आफैं बजेट बनाउने अख्तियारी पाएका पर्यटनका निकाय नै बजेट बनाउन उदासिन

Advertisement

काठमाडौं । आफैं बजेट बनाउन अख्तियार पाएका पर्यटन क्षेत्रका निकायको बजेट आउन ढिलो हुने गरेको छ । हरेक वर्ष कुनै न कुनै बहानामा आफैं बजेट बनाउने र आफैंले कार्यान्वयन गर्ने निकायकै बजेट आउन ढिलो हुने गरेको हो । 

बजेट जुन आर्थिक बर्षलाई जारी गरिने हो सोही वर्ष खर्च गर्नुपर्ने हुन्छ । एक आवको बजेट अर्को आवमा खर्चिन मिल्दैन् । नियमित कार्यसञ्चालनदेखि आफूले बनाएका योजना कार्यान्वयनका लागि पनि समयमै बजेट ल्याउनुपर्ने हुन्छ । आर्थिक वर्ष सुरु नहुँदै वा ढिलोमा आव सुरु भएको पहिलो महिनामै  बजेट ल्याएर पास गर्नुपर्ने पर्यटन क्षेत्रका सरकारी निकायले बजेट कार्यान्वयन गर्नुपर्ने बेलामा समेत बजेट ल्याउन सकेका छैनन् । 

Advertisement

नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम बजेट नल्याएर अहिलेसम्म सुस्ताएरै बसेका छन् । बजेट बनाउने र आफैंले खर्च गर्ने निकायको कार्यशैली छिटो र प्रभावकारी हुन सकेको छैन् । तीन वटै निकायले बजेट बनाएपछि पनि खर्च गर्न माथिल्लो निकायको स्वीकृति नगरी खर्च गर्न पाउँदैन् । 

बजेट करिब तयार पारिसकेको नेपाल पर्यटन बोर्ड हरेक वर्ष बजेट ल्याउन ढिलो हुने गरेको छ । पछिल्ला केही वर्षमा भने छिटो गर्ने प्रयासमा लागृेको देखिन्छ । चालू आवमा पनि बोर्डले बजेटको तयारी गरिरहेको छ । तर अझै आउने टुंगो छैन् ।

नागरिक उड्डयन प्राधिकरणले पनि बजेट निर्माणको उपसमिति गठन गरेर काम गरिरहेको भए पनि सार्वजनिक गर्ने टुंगोमा भने पुग्न सकेको छैन् । बजेट बनाउनुपर्ने समयमा कर्मचारी आन्दोलित भएका कारण नेपाल वायुसेवा निगमले पनि बजेट बनाउनै नपाएको गुनासो गरेर बसिरहेको छ ।

बजेट ल्याउन मन्त्री चाहिन्छः नागरिक उड्डयन प्राधिकरण
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेट ल्याउन मन्त्री चाहिने बताएको छ । प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पर्यटन मन्त्री हुने व्यवस्था छ । हाल पर्यटन मन्त्री नियुक्त हुन सकेको छैन् । बजेट तयार भए पनि मन्त्री नियुक्त नभएकाले ल्याउन नसकिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

उनले कर्पोरेट नेपालसँग भने ‘करिब ४० अर्ब रुपियाँको बजेट ल्याउन प्राधिकरणले आवश्यक तयारी गरिरहेको छ । मन्त्री नभएर रोकिएको मात्रै हो ।’ पर्यटन मन्त्री नहुँदा उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै हुन्छ । प्रधानमन्त्रीसँग समय व्यवस्थापन गर्न गाह्रो हुने र बोर्ड बैठक नै प्रधानमन्त्रीसँग बस्नुपर्ने भएकोले अत्यावश्यक पर्दा त्यो प्रक्रिया पनि पूरा गराउन पनि सकिने उनले बताए । 

तर, अहिले बजेट ल्याउन हतार भइनसकेको क्षेत्रीको तर्क छ । उनले बजेट तयारी गरेर राख्ने र पर्यटन मन्त्री आएपछि पहिलो बैठकबाटै पास गर्ने जानकारी क्षेत्रीले दिए । क्षेत्रीका अनुसार प्राधिकरणले हाल बजेट बनाउन भन्सार विभागका महानिर्देशक यमलाल भूसालको संयोजकत्वमा उपसमिति गठन भएको छ । भूसाल प्राधिकरण सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा रहेका छन् ।

प्राधिकरणका अनुसार प्राधिकरणले विगतका वर्षमा सुरु गरेको कामको निरन्तरता दिने, हवाई पूर्वाधार बनाउनेसहित विगतका वर्षमा जस्तै नियमित कामकाजको बजेट ल्याउने भएको छ । यसको लागि प्राधिरकरण अहिले आवश्यक तयारीमा जुटेको छ ।

