कोरोना बीमाको बाँकी दायित्व सरकारको हो, पैसा आएको २४ घण्टामै सल्टाईदिन्छुः चंकी क्षेत्री

Advertisement

काठमाडौं । बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी रकम (बीमाङ्क) कहिले दिन्छन् ? भन्ने चिन्ताले बीमितहरूलाई पिरोलिरहेको छ । निर्जीवन बीमा कम्पनीका सीईओहरूको संस्था नेपाल बीमक संघले विज्ञप्तिमार्फत ‘अब हामी कोरोना बीमाको थप दावी भुक्तानी गर्न सक्दैनौ’ भनेर हात उठाइसकेको अवस्था छ । बीमा कम्पनीहरूले आफ्नो भागमा परेको सम्पूर्ण दायित्व भुक्तानी गरिसकेको र बाँकी दायित्व सरकारको भएको बताएका छन् । सरकारकै कारण कोरोना बीमाको बाँकी दावी रकम भुक्तानीमा ढिलाई भएको उनीहरूको प्रतिक्रिया छ । सरकारले रकम उपलब्ध गराएमा बीमितलाई २४ घण्टाभित्रै सबै भुक्तानी दिन कुनै समस्या नरहेको नेपाल बीमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री बताउँछन् । कोरोना बीमावापत १३ अर्ब रुपियाँको दावी परेकोमा अझै नौ अर्ब रुपियाँ भुक्तानी हुन नसकेको पेचिलो अवस्थामा कर्पोरेट नेपालले सीईओ क्षेत्रीसँग कुराकानी गरेको थियो । प्रस्तुत छ उनीसँगको कुराकानीको सारः 

नयाँ आर्थिक वर्षको हिसाब–किताब सुरू भइसकेको अवस्था छ । यही समयमा अघिल्लो आर्थिक वर्षको प्रगति विवरणलाई कसरी समीक्षा गर्नुहुन्छ ?
कोरोना महामारी (कोभिड–१९)को समयमा पनि सगरमाथा इन्स्योरेन्सले आफ्नो वित्तीय सूचक बढाएको छ । पन्द्र प्रतिशतले हामी व्यवसाय बिस्तार गर्न सफल भएका छौं । यसलाई हामी आफैले समीक्षा गर्नुपर्दा यो निकै सकारात्मक कुरा हो । 

Advertisement

नेपाली बीमा क्षेत्रमा सगरमाथा इन्स्योरेन्स एउटा ठूलो कम्पनीको रूपमा स्थापित छ । शाखा सञ्जाल थप्ने वा कर्मचारी बढाउने केही योजना बनाउनु भएको छ कि ? 
हामीले योजना त बनाएका छौं । लकडाउनको मोडल कुन हिसाबले जान्छ ? त्यहीअनुसार हामीले पनि हाम्रो व्यवसाय अघि बढाउँदै जाने हो । केही ठाउँका लागि हामीले अध्ययन गरिसकेको अवस्था छ । आवश्यकता अनुसार शाखा र कर्मचारी बढाउँदै जान्छौं । 

सगरमाथा इन्स्योरेन्स कम्पनीले नयाँ प्रोडक्ट ल्याउन केही तयारी गरिरहेको छ की ?
कोरोना महामारीले विश्वभरी नै प्रभाव पार्यो । यही बेलामा मानिसको स्वास्थ्यको जोखिम थप गम्भीर र जटिल बन्दै गएको पनि आभाष भयो । यही समस्यालाई दृष्टिगत गरी नयाँ वर्षको अवसर पारेर ‘सगरमाथा आरोग्य बीमा योजना’ ल्यायौं । अहिले सोही बीमा योजनामा बीमितको सहभागीता पनि निकै राम्रो छ । पहिले पनि सगरमाथा ‘भीआईपी अन द स्पट’ बीमा योजना ल्याएका थियौं । अहिलेको आरोग्य बीमा योजना पनि त्यसलाई आधार बनाएर तयार गरेका छौं । व्यक्तिगत दूर्घटना बीमा, स्वास्थ्य बीमा तथा अन्य सुविधाहरूसमेत यस योजनामा समावेश भएका छन् । घातक रोग बीमा योजना पनि हामीले यही पोलिसिअन्तर्गत दिईरहेका छौं । हामीले यो नाफाभन्दा पनि जनता सबैमाझ हाम्रो प्रोडक्ट पुगोस भन्ने हिसाबले गरेका हौं ।

