सूर्ती, चुरोटबाट उठेको सबै कर घातक रोगको उपचारमा खर्च हुनुपर्छ, डा. सुदीप श्रेष्ठ

Advertisement

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल झण्डै एक दशक अघि डेढ अर्ब लगानीमा निर्माण सुरु गरिएको सुविधासम्पन्न क्यान्सर अस्पताल हो । निजी लगानीमा स्थापना भएको नेपालकै ठूलो क्यान्सर अस्पतालले सुरुवातका दिनमा दक्ष जनशक्तिको अभाव भोग्नु परे पनि अहिले यो समस्या कम हुँदै गएको छ । मुलुकमै क्यान्सर बुझ्ने जनशक्तिको अभावका कारण यो समस्या भोग्नुपरेको अस्पतालको भनाई छ । अहिले नेपाल क्यान्सर हस्पिटलमा छ सयभन्दा धेरै कर्मचारी छन् भने डक्टरको संख्या ८० को हाराहारीमा छ । अस्पतालमा आकस्मिक कक्षबाहेक सय जना बिरामीको लागि बेडको क्षमता छ । अस्पतालले उपचारसँगै क्यान्सर रोगबारे जनचेतना जगाउने काम पनि गर्दै आएको छ । हाल सञ्चालनमा रहेका विश्वविद्यालयसँग सहकार्य गरेर भए पनि क्यान्सर रोगको बारेमा अस्पतालले जनचेतना फैलाउने काम गर्दै आएको छ । 

नेपाल क्यान्सर अस्पतालका संस्थापक कार्यकारी अध्यक्ष तथा सिनियर कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट डा. सुदीप श्रेष्ठले कर्पोरेट नेपालसँग भने, ‘निजी क्षेत्रले ठूलो लगानीमा क्यान्सर अस्पताल खोल्ने तयारी गर्दा ठूला व्यवसायिक घरानाले पत्याएका थिएनन् । अहिले धेरै क्यान्सरका बिरामी विदेश जानु परेको छैन् । यसले धेरै सहज भएको छ ।’अस्पतालका लगानीकर्ताले धेरै मुनाफाको आशा नलिइकनै सर्वसुलभ सेवालाई प्राथमिकता दिइरहेको उनी बताउँछन् । तर सरकारले निजी अस्पताललाई हेर्ने दृष्टिकोणमा सुधार ल्याएमा त्यसको प्रत्यक्ष लाभ बिरामीले पाउने श्रेष्ठको अनुभव छ । सेवा सुविधा सरकारी अस्पतालमा भन्दा निजीमा राम्रो हुने तर सरकारले सहजीकरण नगर्ने बिडम्बनापूर्ण अवस्था रहेको भन्दै उनले नेपालका सबै क्षेत्रका नागरिकलाई लक्षित गरेर काम गर्ने योजनाअनुसार गृहकार्यमा रहेको बताए । 

Advertisement

विश्व चिकित्सा सेवामा नयाँ प्रविधि र नयाँ उपचार विधि आउने क्रम तीब्र छ । त्यसलाई अपनाउँदै अघि बढ्ने काममा आफूहरू पनि रहेको भन्दै कार्यकारी अध्यक्ष डा. श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेको रोबर्टिक सर्जरी पनि भित्राउने योजना रहेको सुनाए । त्यस्तै, बच्चालाई हुने क्यान्सरसम्वन्धी कार्यक्रम ल्याउने प्रयास पनि भइरहेको उनले बताए । यिनी विषयमा डा. श्रेष्ठसँग गरिएको कुराकानीको सारः 

क्यान्सर भन्ने बित्तिकै आम मानिसमा एक किसिमको त्रास पैदा हुनेगर्छ । के क्यान्सर लागेमा पूर्णरुपमा निकै नहुने हुन्छ र ? 
एकदमै राम्रो प्रश्न गर्नु भयो । क्यान्सर निको हुने रोग हो । यो पनि अन्य रोग जस्तै हो । क्यान्सर लागेका बिरामी पनि सहज तरिकाले बाच्न सक्छन् । तर मानिसमा एक किसिमको भ्रम छ । त्यो भनेको क्यान्सरलाई सिधै मृत्युसँग नै दाँजेर हेर्ने । त्यस्तो किसिमको डर समाजमा व्याप्त छ । क्यान्सरका विभिन्न चरण छन् । सुरूको अवस्थामा नै क्यान्सर लागेको थाहा पाउन सके यसलाई पूर्ण रूपमा निको पार्न सक्छौं । त्यस्तै, तेस्रो चरणमा पुगिसकेका क्यान्सरले पनि सही समयमा नै उपचार पायो भने निको हुन्छ । चौथो चरणमा क्यान्सर पुगेको छ भने पनि बिरामीलाई उपचार गराएर लामो समयसम्म राख्न सकिन्छ । 

