यही महिना ३ कम्पनीको आईपीओ खुल्दै, कुन कम्पनीको कहिले ? सूचीसहित

Advertisement

काठमाडौँ । साउन महिना भित्रै ३ वटा कम्पनीको साधारण शेयर(आईपीओ) भर्न पाइने भएको छ । मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा लाइफ र मानुषी लघुवित्तको आईपीओ यही महिना निष्काशन खुल्ला हुने भएको हो । 

मैलुङ खोलाको साउन १४ गते, सानिमा लाइफको साउन २० गते र मानुषी लघुवित्तको साउन २७ गते आईपीओ निष्काशन खुला हुने भएको हो । 

Advertisement

मैलुङ खोलाको ७ करोड ३६ लाख २८ हजार ६०० रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता, सानिमा लाइफको ६० करोड रुपियाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तको ३ करोड ९३ लाख ७५ हजार रुपियाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन हुन लागेको हो । 

यसैबीच, मैलुङ खोला जलविद्युत कम्पनीको ७ करोड ३६ लाख रुपियाँ बराबरको साधारण शेयर(आईपीओ) साउन १४ गतेदेखि निष्काशन खुला हुने भएको छ । आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ । न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाइने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।   

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीले प्रतिकित्ता एक सय रुपियाँ अंकित दरको ७ करोड ३६ लाख २८ हजार ६०० रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । 

उक्त कूल निष्काशन मध्ये ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । सर्वसाधारणका लागि छुट्याइएको शेयर ६८ हजार ४ सय ६८ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ताका दरले पाउने छन् । 

नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट असार २३ गते आईपीओ निष्काशनको अनुमति पाएको हो । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न २०७४ माघ १८ गते बोर्डमा आईपीओ जारी गर्न अनुमति माग्दै निवेदन दर्ता गराएको थियो भने लामो समयसम्म अनुमति पाउन सकेको थिएन ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपि ग्रेड ५’ दिएको छ । यो खराब रेटिङ हो । उक्त कम्पनीले २०७४ बैशाखमा नै स्थानीय बासिन्दाको लागि ३ लाख ६८ हजार १ सय ४३ कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपियाँ रहेको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको कम्पनीको आयोजना रसुवा जिल्लाको डाँडागाउँमा छ ।

यता, सानिमा लाइफ इन्स्योरेन्सको ६० करोड रुपियाँ बराबरको  आईपीओ साउन २० गतेदेखि निष्काशन खुला हुने भएको छ । कम्पनीको प्रतिशेयर एक सय रुपियाँ अंकित दरका ६० लाख कित्ता आईपीओ निष्काशन हुन लागेको हो । 

कुल निष्काशन हुने ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको कम्पनीले जनाएको छ । बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त शेयर गोलाप्रथाबाट ५ लाख ४० हजार जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

उक्त आइपीओमा साउन २० गतेदेखि छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी एक अर्ब ४० करोड रुपियाँ छ । आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी २ अर्ब रुपियाँ पुग्नेछ।

यसैगरी मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ साउन २७ गतेदेखि निष्काशन खुला हुने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये ५ हजार ४ सय ६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६ सय ८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न लागिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ । उक्त शेयर गोलाप्रथाबाट ३६ हजार ८ सय ५६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता पाउने छन् ।  

आईपीओमा साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हाल कायम चुक्तापूँजी ७ करोड रहेको छ । आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी १० करोड ९३ लाख पुग्नेछ ।

पछिल्लो समय आईपीओमा २० लाख भन्दा बढीको आवेदन पर्न थालेको छ । तसर्थः यी आईपीओमा १० कित्ता मात्रै आवेदन दिंदा उपयुक्त हुने देखिन्छ । 

Advertisement

Advertisement