सगरमाथा इन्स्योरेन्सको प्रोडक्टमध्ये सबैभन्दा बीमितले रूचाएको प्रोडक्ट कुन हो ?
साधारणतया सबै कम्पनीले बेच्ने प्रोडक्ट उस्तै हुन् । ती प्रोडक्टको दाम पनि उस्तै–उस्तै हुन आउँछ । सगरमाथालाई कम्पनीले दिने सेवा गुणस्तरीय छ भनेर बीमितले मन पराउनु हुन्छ । बजारमा अस्वस्थ प्रतिस्पर्धा चलको बेलामा पनि सगरमाथा इन्स्योरेन्सले नागरिकको मन जित्दै आएको छ । यसको एउटा मात्रै कारण भनेको हामीले गुणस्तरीय सेवालाई प्राथमिकता दिन्छौं । कोरोना बीमाको सन्दर्भमा पनि हामीले दिन मिल्नेसम्म सेवा दिँदै आएका छौं । यसमा बीमा कम्पनीले दिन मिल्ने जतिमा दिइसकेको अवस्था छ । यसको त कम्पनीबाटभन्दा पनि पुलमार्फत नै काम भइरहेको छ । अब बाँकी रहेको भुक्तानी सरकारले व्यहोर्ने भनेको छ । हामी मन्त्रालय पनि धेरै पटक गर्यौ । कारोना बीमाको पैसा कम्पनी आफैले दिँदा थेग्न नसक्ने अवस्था छ । साढे तीन अर्ब तिरेका पनि हौं । त्यसमा हामीलाई कुनै समस्या भएन । एक अर्ब बीमा कम्पनीबाट, नेपाल पुनर्बीमा कम्पनीबाट एक अर्ब, पचास करोड कम्पनीको जगेडा कोषबाट र एक अर्ब रूपियाँ बीमा समितिले नै दिएको छ । 

त्यति बेला नपुगेको पैसा सरकारले दिन्छ, तपाईंहरू कोरोना बीमा नरोक्नस् भनेर हामीलाई बीमा समितिले भनेको हो । त्यो भन्नुको पछाडि पनि महामारीमा जनतालाई राहात होस भन्नु नै हो । भूकम्पको बेलामा बीमा कम्पनीले १६ अर्ब रूपियाँको दाबी भुक्तानी गर्यो । त्यतिबेला हाम्रो चुक्ता पूँजी २५ करोड रूपियाँ मात्रै थियो । अन्तर्राष्ट्रिय बीमा बजारले पनि भूकम्पको दाबी भुक्तानी नेपालले कसरी दिलाउँछ ? भनेर हेरेको थियो । तर त्यतिबेला हामीलाई केही समस्या भएन । किनभने हाम्रो व्याकअप त्यतिबेला पुनर्बीमा कम्पनी थियो । कोरोना बीमाका लागि साढे तीन अर्ब रुपियाँभन्दा माथिको पैसा सबै नेपाल सरकारले दिने सम्झौता भएको छ । सरकारबाट पैसा आएमा जसरी भूकम्पको पैसा सरक्क हामीले जनतालाई दियौ, त्यसरी दिन अरू कुनै समस्या छैन् ।

पहिले नै महामारीको बीमा हुँदैन भन्दाभन्दै पनि समितिले भनेर सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना बीमा ल्याइएको हो । यो मुख्यतया आर्थिक अवस्था कमजोर भएका नागरिकमा लक्षित गरेर ल्याइएको थियो । गत वर्षको भदौ २३ गते नै हामीले कोरोना बीमा अघि नबढाउ, हामीले सक्दैनौ पनि भनेको हो । तर केही घण्टापछि नै कोरोना बीमाले निरन्तरता पायो ।