५३ करोडको बजेट बनाउँदै नेपाल पर्यटन बोर्ड 
पर्यटन बोर्डले बजेटको तयारी गरिरहेको करिब अन्तिम तयारीमा बजेट निर्माणको काम भइरहेको जानकारी दिएको छ । बोर्डले करिब ५३ करोड रुपियाँको बजेट तयार पार्दै छ । यो बजेटमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड बिक्रीवापत संकलन भएर बोर्डमा संचित रहेको १६ करोड रुपियाँ छ । थप रकम दुईलाख ५० हजार पर्यटक आउने अनुमानबा त्यहीँ पर्यटकले तिर्ने पर्यटन सेवा शुल्कका आधारमा बोर्डले बजेट बनाउने काम भइरहेको बोर्डले जनकारी दिएको छ ।

पर्यटन बोर्डको अन्य स्रोत नभएकोले नेपाल आएका पर्यटक फर्कदा हरेक विदेशीले तिर्नुपर्ने एक हजार रुपियाँको पर्यटन सेवा शुल्क नै बोर्डको आम्दानी हो । यही पैसाबाट बोर्डले चालू आवको बजेट निर्माण गरिरहेको छ । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल बजेट निर्माण समितिको संयोजक छन् । उनैको संयोजकत्वमा तयार हुँदै गइरहेको बजेटलाई अन्तिम रूप दिने र पर्यटन सचिव अध्यक्ष रहेको सञ्चालक समितिबाट स्वीकृत गराएर एक सातामा ल्याउन सकिने गरी तयारी भइरहेको पनि बोर्डका उपाध्यक्ष रिजाल बताउँछन् ।

बोर्डले सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको रूपमा म्युजियम बनाउने भएको गरी बजेट निकासा गर्दै छ । एक गाउँ एक उत्पादन, एक जिल्ला एक पर्यटन गन्तव्य र हरेक प्रदेशमा पर्यटन मार्टको अवधारणासहित बजेट तयार हुँदैछ । पर्यटनकको लागि प्राकृतिक सौन्दर्य मात्रै आकर्षणको केन्द्र होइन अरु पनि हुन सक्छन भन्ने हिसावले नयाँ पर्यटकीय गन्तव्य बनाउने गरी काम भइरहेको रिजालले बताए ।

नेपालभित्र पर्यटकलाई नेपाली उत्पादनबाटै सेवा दिनेलाई प्रोत्साहन गर्ने र भारतीय पर्यटक नेपाल भित्रने विषयमा अध्यन अनुसन्धान गर्नेसहितको विषय चालू आवको बजेटको प्राथमिकतामा राखेर बजेट तयार हुँदै गरेको पनि रिजालले बताए । उनका अनुसार बोर्डको बजेट केही दिनभित्रै टुंगो लाग्ने र त्यसपछि बोर्ड बैठकले स्वीकृत गरेपछि सार्वजनिक गरेर कार्यान्वयनमा जाने पनि बोर्डका उपाध्यक्ष रिजालले बताए ।

कर्मचारीको आन्दोलनले वायुसेवा निगम समस्यामा
कर्मचारीको एक महिना भन्दा लामो समयदेखिको आन्दोलनले वायुसेवा निगम समस्यामा परको छ । निगमको दैनिक गतिविधि खुम्चिएको छ भने कर्मचारीको तालाबन्दीले महाप्रवन्धक कार्यालय प्रवेश गर्न पाएका छैनन् । कर्मचारीले आन्दोलन गरेको कानून शाखा कब्जा गरेर निगमलाई मुद्दामा गए पनि हराउने गरी प्रमाण नष्ट गर्न कर्मचारी लागेको कारण पछिल्लो थप समस्यातर्फ थकेलिएको निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले बताए । उनले भने ‘बजेटको काम ठप्प छ भने यो बाहेक अन्य धेरैवटा समस्या थपिँदै गएको छ । कर्मचारीको कारण निगम उठ्नै नसक्ने गरी थला पर्ला भन्ने चिन्ता बढेको देखिन थालेको पनि महाप्रवन्धक पौडेल बताउँछन् ।

कर्मचारी आन्दोलनले निगमको बोर्ड बैठक एक महिना भन्दा लामो समयदेखि बस्न सकेको छैन भने बोर्डले बजेटसहितको कुनै पनि दीर्घकालिन योजना तय गर्न नपाएको पौडेलले कर्पोरेट नेपालसँग बताए । उनले भने ‘निगमका कर्मचारी साह्रो धेरे गैरजिम्मेवार भए । अब यही आन्दोलनका कारण निगमको भएका शाख पनि सकिने चिन्ता बढेको छ ।’

Advertisement

Advertisement