नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रम देउवा सकरात्मक

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो । 

भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले विभागको तर्फबाट देउवालाई शुभकामना पत्र प्रदान गरे । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रम देउवालाई भण्डारीले विभागले गरेको कामको बारेमा जानकारी गराएका थिए । 

Advertisement

विभागले भावी योजना र कार्यक्रमको बारेमा समेत जानकारी गराइएको सचिव भण्डारीले बताए । देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए । उनले भने– बैंक खोल्न हालसम्म गरेको काम र प्रक्रियाको विषयमा जानकारी गराएका थियौं ।  उनका अनुसार देउवाले देशभरका सहकारीक्षेत्रको प्रतिनिधित्व हुनेगरी सहकारी बैंक खोल्नु आवश्यक रहेको आशय व्यक्त गरेका थिए । 

‘नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धीत निकायसँग परामर्श लिने धारणा प्रधानमन्त्रीले राख्नुभएको थियो’ देउवाको भनाई उदृत गर्दै भण्डारीले भने– सहकारी बैंक खोल्ने विषयमा विभागले थप प्रक्रिया थाल्नेछ । 

विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिए । 

विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जनसहितको कार्यसमितिका पदाधिकारी बालुवाटार पुगेका थिए । 

नेपाल सहकारी बैक स्थापना गर्न संयोजक भण्डारीको नेतृत्वको टोलीले सहकारी विभागबाट सहमति लिइसकेको छ । नेपाल राष्ट्र बैंक र सहकारी महासंघको पत्र प्राप्त हुनासाथ बैंक सञ्चालनमा आउनेछ । बैंक सञ्चालन गर्न राष्ट्रिय भेला सम्पन्न गरिसकेको छ । 

Advertisement

Advertisement