बीमा त बीमितले कम्पनीसँग गरेको हो । सरकारसँग होइन नि । अब पैसा माग्न बीमित कम्पनीमै आउँछन् । सरकारकोमा जाँदैनन् । सरकारले पैसा दिएन भने के गर्नुहुन्छ ?
समस्या कहाँ छ त्यो बुझ्नु जरूरी हुन्छ । हाम्रा ग्राहकले कम्पनीसँग बीमा गर्नुभयो । अब पैसा माग्न कम्पनीमै जानु स्वाभाविक नै हो । तपाईंले मैले गर्ने पनि त्यही हो । बीमा समिति, अर्थ मन्त्रालयका सचिव र नेपाल सरकारले नै बीमा कम्पनीले सात दिन या तीन दिनमा क्लेम सेटल्मेन्ट गर्नुपर्यो भन्ने कुरा पनि आएको थियो । म आफै बीमक संघको महासचिव भएको नाताले सातै दिनमा काजगपत्र मिलाउन केही समस्या हुनसक्छ भनेको थिए । लकडाउनमा कुरियरबाट आउने, बिरामी आफै आउने अवस्था थिएन । तर हामीले डुप्लिकेसनको कुरा आउँदा पनि इसीडीसीको वास्तविक अवस्था हेरेर धेरै हदसम्म व्यवस्थापन गर्न सफल पनि भयौं । बीमा पुलमा पनि अन्य कर्मचारी थप्यौं । अब सबै जनतालाई म के भन्न चाहान्छु भने सरकारले सहयोग गर्छु भनेर कम्पनीलाई समयमा पैसा नदिएकाले कोरोना बीमामा समस्या आएको हो । कारण जे भए पनि म बीमक संघको तर्फबाट पनि क्षमाप्रार्थी छु । 

तर ढिलाई भए पनि बीमितले पैसा चाहि अवश्य पाउनुहुन्छ । जतिबेला सरकारले कम्पनीलाई पैसा दियो, त्यतिबेला बीमितले पनि पैसा पाउनुहुन्छ । अहिले कम्पनी आफैले पैसा तिर्न सक्ने अवस्थामा पनि छैन् । त्यसरी बीमा कम्पनीले आफैले कोरोना बीमाको पैसा तिर्ने हो भने बीमा कम्पनी पनि बन्द गरे हुन्छ ।

कोरोना बीमाको पैसा दिन्छु भनेर गरेको बाचा सरकारले चाँडै पूरा गर्ला त ? बीमितले कहिलेसम्म पैसा पाउँछन् ?  
सरकारले बोल्दै नबोलेको अन्य क्षेत्रमा पनि जनतालाई सहयोग गरिरहेको छ । झन कोरोना बीमाको पैसा दिन्छु भनेर त सरकारले बोलेकै कुरा हो । मलाई लाग्छ अब यसमा उहाँहरूले ढिलाई गर्नुहुन्न ।

जनताको अभिभावक भनेकै सरकार हो भन्ने कुरा सही हो । तर कोरोना बीमाको पैसा दिन यस्तो ढिलाई चाही किन भयो ?
पहिले पहिले कोरोना बीमाको पैसामा ढिलाई किन भयो ? भन्दा मैले यसको वास्तविकता र प्राविधिक पक्ष जे हो त्यही भन्ने गर्थें। अहिलेको ढिलाई त सरकारले गरेको हो । अब सबैले सरकारलाई सोध्नु न किन बीमाको पैसा रोकेको ? भनेर । सरकारले पैसा दियो भने म २४ घण्टा (एक दिन)मा नै सबै दाबी भुक्तानी सल्टाईदिन्छु । सारा स्टाफलाई राखेर म काम गराउन तयार छु । रातभरी हाम्रा कर्मचारी काम गर्न तयार हुनुहुन्छ । सरकारले पैसा दिएपछि हामीले चेक बनाउने मात्र काम बाँकी हुन्छ । त्यसको लागि सगरमाथा इन्स्योरेन्सको १० जना स्टाफ नै काफी हुन्छन् । त्यो पनि सरकारबाट पैसा आयो भने छुट्टि कै दिनमा पनि कर्मचारी बोलाएर बीमितको पैसा दिन तयार छौं । यसमा हामीलाई कुनै समस्या छैन् ।

अब कोरोना बीमाको पैसा हामीले पाउँदैनौ भन्ने आम बीमितलाई परेको छ । के यो सत्य हो त ?
हामीले पनि विश्वास गर्ने सरकारलाई नै हो । सरकारले नै पैसा दिएन भने सबै बीमा कम्पनीलाई ठूलो समस्या पर्छ । कम्पनीले दिने अवस्था छैन् । बीमा भनेको विश्वासमा चल्ने व्यवसाय हो । पैसा दिन्छु भनेर सरकारले दिएन भने हामीले घरबाट पैसा ल्याएर त दिन सक्दैनौ । बीमा पुलमार्फत काम भएकाले यसले त सबै निर्जीवन बीमा कम्पनीलाई असर पार्छ ।

बीमितले पाउने अरु दाबी भुक्तानीमा समस्या छ कि छैन ?
अहिले प्रतिस्पर्धी बजार छ । जुन कम्पनीमा विश्वास छ ग्राहक त्यहाँ जाने हो । जब दाबी पर्छ, तब कुन कम्पनी कस्तो भन्ने उहाँहरूले चिन्ने मौका पाउनुहुन्छ । हामीले दाबी भुक्तानी सकेसम्म छिटो दिने गरेका छौं ।

एनएफआरएसकै कारण साधारण ढिलाई भयो भन्ने बीमा कम्पनीहरूको भनाई छ । कहिलेसम्म एनएफआरएसलाई दोष दिन मिल्छ ?

