीका ४ करोड ४१ लाख १४ हजार ७ सय ६० कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १ सय ४८ रुपियाँ बराबरको कारोबार भएको थियो ।  

Advertisement

Advertisement