क्यान्सर उपचार त महंगोगो रोग, धनीहरूले मात्रै बाच्नसक्ने रोग भनेर पनि बुझ्ने गरिन्छ नि ?
एक किसिमले हेर्दा क्यान्सरको उपचार महङ्गो हुने भएकाले त्यस्तो भनिएको हुनसक्छ । वास्तविकता पनि त्यस्तै त्यस्तै छ । विदेशमा क्यान्सरको उपचार होस वा अरू कुनै रोगको उपचारका लागि बिरामीले कुनै न कुनै हिसाबमा सहुलियत पाउने गरेका छन् । बीमाबाट होस वा सरकारकैतर्फबाट, विदेशमा रोगलाग्दा बिरामीले सहयोग पाउँछन् । आफ्नै खल्तीको पैसा खर्च गरेर उपचार गराउँदा यसको उपचार महङ्गो हुन्छ । क्यान्सर उपचारका लागि नेपालमा पनि कुनै न कुनै उपायबाट बिरामीलाई आर्थिक सहयोग हुने वातावरण बनाउन जरूरी छ । सकेसम्म बिरामीेले आफ्नै खर्चबाट उपचार गर्न नपर्ने वातावरण बनाउनु जरूरी छ ।

क्यान्सरको उपचार गर्दा नेपालमाभन्दा विदेशमा सस्तो हुने हो र ?
विदेशमा अनुदान उपलब्ध गराइएको हुन्छ । सोहीकारण उपचार सस्तो हुनसक्छ । तर सबैभन्दा सस्तो उपचार भनेको नेपालमा नै हो भन्न चाहान्छु । नेपालको निजी अस्पतामा उपचार गराउँदा र भारतको निजी अस्पतालमा उपचार गराउँदा भारतमा  निकै महङ्गो पर्छ । तर नेपालमा हरेक सामान बाहिरबाट नै मगाउनुपर्ने बाध्यता छ । हामीलाई मिसिन चाहियो भने बाहिरबाट नै मगाउनुपर्ने अवस्था छ । चिकित्सक चाहियो भने बाहिरबाट नै मगाउनुपर्ने अवस्था छ । यहाँ मिसिन मात्र बाहिरबाट आउँदैन, मिसिनमा हाल्ने केमिकल समेत बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । त्यसरी बाहिरबाट नै सबै सामान महङ्गोमा ल्याउनु परे पनि हामीले दिएको सेवा सस्तो सेवामा पर्छ । भारतका केही सीमित अस्पताल नेपालकोभन्दा अलि सस्तो छन् तर त्यहाँ सरकारले अनुदान दिने भएकाले मात्रै सस्तो भएको हो । 

नेपालमा क्यान्सरको उपचार सस्तो बनाउन सम्भव छैन् ?
अहिले भइरहेको भन्दा धेरै हदसम्म सस्तो बनाउन सम्भव छ । संविधानले पनि स्वास्थ्यलाई प्राथकिमतामा नै राखेको छ । तर अब यहाँ सरकारले पनि आफ्नो तर्फबाट पहल गर्न जरूरी छ । राम्रो बीमा पोलिसि ल्याएमा पनि क्यान्सरको उपचार गर्न बिरामीलाई धेरै खर्च लाग्दैन । उदाहरणको लागि कुनै पनि क्यान्सरको उपचार गर्न सालाखाला पाँचदेखि १० लाख रूपियाँ लाग्ने गर्छ । सबैभन्दा ठूलो खर्च रक्त क्यान्सरलाई लाग्ने गर्छ ।