एनएफआरएस आफैमा प्राविधिक कुरा हो । अहिले हाम्रो दुई किसिमका व्यालेन्स सिट सञ्चालनमा छन् । बैंकमा एनएफआरएस ल्याउँदा अध्ययन गरेर ल्याइयो । तर बीमामा भने अध्ययन नगरी ल्याएकाले केही ढिलाई भएको हो ।

पुस मसान्तसम्ममा सक्नुपर्ने साधारण सभामाको म्याद बैशाखसम्म थपियो नि । यसलाई कसरी लिनुभएको छ ?
अब १५ महिना १२ महिनासम्म पनि साधारण सभा नगर्ने कम्पनीलाई टाइम फ्रेम मानौं भनेको हुनसक्छ ।

एक्चुरी खोज्न समस्या छ भन्ने सुनिन्छ । साधारण सभा गर्न ढिलाईको कारण एक्चुरी नै नभेटिएर त होइन होला ? 
नेपालमा एक्चुरी नभएकाले केही ढिलाई भएको हो । तर त्यति धेरै गाह्रो पनि छैन् । लकडाउनकै कारण केही ढिलाई भएको हुनसक्छ । ट्याक्स र डिभिडेन्टका कुरा हेर्दा एक्चुरीलाई समय लाग्ने गर्छ । यसमा त बीमा कम्पनीले लिने कुरा थोरै र दिने कुरा चाहीं धेरै छ । त्यसैले पनि केही समस्या पारेको हुनसक्छ ।

निर्जीवन बीमाको छवि स्वास्थ्य बीमा र सवारी बीमाको दाबी भुक्तानीमा हुने ढिलाईले धमिल्याएको भन्ने बीमितको गुनासो छ । वास्तविकता के हो ?
पहिलो कुरा यातायात र स्वास्थ्य बीमाको दावी भुक्तानीमा सगरमाथा इन्स्योरेन्समा केही पनि समस्या छैन् । तर बीमाका आवश्यक कागज पत्र पूरा नभई हामीले पनि पैसा दिँदैनौं । तर कागज पत्र मिल्दा सगरमाथा इन्स्योरेन्सले पैसा दिन्छ भन्ने बीमितलाई विश्वास छ । उहाँहरूलाई हामीले भीआईपी अन द स्पट सेवा दिइरहेका छौं । तर सर्भेयरले मागेका काजगपत्र चाहीं निर्जीवन बीमामा एकदमै आवश्यक हुन्छ । सर्भेयरको सत्यतामा ब्ल्याक एण्ड ह्वाइट के छ ? अलिअलि त्यसले पनि प्रभाव पार्छ । बुझ्ने मानिसले आफूले बुझ्ने र बुझाउने काम गरिरहनु भएको छ । 

बीमा कम्पनीको संख्या धेरै भएको हो र ? 
बीमा कम्पनीको संख्या जति भए पनि एक अर्बमा खेलेर एक अर्बकै सेवा दिने कम्पनी त बीमा मात्रै त हो नि । अस्वस्थ प्रतिस्पर्धा हुनु भएन् । नत्र कम्पनी नै खुल्नु हुन्न भन्ने पनि त छैन् नी । 

बीमा समितिले पूँजी बढाउ भन्यो भने तपाईंहरू तयार हुनुहुन्छ ? 
पूँजी बढाउने कुरा बीमा कम्पनीको संख्या घटाउनको लागि गरिने योजना हो जस्तो लाग्छ । पूँजी बढाउने नबढाउने कुरा त सिधै रिर्टनसँग जोडिन्छ । बीमा कम्पनीले खर्च धेरै गर्नुपर्ने र बजारबाट व्यवसाय चाहीं घट्ने अवस्था आयो भने बीमा कम्पनी पनि व्याक हुन्छन् । यो पनि सेयर बजार जस्तै त हो नि । जहाँ डिमाण्ड हुन्छ त्यहाँ सप्लाई हुन्छ । नाफा नै भएन, कम्पनीलाई साह्रै गाह्रो पर्छ भने पूँजी बढाउन मात्रै लाग्ने कुरा पनि हुँदैन होला ।

