शेयर बजार फेरि ऐतिहासिक उचाईमाः कारोबार रकम पनि बढ्यो

Advertisement

काठमाडौँ । शेयर बजारले मंगलबार पुनः लय समातेको छ । हिजो सोमबार बजारमा करेक्शन देखिंदा ८.२४ अंकले नेप्से घटेको थियो भने आज पुनः २९.२४ अंकले बढेको छ । ०.९६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक ३०७९.६७ अंकमा उक्लिंदै ऐतिहासिक उचाई कायम गरेको हो । 

यसअघि साताको पहिलो दिन आइतबार ३०५८.६३ अंकमा पुगेर ऐतिहासिक उचाई कायम गरेको थियो । 

Advertisement

आज २२५ कम्पनीका ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपियाँ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आईतबार १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १ सय ४८ रुपियाँ र हिजो सोमबार १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४ सय ३१ रुपियाँ बराबरको कारोबार भएको थियो । 

बजार उत्साहजनक ढंगले बढेको दिन पनि बैंकिङ ३.६३, ट्रेडिङ २.५७, होटल १८.७७ र लघुवित्त समूह ११६.६६ अंकले घटेका छन् । बाँकी समूहमा भने हरियाली छाएको छ । 

आज विभिन्न १५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मल्टिप्रपोज फाइनान्स, खानीखोला हाइड्रो, यूनाइटेड मोदी हाइड्रो, नेपाल हाइड्रो, जोशी हाइड्रो, घलेम्दी हाइड्रो र सिनर्जी पावरका लगानीकर्ताले १०–१० प्रतिशतले नाफा कमाएका हुन् । अन्य ८ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ५.७७ प्रतिशतले घाटा व्यहोरेका छन् । एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । एनआईसी एशियाको ४९ करोड ४ लाख ३४ हजार २०.१० रुपियाँ र अपि पावर कम्पनीको ४८ करोड ६ लाख १७ हजार ९ सय ६.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

Advertisement

Advertisement