क्यान्सरका केही उपचारका लागि लामो समय पनि लाग्न सक्छ । तर बिरामीले १० लाख रूपियाँ जम्मा गर्न नसक्दा ज्यान नै गुमाउनुपर्ने अवस्था छ ।  नियमितरूपमा अस्पताल आउनुपर्ने ग्राहकलाई समेत समस्या छ । उहाँहरूले पैसा तिर्न नसक्दा अस्पताललाई अनुरोध गर्ने, आफन्तसँग सहयोग माग्ने र अन्तिममा केही सीप चलेन भने बिरामीलाई घर लिएर घर जाने । यो अधिकांश बिरामीले भोग्दै आउनुभएको समस्या हो । पाँच–दश लाख रूपियाँ नागरिकको लागि जोहो हुने वातावरण बनाउनु पर्यो र नेपालमै उपचार गर्ने व्यवस्था ल्याउन जरूरी छ । सबैले सहयोग गरेमा क्यान्सर भएका बिरामीको उपचारमा सहज हुन्छ । सबै रोग सबैलाई लाग्छ भन्ने छैन् । तर स्वस्थ बस्न पाउनु सबैको अधिकार हो ।

अहिले बीमा कम्पनीले घातक रोग बीमा योजना सञ्चालन गरिरहेका छन् । घातक रोग बीमा अनिवार्य हुनुपर्यो भन्ने हो वा क्यान्सरको लागि छुट्टै बीमा योजना चाहियो भन्ने यहाँको धारणा हो ?
सबै रोगको बीमा अनिवार्य गर्नुपर्छ । बीमाशुल्क सबै जनतालाई कभर हुने किसिमको हुनुपर्छ । अहिले सरकार आफैले स्वास्थ्य बीमा बोर्डमार्फत बीमा गरिरहेको छ । सूर्ती, चुरोटबाट कर उठेको छ । उक्त करको रकम घातक रोगको लागि सरकारले छुट्याउन सक्छ । क्यान्सरको जोखिम बोकेका खाद्यान्नबाट आउने करको पैसालाई सरकारले स्वास्थ्य बीमाको बीमाशुल्क बनाउँदा राम्रो हुन्छ । अहिले सरकारले दिएको शुल्कले बिरामीले पूरा उपचार गर्न पाउने अवस्था छैन् । बच्चा, महिला र सुरूका चरणका क्यान्सरका लागि सरकारले ध्यान दिन आवश्यक छ । अहिले त यति अर्ब रूपियाँ दियौ भनेर सरकारले भन्छ । तर, त्यो पैसा कहाँ गयो गयो ? देखिदैन । अब सरकारले खर्च गर्दा बिरामीले पूर्ण उपचार पाउने र निको हुने किसिमले सहयोग गर्न आवश्यक छ । नत्र सरकार सहयोग गरिरहन्छ, जनताले पूरा उपचार पाउँदैनन् ।

सरकारले सहयोग गरेमा सबै किसिमका क्यान्सरको उपचार नेपालमै सम्भव छ त ?
सरकारले सहयोग गरे बिरामी बोकेर विदेश जाने अवस्थाको अन्य हुन्छ । विदेशमा उपचार गराउन स्वदेशमा भन्दा गाह्रो हुन्छ । तर उपचारमा केही राहत होला र बिरामीलाई चाँडै निको होला भनेर नै हो जोकोही पनि विदेश जाने । तर हामी क्यान्सरको उपचारको लागि विदेश जानु पर्दैन, सबै उपचार नेपालमा नै हुन्छ भनेर नारा समेत बनाएका छौं । ९९ प्रतिशत क्यान्सरको उपचार यही नेपालमा नै हुन्छ । हामीले कुनै कुनै रोगका लागि नेपालमा मिसिन नै छैन् भने बाहिर पठाउँछौं । तर बाहिर पठाउँदा उहाँहरूलाई हामीले ट्रान्जिटमा पठाउने हो । केही विशेष अप्रेसन सकेपछि उहाँहरू फेरि यही अस्पताल आउनुहुन्छ ।

