खातामा पैसा नभएको चेक दिने नीता र शोभा पक्राउ

Advertisement

काठमाडौँ । बैंकिङ कसुरका फरार व्यक्तिहरु धमाधम पक्राउ परिरहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

यसैक्रममा नेपाल प्रहरीले रु १० लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । सीआइबीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १० लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ बुढानिलकण्ठका ४५ वर्षीय निता भण्डारीलाई पक्राउ गरेको हो । 

Advertisement

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ वैशाख ६ गतेको फैसलापछि चार दिन कैद र बिगो बमोजिम रु १० लाख जरिवाना ठहर गरेपछि फरार रहेकी भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ परेकी भण्डारीले आफ्नो मुक्तिनाथ विकास बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले भण्डारीलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । 

यसैबीच सोमबार प्रहरीले रु १३ लाख ७० हजार जरिवाना भएपछि फरार रहेका एक महिलालाई पक्राउ गरेको छ । सीआइबीको टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १३ लाख ७० हजार जरिवाना गरेपछि फरार रहेका तनहुँ व्यास नगरपालिका–९ का ४५ वर्षीया शोभा गुरुङलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो । 

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ चैत ३० गतेको फैसलापछि १४ दिन कैद र बिगो बमोजिम रु १३ लाख ७० हजार जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी गुरुङले आफ्नो सानिमा विकास बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।


 

Advertisement

Advertisement