सगरमाथाले कसैसँग गाभ्ने गाभिने योजनामा बनाई सकेको त छैन ? 
पहिले पनि हामीले पूँजी बढाएका हौं । कुनै समयमा १० करोडबाट २५ करोड रूपियाँ चुक्तापूँजी पुर्याउँदा हामीले एक सय २९ प्रतिशत डेभिडेन्ट दिएका थियौं ।  २५ करोडबाट हामी अहिले एक अर्बमा पुगिसक्यौं । पूँजी बढाउने गाभ्ने गाभिने कुरामा त डिभिडेन्ट पनि जोडिन्छ । नाफाको अवस्था पनि प्रत्यक्ष जोडिन्छ । अब अहिलेको बजारमा नाफा बढाउन सकेन भने के हुन्छ ? डेभिडेन्ट दिन सकेन भने के हुन्छ ? लगानीकर्ताहरू पलायन हुन्छन् । बीमा क्षेत्रको चमक घट्छ ।

सेयर लगानीकर्तालाई के भन्न चाहानुहुन्छ ?
सेयर लगानीकर्ताले बजारको माहौल र कम्पनीको अवस्था हेरेर लगानी गर्नुहुन्छ । विगतमा सगरमाथामा प्रवेश गरेका लगानीकर्ताह अहिलेसम्म खुशी नै हुनुहुन्छ । उहाँहरूले सगरमाथालाई माया गर्दै आउनु भएको छ र सगरमाथाले उहाँहरूको मायाको जवाफ प्रतिफलबाट दिइरहेको छ । 

बीमाशुल्क घटबढ हुने अवस्था केही छ ?
तत्कालका लागि बीमाशुल्क घटिहाल्ने अवस्था छैन् । तर कतिपय बल्क बिजनेशहरू छन् त्यहाँ ग्राहकलाई बीमाशुल्कमा पनि राहत मिल्छ । 

कम्पनीका अन्य नयाँ तयारी केही छन् ?
अहिले महामारीको समय छ । हामीले घरबाट नै बीमा गर्ने ग्राहकलाई दिने छुटलाई प्राथमिकतामा राख्छौं । अहिले हामीले केही समय अघि सञ्चालनमा ल्याएको बीमा योजना ग्राहक माझ पुर्याउछौं । 

अन्तिममा आम नागरिकको मनमा खड्किएको विषय दोहोर्याउन चाहें । कोरोना बीमाको नौ अर्ब रूपियाँ सरकारले दिन ढिलाई गरिरह्यो भने के गर्नु हुन्छ ?
हामीलाई सरकारको पूर्ण विश्वास छ । कोरोना बीमाका लागि भएको सम्झौता सरकारले अक्षरस पालन गर्नेछ ।

सरकारले अझै ढिलाई गर्यो भने के हुन्छ ? कोरोना बीमाले जनतामा आक्रोश र निराशा पनि त पैदा परेको छ नि ?
अब देशको अभिभावक सरकारले नै गडबडी, ढिलाई नगर्ला । नत्र हामीले पशुपतिनाथको पुकार गर्ने हो । सरकारले घर बीमा पनि अनिवार्य बीमाको मोडलको अघि बढाएमा मेलम्चीको जस्तो बाढी जाँदा सरकार जनता दुवैलाई सहज हुन्छ । बीमाले जोखिम व्यर्होछ । 

जलविद्युत बीमामा आकर्षण घटेको सुनिन्छ । यस्तो किन भयो ?
पुनर्बीमा कम्पनीलाई धेरै नै नोक्सान भएर पनि उहाँहरू केही पछि हट्नु भएको होला ।

तपाईंका आफ्ना पनि त केही समस्या होलान नि ?
हामीलाई अहिले कोरोना बीमाले नै समस्या बनाएको छ । अहिले भुक्तानी दिएको ठाउँमा पनि आफन्तलाई दिने अरूलाई नदिने भन्ने जस्ता आरोप लागेको छ । वास्तविकता त्यस्तो होइन । 

ग्राहकलाई केही भन्नुपर्ने छ ? 
म सबै ग्राहकहरूलाई के अनुरोध गर्न चाहुन्छु भने तपाईंहरूले कोरोना बीमाको पैसा अवश्य पाउनु हुन्छ । अहिलेसम्म धैर्य गरेर बस्नु भयो । अब केही दिन धैर्य गर्नु होला । बीमा कम्पनीले सकेसम्म चाँडै भुक्तानी दिलाउन प्रयास गरिरहेको छ ।

Advertisement

Advertisement