बिरामीले अरू क्यान्सर अस्पताल नगइकन नेपाल क्यान्सर अस्पताल नै किन आउने ?
हामीले क्यान्सरको उपचार गर्दा टिम वर्कमा काम गर्छौं । विगतमा क्यान्सर भएको हो कि होइन ? एउटा अस्पतालले पत्ता लगाउथ्यो र त्यसको उपचारका लागि अन्य अस्पतालमा धाउनुपर्ने बाध्यता थियो । तर अहिले अवस्था फेरिएको छ । अहिले एउटै अस्पतालले आवश्यक सुविधा दिइरहेको अवस्था छ । क्यान्सर उपचारका लागि गुणस्तर पनि निकै ठूलो कुरा हो । हामीले नमूना अस्पतालको रूपमा यो अस्पताललाई स्थापना गर्ने सोच बनाएका छौं । निजी अस्पतालको तुलनामा हामीले दिएको सेवा निकै सस्तो छ । अहिले कुनै निजी अस्पतामा बिरामीले ८० रूपियाँ तिर्छ भने त्यसबाट आएको २० रूपियाँले नै अस्पताल चलाउनुपर्ने हुन्छ । त्यसमा ५० प्रतिशत त सरकारलाई नै तिर्ने कर छ । यहाँ बिरामीले तिरेको पैसा र मेहनती डाक्टर कर्मचारीको पैसा सरकारले करबाट कटाउँछ । तर निजी क्षेत्रका अस्पतालमैत्री ऐनहरू छैनन् । यसमा सरकाले ध्यान दिएमा बिरामीले राहत पाउने थिए ।

कोरोना महामारीले कस्तो प्रभाव पार्यो तपाईंहरूलाई ?
पहिलो चरणमा त हाम्रा साथीहरुको मनोबल नै गिरेको अवस्था थियो । डेराबाट पनि कर्मचारीलाई निस्कनु भनेको अवस्था थियो । तर अहिले धेरै कुरा बदलिएको छ । सबैले कोरोना महामारीलाई बुझिसक्नु भएको छ । हाम्रा डक्टर कर्मचारी साथीहरुलाई त्यस्तो केही पनि समस्या छैन् । अहिले हाम्रो अस्पतालमा पनि कोरोना महामारीले कसैलाई त्यस्तो धेरै समस्या बनाएको छैन । 

कोरोना भएको बिरामीहरुलाई तपाईंहरुले उपचार कसरी गर्नु हुन्छ ?
सबैभन्दा पहिला हामीले बिरामीको अवस्था कतिको जटिल रहेको छ ? त्यो हेर्छौं । गम्भीर प्रकारका बिरामीलाई हामीले तुरुन्तै उपचार दिन्छौं । तर आईसोलेसन बस्न मिल्ने बिरामीलाई हामीले घरमा १० दिन बस्नु भनी बोलाउने गरेका छौं । सुरुको समयमा हामीलाई केही समस्या परेको थियो । तर अहिले त्यस्तो समस्या छैन ।

आम नागरिकमा के सन्देश छाड्न चाहानुहुन्छ ?
क्यान्सरको नाम सुन्ने बित्तिकै आत्तिहाल्नु हुँदैन् । बिरामीलाई रोगले दुःख दिए पनि मनोवल उच्च नै राख्नु पर्छ । धेरैजसो ठाउँमा हामीलाई पनि रोगले सताएको खबर मात्र बढि पढ्ने गछौं । तर वास्तवमा धेरै जना क्यान्सर बिरामीहरु राम्रोसँग निको हुनुभएको छ । उहाँहरु सहज जीवन बिताईरहनु भएको छ । आवश्यक परेको ठाउँमा बिरामीलाई हामीले सधैं गाइड गर्छौं । 

अहिले त कोरोना महामारीको डरले पनि अस्पताल आउन धेरै बिरामी डराउनु भएको हामीले पाएका छौं । तर हामीले कोरोना महामारीकै बेलामा पनि पूर्ण सावधानी अपनाएर अस्पताल सञ्चालन गरिरहेका छौं । बिरामीकै सेवाका लागि फ्रन्ट लाइनमै खटिरहेका छौं । अहिले कतिपय बिरामीले कोरोनाको डरले गर्दा अन्य रोगको उपचारमा ढिलाई गर्नुभएको अवस्था छ । कोरोना हुन्छ भन्ने भयले अन्य रोगको उपचारमा पछि नहटनुहोस् भन्ने हाम्रो सन्देश छ ।

Advertisement

Advertisement